सुस्तामा एकैदिन १२ कोरोना संक्रमित थपिए
परासी : पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकामा एकैदिन १२ जना कोरोना संक्रमित देखा परेका छन् । मंगलबार संक्रमित देखापर्नेमा १ का ६ जना, ३ का २, ४ का १ र ५ का ३ जना छन् । भारतबाट आएका उनीहरु सबै १६ देखि ५६ वर्ष उमेर समूहका छन् ।
अहिलेसम्म सबैभन्दा बढी सुस्तामा १६ जना संक्रमित देखा परेका छन् । योसँगै जिल्लामा संक्रमित हुनेको संख्या ३३ पुगेको छ । संक्रमितमध्ये ३ जना निको भएर घर फर्केका छन् । यसअघि पाल्हीनन्दन गाउँपालिकामा देखा परेका ११ जना स्थानीय प्राथमिक स्वास्थ्य केन्द्रमा छन् ।
सुस्तामा देखा परेका संक्रमितलाई स्थानीय बेलवानी स्वास्थ्य केन्द्र भवनमा राखिने तयारी गरिएको छ । यसअघि देखिएका २ जना संक्रमित सोही भवनमा छन् । व्यवस्थित आइसोसेलन नहुँदा संक्रमित देखिएकालाई छुट्टै भवनमा राख्ने गरिएको छ । आइसोलेसन नहुँदा यसअघि देखिएका ३ जना बुटवलमा छन् ।
२ सय १७ जनाको पीसीआर नतिजा आउन बाँकी रहेको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । जिल्लामा ९ सय ८ जना क्वारेन्टाइनमा छन् ।