धरानमा फेरि देखियो डेंगु
धरान : धरानमा कोरोनाको माहामारीसँगै डेंगुको संक्रमण देखा परेको छ। वर्षदिन अघि प्रकोपका रुपमा फैलिएको डेंगु रोग धरानमा पुनः देखा परेको हो। धरान उपमहानगरपालिका-२० का १९ वर्षीय भुपाल तामाङलाई डेंगु रोग देखा परेको हो।
डेंगु रोगले थला परेका उनी विजयपुर अस्पताल धरानमा उपचारका लागि भर्ना भएका छन्। ज्वरो आएर भर्ना भएका उनको रगत परीक्षण गर्दा डेंगु रोग देखा परेको अस्पतालका निर्देशक प्रभाव खतिवडाले जानकारी दिए। चिकित्सकको प्रत्यक्ष निगरानीमा रहेका तामाङको अवस्था सामान्य रहेको उनले बताए।
महिनादिन अगाडी धरान ७ स्थित सन्ध्या इन होटलका सवारी चालक दिपक क्षेत्रीको पनि विजयपुर हस्पिटलमा रगत परिक्षण गर्दा डेंगु पोजेटिभ देखिएको थियो। उनी हाल निको भइसकेका छन्।
एडिज एजिप्टाई तथा एडिज अल्बो पिक्टस नामको पोथी लामखुट्टेले टोकर्ईबाट डेंगु रोग मान्छेमा सर्ने विजयपुर अस्पतालका व्यवस्थापक इन्दुनेपाल योन्जनले जानकारी दिए।
उनले संक्रमित लामखुट्टेले टोकेपछी बिरामीलाई सुरुमा ज्वरो आउने, शरीरमा दादुरा जस्ता फोका आउने, लिभर फुल्ने, पेटमा पानी जम्ने, गिजाबाट रगत आउने र शरीर दुख्ने जस्ता लक्षण देखिने बताए। डेंगु भाइरस डेन वान, डेन टु, डेन थ्री र डेन फोर गरी चार प्रकारका हुने गरेको व्यबस्थापक योन्जनको भनाइ छ।
धरानमा खानेपानीको समस्या सुरु भएसँगै डेंगु रोगको प्रकोप देखा परेको स्थानीयको भनाइ छ। खानेपानी अभावका कारण सर्वसाधारणले खुलाभाडामा सफा पानी जम्मा गरेका कारण संक्रमित लामखुट्टेको वासस्थान सफा पानीमा हुने गरेको चिकित्सकले बताएका छन्। सफा लामखुट्टेले सफा पानीमा नै फुल पार्ने र लार्भा पियुपा हुँदै संक्रमित लामखुट्टेको संख्या वृद्धि हुने गरेको छ। धरान २० का वडा अध्यक्ष मणिराम राईले धरानमा देखिएको डेंगु रोग नियन्त्रणका लागि तत्काल पहल थाल्ने आश्वासन दिएका छन्।