गर्भवती सहित तीन जनाले जिते कोरोना
दैलेख : दुल्लुकी एक गर्भवती महिला सहित तीन जनाले कोरोना जितेका छन् ।
दुल्लु नगरपालिका –११ की ३३ वर्षीय गर्भवती महिलाले १० दिनमै कोरोना जितेकी हुन् । ती महिला सहित सोही ठाउँका २ वर्षीय बालक र २२ बर्षीया महिलाले समेत कोरोना जितेका छन् ।
तीनै जनालाई सोमबार डिस्चार्ज गरिएको छ । कोरोना संक्रमण पोजिटिभ देखिएका तीनै जनालाई १० दिनपछि दोस्रो पटक पीसीआर परीक्षण गर्दा नेगेटिभ देखिएको हो ।
नगरप्रमुख भण्डारीका अनुसार कोरोना पुष्टि भएको १० दिनमा उनीहरुमा संक्रमण निको भएको हो । उनीहरु भारतबाट आएका थिए । साथै दुल्लु नगरपालिका–६ को छिउडीपुसाकोटस्थित स्वास्थ्य चौकीमा नगरपालिकाले निर्माण गरेको कोरोना विशेष अस्प्तालमा राखेर उपचार गरिएको थियो ।
त्यहाँ ३० बेडको कोरोना विशेष अस्प्तालमा बनाइएको नगरप्रमुख भण्डारीले जनाए । स्वास्थ्य सेवा कार्यालय दैलेखले दिएको जानकारी अनुसार दुल्लु नगरपालिकामा ३९ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये तीन जना निको भएका हुन् । एक जनाको मृत्यु भइसकेको छ ।
दैलेखमा चारजनाको डिस्चार्ज
दुल्लुका तीन जना सहित सोमबार दैलेखका चार जनाले कोरोना जितेका छन् । दैलेख अस्पतालको आइसोलेशन वार्डमा उपचाररत डुङ्गेश्वर गाउँपालिकाकी २५ वर्षीया महिलालाई सोमबारै डिस्चार्ज गरिएको छ । उनले कोरोना संक्रमण पुष्टि भएको दुई सातामा कोरोना जितेकी हुन् ।