प्यूठानमा थप ६ कोरोना संक्रमित थपिए
प्यूठान : पछिल्लो एक साताभित्र प्यूठानमा कोरोना संक्रमित थपिने क्रम बढ्दै गएको छ। मंगलबार थप ६ जनामा संक्रमण पुष्टि भएको हो। पछिल्लो पटक थपिएकामध्ये ५ जना माण्डवी गाउँपालिका-५ रम्दी र एक जना ऐरावती गाउँपालिका वडा नम्वर १ का हुन्।
माण्डवीका ५ जनाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षण अनुसार संक्रमण पुष्टि भएको माण्डवी गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए। पाँचै जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। संक्रमण हुनेको संख्या जिल्लामा १८ पुगेको छ।
यसअघि माण्डवी गाउँपालिकामै २ जना, प्यूठान नगरपालिकामा ८ जना, स्वर्गद्धारी नगरपालिका र सरुमारानी गाउँपालिकामा एक/एक जनालाई कोरोना लागेको पुष्टि भएको छ। संक्रमित दिनहुँ थपिदै गएपनि उनीहरुलाई आइसोलेसनमा राखेर उपचार गर्नका लागि जिल्लामा संक्रियता देखाइएको छैन्।
प्यूठानबाट पठाएका ३ सय ४५ जनाको पिसिआर रिपोर्ट अझै आउन बाँकी रहेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले जानकारी दिए। संक्रमितहरु पुष्टि हुने क्रम बढेसँगै स्वाब संकलनको दायरा पनि बढ्दै जाने उनले बताए।