अति भो ! भन्दै बालुवाटार पुगेका युवामाथि लाठी वर्षा (फोटो/भिडिओ)
काठमाडौं : संकटमा भ्रष्टाचार रोक्नुपर्ने, लकडाउन खुकुलो पार्नुपर्ने, एमसीसी पारित गर्नु नहुने माग राख्र्दै सर्वसाधारण, सामाजिक अभियन्ता र साना तथा मझौला व्यवसायीले प्रदर्शन गरेका छन् ।
लकडाउन गरेर सरकारले विकल्प नदिएको भन्दै मंगलबार उनीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरेका हुन् । कोरोना भाइरस (कोभिड–१९)को महामारीको समयमा पनि भ्रष्टाचार भइरहेको भन्दै उनीहरुले नाराबाजी गरेपछि प्रहरीले बल प्रयोग गरेको छ ।
लामो समयसम्म सरकारले लकडाउन कडा गर्दै कर तिर्न बाध्य पारेकोमा व्यवसायी र सामाजिक अभियन्ता आन्दोलित बनेका हुन् । सरकारले पछिल्लो पटक यही जेठ ३२ गतेसम्म लकडाउन लम्ब्याए पनि व्यवसायीले विस्तारै पसल खोल्न थालेका छन् ।
विभिन्न क्षेत्रबाट बालुवाटारमा मंगलबार दिउँसो भेला भएका प्रदर्शनकारीले सामाजिक दूरी कायम गर्दै शान्तिपूर्ण प्रदर्शन निकाल्ने घोषणा गरे पनि प्रहरीले रोकेपछि धरपकड भएको हो । यस क्रममा प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न लाठीचार्ज गर्नुका साथै पानीको फोहोरा वर्षाएको छ ।