सिरहाका २० जनाले जिते कोरोना
सिरहा : सिरहाका २० जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेका छन्। मंगलबार उनीहरुको तेस्रो पीसीआर रिर्पोट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको हो।
धनगढीमाई नगरपालिका ११ स्थित छपरारीमा रहेको महेन्द्र गेनाई कोभिड अस्पतालमा उपचाररत २० जना डिस्चार्ज भएका हुन्। उनीहरुलाई सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाई, प्रमुख सेनानी जितेन्द्र गौली, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले पुष्पगुच्छा तथा संक्रमणमुक्त प्रमाणपत्र दिएर बिदा गरे।
मंगलबार डिस्चार्ज हुनेमा जेठ ३ गते संक्रमण पुष्टि भएका सिरहाको पहिलो संक्रमित युवादेखि सिरहाका एसपी उमाप्रसाद चतुर्वेदीका सुरक्षा गार्डसमेत रहेका छन्।
डिस्चार्ज हुनेहरुलाई घर सम्म पुर्याउन स्थानीय प्रशासनले सवारी साधनको व्यवस्था गरेका थिए।
डिस्चार्जपछि उनीहरुले अझ १४ दिन होम क्वारेन्टाइनमा बस्नु पर्ने सिरहाका प्रमुख जिल्ला अधिकारी गुरागाईले बताए। यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणबाट सिरहाका १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमण पुष्टि हुनेमा सिरहा क्वारेन्टाइनका १० जना, सुखिपुर क्वारेन्टाइनका एक तथा बरियारपट्टी क्वारेन्टाइनका एक जना रहेको प्रजिअ गुरागाईंले जानकारी दिए। उनीलाई उपचारका लागि मङ्गलबार नै महेन्द्र गेनाई कोभिड अस्पतालमा ल्याइएको छ। योसँगै सिरहामा कोरोना संक्रमण हुनेको संख्या ६२ पुगेको छ।