बैतडीका संक्रमित होम आइसोलेसनमा, स्थानीय त्रासमा
बैतडी : बैतडीका ४ जना संक्रमितलाई सेती प्रादेशिक अस्पतालले कोरोना निको नहुँदै घर पठाएपछि उनीहरुलाई होम आइसोलेसनमा राखिएको छ । शिवनाथ गाउँपालिकाका १ का २० वर्षीय र २७ वर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्बर २ का २० र २२ वर्षीय पुरुषलाई होम आइसोलेसनमा राखिएको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए ।
उनले भने, ‘सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज गरिएका चारै जनालाई हामीले होम आइसोलेसनमा बस्न भनेर पठाएका छौं । अहिले उनीहरुमा कुनै लक्षण पनि नभएकाले अस्पतालले डिस्चार्ज गरेको बताएको छ ।’ जेठ २३ गते अस्पतालले निको नहुँदै घर पठाएका उनीहरु चारै जना जेठ २५ गतेमात्रै घर पुगेका हुन् । शिवनाथ गाउँपालिकाले एम्बुलेन्स पठाएर संक्रमितलाई घर पुर्याएको हो । गौरीफन्टा नाका भएर भारतबाट फर्किएका उनीहरुमा यही जेठ १० गते कोरोना पुष्टि भएको थियो ।
कोरोना संक्रमित निको नहुँदै घर पठाइएपछि स्थानीयमा त्रास बढेको छ । ‘शिवनाथ गाउँपालिकामा आरडीटी पोजेटिभ केस पनि धेरै देखिएका छन् । क्वारेन्टाइन व्यवस्थापनमै समस्या छ ।’गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले भने, ‘अहिले गाउँघरमा कोरोनाको निकै त्रास बढेको छ । संक्रमितको स्वास्थ्य अवस्था राम्रो भए पनि उनीहरु कोरोना निको नहुँदै घर पठाइएका छन् ।’
स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ निर्देशिका अनुसार स्वास्थ्य समस्या नभएकालाई कोरोना नजिते पनि घर पठाउने नीति रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । उनले भने, ‘मन्त्रालयको नयाँ निर्देशिका अनुसार नै बैतडीका संक्रमितलाई घर पठाइएको हो । अहिले उनीहरुमा कुनै त्यस्तो स्वास्थ्य समस्या छैन। उनीहरुलाई सतर्कता अपनाएर होम आइसोलेसनमा राखिएको छ ।’
होम आइसोलेसनमा राखिएकाले परिवारिक सम्पर्कबाट टाढै रहनुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए । उनले भने, ‘उनीहरूमा स्वास्थ्य समस्या नभए पनि शौचालय, पानीको धारा संयुक्त रुपमा प्रयोग गर्न सक्ने बाध्यता हुन सक्छ । यस्तो अवस्थामा संक्रमणको जोखिम बढ्छ । त्यसैले होम आइसोलेसनमा बसेकाले सतर्कतापूर्वक बस्नु आवश्यक छ ।’
छैटौं संक्रमितको दोश्रो रिपोट पनि पोजिटिभ
बैतडीका छैटौं कोरोना संक्रमितको दोश्रो रिपोट पनि पोजिटिभ देखिएको छ । यही जेठ १९ गते संक्रमण पुष्टि भएका बैतडी पाटन नगरपालिका ८ का ३१ वर्षीय पुरुषको दोस्रो कोरोना रिपोर्ट पनि पोजिटिभ आएको हो । संक्रमितको थ्रोट स्वाब संकलन गरि धनगढी प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
संक्रमितलाई कोरोना निको भए नभएको थाहा पाउन संक्रमण पुष्टि भएका १ हप्तापछि पुन पिसिआर गर्ने गरिन्छ । लगातार २४ घण्टामा दुई पटकसम्म रिपोर्ट नेगेटिभ आए कोरोना निको भएको मानिन्छ । ती युवकको मंगलबार पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाइने भएको छ ।
जेठ ८ गते भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै स्वदेश फर्केका ती युवकलाई जेठ ९ गतेदेखि भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टाइनमा राखिएको थियो । जेठ १९ गते ती युवकमा कोरोना पुष्टी भएपछि पाटन प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको छ । संक्रमित युवकसँगै क्वारेन्टाइनमा बसेका, खाना पकाउने भान्छे र क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी सहित ३० जनाको भने यसअघि नै कोरोना रिपोट नेगेटिभ आइसकेको छ ।
क्वारेन्टाइनमै महिना दिन पुग्न लाग्यो
बैतडी शिवनाथ गाउँपालिका वडा नं १ का तीनजना क्वारेन्टाइनमा बसेको २७ दिन पुरा भइसकेको छ । तर पनि उनीहरुको क्वारेन्टाइन बसाइ अझै पनि टुंगिएको छैन । सुरुमा दुई हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने भनेकाले आफूहरु स्वदेश फर्के लगत्तै क्वारेन्टाइनमा बसेको भए पनि महिना दिनसम्म क्वारेन्टाइनमै बस्नुपरेको उनीहरुले बताएका छन् ।
आरडीटी रिपोट पोजिटिभ देखिएका उनीहरुको पीसीआर रिपोट नआएपछि उनीहरुलाई क्वारेन्टाइनमै राख्नुपर्ने बाध्यता आइलागेको शिवनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र महताले बताए । उनले भने, ‘शारदा मावि क्वारेन्टाइनमा बसेका तीनजनामा आरडीटी रिपोट पोजिटिभ देखिएको छ । तीमध्ये एकजनाको रिपोट नेगेटिभ आएको छ । दुईजनाको रिपोट आउन बाँकी रहेकाले तीनजना २७ दिनदेखि क्वारेन्टाइनमै बसिरहेका छन् ।’
पिसीआर रिपोट आउन ढिलाइ हुँदा क्वारेन्टाइनमा बसेका नागरिकलाई समस्या भएको छ । ‘आरडीटी रिपोट पोजिटिभ आयो । अझै पनि हाम्रो पीसीआर रिपोट आएको छैन’, क्वारेन्टाइनमा बसेका शिवनाथका एकजनाले भने, ‘क्वारेन्टाइनमा बसेको महिना दिन हुन लागेको छ । कहिलेसम्म क्वारेन्टाइनमा बस्नुपर्ने हो अझै टुंगो लागेको छैन ।’