कोरोना हतियार नबनोस् !

कोरोना हतियार नबनोस् !

लामो समयदेखि विश्वभर सन्त्रास फैलाइरहेको कोरोना भाइरस महामारी हामीकहाँ भित्रिएपछिको बन्दाबन्दीले दुई महिनाभन्दा बढी नाघिसक्दा जनजीवन असहज र कष्टकर बन्दै गएको छ। संसारका उच्च आर्थिक हैसियत भएका शक्तिराष्ट्रहरूलाई समेत पराजित गर्दै फैलिइरहेको यस भाइरसका बारेमा विभिन्न अड्कलबाजी गरिए पनि कुनै ठोस निष्कर्ष निस्कन सकेको देखिँदैन। समय-परिवेश अनुसार आफ्नो स्वरूप तथा विशेषतामा परिवर्तन गर्दै आएको भनिने यस भाइरसको निदानबारे कुनै पनि अध्ययन-अनुसन्धान सफल नभए पनि यो प्राकृतिक भाइरस हो या जैविक हतियारका निमित्त प्रयोग गर्न निर्मित कृत्रिम भाइरस हो भन्नेबारेमा विभिन्न मतमतान्तर चाहिँ देखिए। यसप्रकारका मत-अभिमत तथा तर्क-वितर्क एवं भाइरससम्बन्धी सामाजिक सञ्जालमा पोस्ट गरिएका अनेक विचारहरू बन्दका बेला आम मानिसलाई समय बिताउन निकै उपयोगी देखिए। कोरोना-सन्त्रासको यति लामो समयपछि अहिले जनमानसमा एउटा प्रश्न उब्जन थालेको देखिन्छ- कोरोना भाइरस समयको निश्चित अन्तरालमा संसारभर फैलने स्वाभाविक महामारी नै हो वा बलिया राष्ट्रले कमजोर राष्ट्रविरुद्ध प्रयोग गर्ने हतियार हो ? अहिले हाम्रो दक्षिणी सीमा नाकाहरूबाट भित्रिँदै गरेका असंख्य नेपालीको सम्बन्ध पनि यसै प्रश्नसँग जोडिएको आशंका गरिँदैछ।

हामीकहाँ कोरोना संक्रमण अन्य मुलुकका तुलनामा निकै पछि देखिनु, विदेशबाट आएका केही व्यक्तिहरूमा यस्तो संक्रमण देखिएको लामो समयपछि मात्र उनीहरूको सम्पर्कमा रहेका अन्यमा पनि संक्रमण देखिएकोमा हाल यसको संख्या ह्वात्तै बढिरहेको छ। हाम्रो जस्तो मुलुकका लागि यो सामान्य समस्या नभएर गम्भीर चुनौती हो। कमजोर आर्थिक अवस्था, उपभोग्य परनिर्भरता, स्वास्थ्य क्षेत्रमा आवश्यक भौतिक पूर्वाधार तथा जनशक्तिको अभाव, सरुवा रोगीहरूको उचित व्यवस्थापन तथा उपचारका लागि स्वास्थ्यकर्मीलाई चाहिने सुरक्षा सामग्रीको अभाव आदि कारणले हाल बढिरहेको कोरोना संक्रमण नियन्त्रण आफैंमा गम्भीर चुनौती बनिरहेको अवस्थामा छिमेकी मुलुक भारतले त्यहाँ रहेका नेपालीलाई सीमानामा ल्याएर छोड्ने जुन नीति अपनाएको छ कतै त्यो नेपाललाई कमजोर बनाउने हतियार बन्ने पो हो कि भन्ने आशंकाले पनि यतिबेला ठाउँ पाएको छ। देशभित्रै फैलिएको संक्रमण, त्यसबाट सिर्जित ‘लकडाउन’ का कारण कमजोर बन्दै गरेको अर्थतन्त्र, कठिन बन्दै गएको सर्वसाधारणको दैनिकी, संक्रमितको उपचार आदिजस्ता विषमताबाट गुज्रिरहेको हाम्रो देशलाई भारतबाट आएका आफ्ना लाखौं नागरिकको सुरक्षित व्यवस्थापन, स्वास्थ्य परीक्षण, क्वारेन्टाइन तथा संक्रमितको उपचार पक्कै पनि सहज छैन। हाम्रो सरकारले यो समस्यासँग जुध्नु कुनै युद्धभन्दा कम ठान्नु हुँदैन !

कोरोना केवल महामारी नभएर मुलुकको अर्थतन्त्रलाई तहसनहस पार्ने हतियार नबनोस् भन्ने सचेतता र कार्ययोजना नै अहिलेको प्रमुख आवश्यकता हो।

मानवीय दृष्टिले यस्तो कठिन तथा असामान्य परिस्थितिमा हरेक राष्ट्रले आफ्नो देशमा रहेका स्वदेशी तथा विदेशी सबै नागरिकको जिम्मा लिनुपर्ने हुन्छ। संक्रमितलाई क्वारेन्टाइन र उपचारको व्यवस्था, रोजीरोटी गुमेकाहरूका लागि जीवनयापनको जिम्मा पनि सम्बन्धित सरकारकै दायित्वभित्र पर्छ। यसको विपरीत अहिले हाम्रो निकटतम छिमेकी राष्ट्रले निम्नतम मानवीय मूल्य तथा मित्रधर्मलाई बिर्सेर त्यहाँबाट नेपालीलाई स्वदेश फर्काउने नीति लिनु शोभनीय देखिँदैन। उसले दाबी गरेझैं त्यहाँ रहेका नेपाली स्वदेश फर्कन चाहेको तथा उनीहरूको कोरोना परीक्षण भएको भन्नेमा पनि आंशिक सत्यता मात्र देखिन्छ किनभने त्यहाँ उनीहरूले सकारात्मक व्यवहार पाएको भए यस्तो प्रतिकुल अवस्थामा खतरा मोलेर ती नेपाली सीमा नाकामा भिड लाग्दैन्थे होला ! शक्तिराष्ट्रले कमजोर राष्ट्रमाथि देखाउने हेपाहा प्रवृत्तिका कारण बेला-बेलामा सीमा-विवाद देखिँदै आएकोमा हाल देखिएको सीमा विवादकै परिणति त होइन भारतको यस्तो नीति भनेर शंका गर्ने ठाउँ पनि यसले दिएको छ।

दुई देशबीचको सीमा विवाद राजनीतिक मुद्दा हो। यो अहिलेको मात्र नभएर वर्षौं अघिदेखिको समस्या पनि हो। यो समस्यालाई दुवै देशले कूटनीतिक रूपमा समाधानको पहल गर्ने प्रशस्त सम्भावना छ। अहिलेको यो महामारी कुनै एक-दुई देशबिचको मात्र समस्या नभएर विश्वव्यापी समस्या हो। यसबाट कुनै एक मुलुक संक्रमित भएपछि त्यसको आसपासका अन्य मुलुक सुरक्षित रहने सम्भावना देखिँदैन। त्यसैले यसको नियन्त्रणका लागि सम्पूर्ण विश्व नै एक भएर आपसमा भाइचाराको धर्म निर्वाह गर्नुपर्ने बेलामा दुई देशबीचको यस्तो कटुतालाई शुभसंकेत मान्न सकिँदैन। विश्वपरिवेशमा भारतको आर्थिक, भौगोलिक, राजनीतिक आदि जुन उपस्थिति र शक्ति छ त्यस अर्थमा पनि उसले सानो राष्ट्रप्रति गरेको यसप्रकारको व्यवहारले शोभा दिँदैन। उसको हालको व्यवहारबाट महाभूकम्पको घाउमा खाटा नबस्दै गरिएको नाकाबन्दीको पीडा अहिले आम नेपालीले पुनः अनुभूत गर्न बाध्य देखिएका छन्। विश्वव्यापीकरणको वर्तमान अवस्थामा यसरी अन्य देशका नागरिकलाई उनीहरूकै देशमा फर्काउने बाध्यकारी नीति न्यायसंगत पनि देखिँदैन। महामारीको मानवीय संकटमा राजनीतिक हतियार सर्वथा अनुचित मानिन्छ।

अहिलेको ‘लक-डाउन’ खुल्ने हो र हवाई उडान सञ्चालन हुने हो भने विभिन्न मुलुकमा रहेर विषम परिस्थिति झेलिरहेका लाखौं-लाख नेपाली पनि स्वदेश फर्कने अवस्था देखिन्छ। तीमध्ये अधिकांश रोजगारी गुमाएका र केही संक्रमित समेत हुनेछन्। त्यो अवस्था झनै संवेदनशील हुनेछ। हामीकहाँ कोरोनाको पहिलो संक्रमित देखिएको झण्डै चार महिनापछि मात्र हाल यसको संख्यामा यसरी तीव्र वृद्धि देखिएको हो। यसले के देखाउँछ भने सरकारले बेलैमा यसलाई गम्भीरतापूर्वक लिएर कार्य गरेको भए हामी अन्य देशको तुलनामा सुरक्षित हुने थियौं। अहिले पनि सरकारले आफ्नो नीति तथा कार्यक्रममा महामारी रोकथामलाई प्राथमिकता दिने भनिए पनि ठोस र प्रभावकारी कार्यक्रम ल्याउन सकेको देखिँदैन। देशमा अहिले केन्द्र, प्रान्त र स्थानीय गरी तीन तहको सरकार छ तापनि महामारी सम्बन्धमा केन्द्रले मात्र दायित्व लिन खोजेजस्तो देखिएको छ।

प्रान्त र स्थानीय तहलाई आवश्यक स्रोत-साधन उपलब्ध गराउनाका साथै निश्चित अधिकार प्रत्यायोजन गरेर यससम्बन्धी कार्यक्रम तत्काल ल्याउनुको विकल्प देखिँदैन किनभने लकडाउनलाई निरन्तरता दिएरै पनि कृषि तथा उद्योगधन्दाका अत्यावश्यक कार्य कसरी सञ्चालन गर्ने, ती उत्पादनलाई उपभोक्तासमक्ष सुरक्षित रूपमा कसरी पुर्‍याउने भन्ने अहिलेको गहन चुनौती हो। हालको महामारीमा आम नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता पनि हो। देशमा हाल भएका तथा बाहिरबाट भित्रिँदै गरेका र भित्रिने तयारीमा रहेका जनसंख्याका लागि खाद्यान्न तथा अन्य उपभोग्य वस्तुको सञ्चिति कति छ, आयातको अवस्था वा अन्य विकल्प के छ भन्नेमा सम्बन्धित निकाय पारदर्शी हुनैपर्छ। भविष्यमा आइपर्ने समस्याको सामना गर्न आफ्नो स्रोत-साधनले नभ्याउने अवस्थामा विगतदेखि हामीलाई सहयोग गर्दै आइरहेका मित्रराष्ट्रहरूसँग सहयोग समेत लिनुपर्ने हुन्छ किनकि, अबको केही समय हामीले सोचेजस्तो सहज पक्कै हुनेछैन !

राजनीतिक मुद्दालाई थाती राखेर अहिले महामारीविरुद्ध नलड्ने हो भने केही समयपछि स्थिति नियन्त्रणभन्दा बाहिर हुनेछ। त्यतिबेला यो कोरोना महामारी नै अहिलेसम्मको हाम्रो उन्नती-प्रगतिलाई छिन्नभिन्न पार्ने हतियार बन्नेछ ! विदेशबाट फर्केको जनशक्तिको परिचालन कहाँ र कसरी गर्ने, उनीहरूलाई पुनः विदेशको सपना देख्न नपर्ने वातावरण कसरी सिर्जना गर्न सकिन्छ, आफ्नै स्रोतसाधनको उपयोग गरेर आत्मनिर्भरतातर्पm कसरी उन्मुख हुन सकिन्छ भन्नेबारे सबैको ध्यान केन्द्रित हुने हो भने केही समयका लागि समस्याका रूपमा भित्रिएका आफ्ना नागरिक नै भविष्यमा देशको खम्बा बन्नेछन्। त्यसैले कोरोना केवल महामारी नभएर मुलुकको अर्थतन्त्रलाई तहसनहस पार्ने हतियार नबनोस् भन्ने सचेतता र कार्ययोजना नै अहिलेको प्रमुख आवश्यकता हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.