कोरोना महामारी : अपांगता भएका व्यक्तिको स्थिति दयनीय
काठमाडौं : ‘अरूको सहारामा हिँड्नुपर्छ। १ मिटर दूरी कायम गर्नुपर्छ। बिरामी हुँदा अस्पताल, चामल किन्न पसल र भएको पैसा झिक्न बैंकसम्म पुग्न सक्ने ल्याकत पनि छैन’, नेपाल नेत्रहीन संघका पूर्वअध्यक्ष नरबहादुर लिम्बू कोरोना लकडाउनको कहर यसरी सुनाउँदै गए। लिम्बूका अनुसार सामग्री बेचेर खाने, गीत गाएर पेट पाल्ने र सामान्य पेशा गरेर रोजगारी चलाउने दृष्टीविहीनको अवस्था अत्यन्त नाजुक भएको छ।
राजधानीको ठमेल, पाटन र बौद्धमा मसाज सेन्टर खोलेर विदेशी पर्यटकलाई सेवा पुर्याउँदै झण्डै २० जनालाई रोजगारी दिँदै आएका कपिलवस्तुका दृष्टिविहीन चिरञ्जीवी पौडेलको व्यवसाय कोरोनाकै कारण चौपट छ। पौडेल जस्तै स्वरोजगार चलाउँदै आएका थुप्रै अपांगता भएका व्यक्तिले दुई महिनाको बीचमा पेशा रोजगारी गुमाउनु परेको छ। हिँड्न दृष्टिविहीनलाई जतिबेला पनि इलेक्ट्रिक इक्विपमेन्टको सहारा नभै हुँदैन। अहिले चाहेर पनि किन्न सक्ने अबस्था छैन। एकातिर निकै महँगो छ, अर्कातर्फ बजारमा पुग्ने हैसियत छैन। दृष्टिविहीन विवाहित जोडी अझै चर्को समस्यामा जेलिएका छन्।
‘उनीहरूलाई एकातिर हातमुख जोड्न, दैनिकी गुजारा चलाउन हम्मे छ, अर्कातर्फ यो बेला बालबच्चा कसरी हुर्काउने, सम्हाल्ने भन्ने पीर छ’, लिम्बू भन्छन्। उनका अनुसार पैसा हुनेले पनि दूरी कायम गर्नुपर्ने समस्याले बैंकसम्म पुग्न सकेका छैनन्। ‘उपायविहीन छौं। भोकभोकै पर्ने अवस्था छ। भगवान् सम्झिँदै बसेका छौं’, उनले भने। राष्ट्रिय तथ्यांक विभागको २०६८ सालको जनगणनाअनुसार नेपालमा १.९४ प्रतिशत अपांगता भएका व्यक्ति छन्। राष्ट्रिय अपांग महासंघको रेकर्ड अनुसार झण्डै ४० लाखको संख्यामा विभिन्न खालका अपांगता भएका व्यक्ति छन्। यस्ता व्यक्तिलाई सरकारले रातो र निलो परिचयपत्र दिएको छ। रातो परिचयपत्रबाहक व्यक्ति अत्यन्त नाजुक स्थितिका मानिन्छन्। निलोवाला ह्वीलचेयर या सहारामा सामान्य हिँडडुल गर्न सक्छन्।
महासंघका अध्यक्ष मित्रलाल शर्माले दृष्टिविहीनलाई खान बस्न, ह्वीलचेयरमा हिँड्ने अवस्थाकालाई दिसा पिसाब तर्काउन, बौद्धिक अपांगता, दुवै हात खुट्टा नचल्ने, काप्ने, मनोसामाजिक समस्या हुनेको अवस्था झन् कारुणिक रहेको बताए। सुस्त श्रवण बिरामी हुँदा दोभाषेबिना चिकित्सकलाई कुरा बुझाउन नसकिने अर्को समस्या छ।
कोरोनाबाहेकका बिरामी हुँदा पनि निकै सकस छ। यसैमा पनि गृह मन्त्रालयको पास चाहिने हुँदा उनीहरू पहुँचबाहिर छन्। वडा कार्यालयले दिने पाँच केजी चामल थाप्न पनि जान सक्ने हैसियतमा छैनन्। संविधानको धारा ४७ को सामाजिक सुरक्षाको हक कागजको खोस्टो भएको छ। ‘दाल, चामलको कुरा मात्र मात्र होइन अस्पताल कसरी पुग्ने, औषधि कसरी खाने, कोठाभाडा कसरी तिर्ने, जीवन कसरी निर्वाह गर्ने भन्ने ठूलो चिन्ता छ’, शर्माले भने।
शर्माका अनुसार हेमोफेलिया (रगत नजम्ने) समस्याका ७० जना यस्ता व्यक्ति झन् जटिल अवस्थामा छन्। यसको सुई एक डोजकै ३२ हजार रुपैयाँ पर्छ। बजारमा औषधिको समेत अभाव हुँदा यस्ता बिरामीको अवस्था नाजुक छ। ह्वीलचेयरमा बैंकसम्म पुगे पनि एक तल्लाभन्दा माथि एटीएम हुँदा अर्को कठिनाई छ। यतिबेला मासिक १६ सय रुपैयाँ दिइँदै आएको अपांगता भत्तासमेत कटौती गरिएको छ।