पश्चिम बंगालको बाटो
वर्तमान सरकार वामपन्थीको, त्यो पनि झन्डै दुईतिहाइको। व्यक्तिको होइन पार्टीको, ठूलो संघर्षपछिको उच्चतम उपलब्धि। बहुलवादी प्रजातन्त्रमा आस्था राख्ने तमाम नेपालीको मतद्वारा प्राप्त उपलब्धि हो यो। संसद्को माध्यमद्वारा संवैधानिक सर्वोच्चता कायम गर्न प्राप्त जनादेश हो यो। व्यक्तिको होइन विधिको शासन हुनुपर्ने मान्यताका साथ संविधानको संरक्षण संवर्धन एवं कार्यान्वयन गर्ने प्रतिबद्धताका साथ गठन भएको सरकार हो यो। संविधानको मर्मअनुरूप लोकतान्त्रिक समाजवादको गन्तव्य बोकेको सरकार। पार्टीको नीतिनियम र कार्यक्रमसहित जनतामा जाँदा करिब ४४ लाख मतदाताले भरोसा गरेको वामपन्थी पार्टी।
सर्वहाराको पार्टी। मजदुर, गरिब, किसान र हुँदा खाने वर्गको उत्थानको खातिर लड्ने पार्टी। उल्लिखित वर्गहरूले ठूलो आशा एवं भरोसा गरेको पार्टी वा त्यस पार्टीले अंगीकार गरेको सैद्धान्तिक अवधारणा। हुनेखाने होइन हुँदा खाने जनताले अपनत्व महसुस गरेको पार्टी। पार्टीका नीति, सिद्धान्त एवं कार्यक्रमका साथ जनतामाझ उपस्थितिका कारण जनताले अपनत्व महसुस गरेको पार्टी।
वामपन्थीले मूलतः अन्तर्राष्ट्रिय सैद्धान्तिक अवधारणा बोकेका हुन्छन्। नेपालको सन्दर्भमा समेत यही लागू हुन्छ। तसर्थ यसका सैद्धान्त्तिाक पक्षको अध्ययन गर्दा यसको परिकल्पनाकार वा जन्मदाताहरूले कुन उद्देश्यका लागि कसरी वामपन्थी सिद्धान्त विश्वको हरेक कुनामा फैलियो। जसका प्रमुख कारण उन्नाईसौं शताब्दीको पूर्वार्द्ध जसरी पुँजीवादको द्रूततर गतिमा विकास हुँदै गयो त्यसकै एउटा पक्ष औद्योगिक मजदुर वर्गको जन्म भयो। पुँजीवाद वा सबैखाले प्रतिक्रियावादको विरुद्धमा सर्वहारा वर्ग र उत्पीडित जनताको युगान्तकारी तथा ऐतिहासिक कदमलाई विश्व कम्युनिस्ट आन्दोलन भनियो। अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको पहिलो सैद्धान्तिक आधार सन् १८४८ मा कार्ल मार्क्स र एंगेल्सले तयार पारेका कम्युनिस्ट घोषणापत्र नै हो।
कम्युनिस्ट विचारधारका पथप्रर्दशक वा विचारक कार्ल माक्र्र्स हुन्। मार्क्सले तीन क्षेत्रलाई समेट्दै सिद्धान्त प्रतिपादन गरेका हुन् भने त्यसको प्रथमपटक व्याख्या र विश्लेषण लेलिनले गरे। ती हुन्— दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद। कम्युनिस्टहरूको दर्शन द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद हो। भौतिकवादको जग र अतिरिक्त मूल्यका आधारमा नै राजनीतिक अर्थशास्त्र बन्दछ। यस प्रकारको दर्शन र आर्थिक पक्षको समान वितरणको आधार एवं समानता नै आधुनिक समाजवाद हो। मार्क्सको प्रमख सिद्धान्त नै समाज एवं राष्ट्रलाई बदल्नु हो भने बदलेका हरेक क्षेत्रलाई संरक्षण गर्नु हो।
त्यसैगरी विश्व कम्युनिस्ट आन्दोलनलाई हेर्दा कम्युनिस्ट लिग सन् १८३६—१८५२ लाई एंगेल्सले विश्वलाई इतिहासकै पहिलो मजदुर आन्दोलन भने। सन् १८३६ मा फ्रान्समा आप्रवासी लिग गठन गरेको र त्यसलाई सन् १८४३ मा कम्युनिस्ट लिग भनेर नामाकरण गरे। सन् १८४७ मा जेनेभामा कम्युनिस्ट लिगको दोस्रो महाधिवेशनमा मार्क्स र एंगेल्सले कम्युनिस्ट घोषणापत्र तयार पारे। एक वर्ष लगाएर तयार पारिएको उक्त घोषणापत्र सन् १८४८ फेब्रुअरी १२ का दिन जारी भयो। त्यस घोषणापत्रमा मार्क्स र एंगेल्स— ठूला बौद्धिक, दार्शनिक, सैद्धान्तिक र राजनीतिक रूपमा तयार पारिएको उक्त घोषणापत्र सर्वहारा वर्गको मुक्ति आन्दोलनका खातिर सिद्धान्त आस्थाका रूपमा मार्क्सवादलाई प्राप्त भयो। त्यसैलाई लेलिनले यो एक दार्शनिक भौतिकवाद हो, जहाँ मानव कल्याणका खातिर अझ विशेष गरेर मजदुर वर्गलाई ज्ञान शक्तिको औजार प्रदान गर्दछ। मार्क्सले यसलाई मार्क्सवादी दर्शन, मार्क्सवादी अर्थशास्त्र, मार्क्सवादी समाजवाद अर्थात् वर्ग संघर्षको सिद्धान्त हो भने तर जगचाहिँ मार्क्सवादी दर्शन नै हो। सर्वहाराले दर्शनमा भौतिक इतिहास भेट्छ भने त्यसरी नै बौद्धिक इतिहास पनि भेट्टाउँछ। माओले यसलाई दर्शन, अर्थशास्त्र र मार्क्सवादी समाजवाद भनेका छन्। वर्ग संघर्षको सिद्धान्त र जगचाहिँ मार्क्सवादी दर्शन नै हो। द्वन्द्वात्मक भौतिकवाद अँगाल्दा धेरै विषयबाट पार पाइन्छ, समस्या समाधान हुनेछन्। जसरी दर्शनले सर्वहारामा भौतिक हतियार भेट्टाउँछ भने त्यसरी नै सर्वहाराले दर्शनमा बौद्धिक इतिहास भेट्छ।
सन् १८६४ मा कार्ल मार्क्सको नेतृत्वमा प्रथम अन्तर्राष्ट्रिय कम्युनिस्ट संगठन गठन भयो सन् १८७२ मा उक्त संगठन विघटन भयो। सन् १८८३ मार्च १४ मा मार्क्सको निधनपश्चात् सन् १८८९ मा फ्रेडरिक एंगेल्सको नेतृत्वमा दोस्रो अन्तर्राष्ट्रिय संगठन गठन भयो। सन् १८९५ मा एंगेल्सको निधन भएपश्चात् सन् १८९६ मा एडवर्न वर्नास्टिन (१८५०—१९३२) ले दोस्रो अन्तर्राष्ट्रिय संगठनभित्र मार्क्सवादविरुद्ध संशोधन प्रस्ताव पेस गरे। यसरी वर्नास्टिनले कम्युनिस्ट पार्टीमा संशोधनवाद वा विरोधको वीजारोपण गरे।
प्लेखानोभ रूसका पहिलो मार्क्सवादका प्रचारक थिए। उनले नै सन् १८८३ मा रूसमा मजदुर मुक्तिदल गठन गरेका थिए भने यो नै रूसको पहिलो कम्युनिस्ट पार्टी थियो। यसलाई नै लेलिनले नयाँ ढंगबाट विकास गरे। सन् १९०३ मा रूसी कम्युनिस्ट पार्टीभित्र ठूलो संघर्ष भयो ‘बोल्सेभिक र मेन्सेभिक’ बोल्सेभिकको नेतृत्व लेलिनले गरेका थिए। लेलिनले सन् १९१७ मा सर्वहाराको अधिनायकत्वलाई व्यवहारमा लागू गरे। रूसी अक्टुबर समाजवादी क्रान्तिले विश्वभरका कम्युनिस्टहरूलाई ठूलो ऊर्जा प्राप्त भयो। त्यसपश्चात् एसिया, युरोप, ल्याटिन अमेरिकालगायत देशहरूमा मार्क्सवाद र लेनिनवादलाई पथप्रर्दशकका रूपमा लिइयो भने उत्तर कोरिया, भियतनाममा १९४५ को आन्दोलन सफल भएपश्चात् समाजवाद लागू गरियो र सन् १९४९ मा माओत्से तुङको नेतृत्वमा चीनमा जनवादी क्रान्ति सम्पन्न भयो।
नेपालको सन्दर्भमा २००६ सालमा गठित कम्युनिस्ट पार्टी राणा, राजा, निर्दलीय पञ्चायतविरुद्ध संघष गर्दै गणतन्त्र स्थापनाको वाहक बन्यो नेकपा माओवादी। त्यही आडमा बनेको हालको वामपन्थी सरकार। वर्तमानलाई हेर्ने हो भने जनताले विश्वासका साथ मन र मत दुवै दिएका पार्टी। विभिन्न घटनाक्रम, निरन्तर विवादास्पद निर्णय गरेका कारण जनताले वर्तमानमा नै मन बदलेको छ। यही क्रम जारी रहे दुई वर्षपछि मत बदले भने वामपन्थी इतिहासमा भारतको पश्चिम बंगालको हालतमा नपुग्ला भन्न सकिँदैन। तसर्थ जनताले कुनै व्यक्तिलाई मत दिएको होइन पार्टीलाई हो। पार्टी भनेको व्यक्ति होइन संस्था हो, संगठन हो। सरकारले पार्टी हाँक्ने होइन, पार्र्टीले सरकार हाँक्ने हो। पार्टी जस्तोसुकै नेतृत्वमा होस् तर सरकार जनताले सक्षम अनुहार खोज्छन्। वर्तमान प्रधानमन्त्री केपी ओली सिंगो पार्टीको नेता हुनुपर्छ ताकि आफ्नो स्र्वाथका लागि प्रधानमन्त्रीलाई कसैले प्रयोग गर्न नसकोस्। उनीहरूले आफ्नो स्वार्थ छाडी पार्टी स्वार्थ अँगाल्दा पुनः जनताले भरोसालाई विश्वासमा परिणत गर्नेछन् अन्यथा भविष्य अन्धकार हुनेमा दुईमत छैन।