मालिकार्जुनमा पहिरोले दुई घरमा क्षति
दार्चुला : जिल्लाको मालिकार्जुन गाउँपालिका ३ मा पहिरो जाँदा दुई घरमा क्षति पुगेको छ । मंगलबार राती भएको अबिरल वर्षाका कारण भंगालोले बाढीको रुप लिँदा मालिकार्जुन गाउँपालिका ३ प्रेमनगर क्षेत्रका नानाराम टमटा र कृष्ण सिंह धामीको घरमा आशिंक क्षति पुगेको छ भने मालिकार्जुन गाउँपालिका २ न्वालपानीमा पनि प्रसूति गृहको टिनको छानो उडाएर पूर्णरुपमा क्षति पुगाएको सोही ठाउका स्थानीय शेरसिंह रावतले बताए ।
मालिकार्जुन गाउँपालिका बाढीको उच्च जोखिममा रहेको छ ।२ वर्षअघि पहिरोमै पुरिएर एकजनाको ज्यान समेत गएको थियो । जेठ महिनामै पहिरो जान थालेपछि मालिकार्जुनबासी त्रसित बनेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र धामीले बताए।
मंगलबार राती क्षति भएका घर र प्रसूति गृहको क्षतिको विवरणबारे अवलोकन गर्न गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामी, वडाध्यक्ष रुद्रेसिंह धामी, मालिकार्जुन प्रहरी चौकीका असई तेज खड्कालगायतको टोली घट्नास्थल पुगेको छ ।
गाउँपालिका अध्यक्ष नरेन्द्र सिंह धामीले क्षतिको एकिन गरी क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएका छन्।