म्याग्दीमा रोपाईं सुरु : ट्याक्टर र मिनिटिलर हलो प्रयोग
बेनी : फैलिदो कोरोना भाइरसको जोखिमका बीच हिमाली जिल्ला म्याग्दीका कृषकहरुले वर्षेबाली धान र कोदो रोपाई सुरु गरेका छन्। बुधबार ७८ दिन पुगेको लकडाउनले कृषकको दिनचर्यामा असर पारेको छैन्। माथिल्लो र सिचाईं सुबिधा भएका ठाउँमा कृषकहरुले खेतमा धान रोपाई सुरु गरेका छन्। धवलागिरी, मालिका, मंगला, रघुगंगा, अन्नपूर्ण गाउपालिका र बेनी नगरपालिको माथिल्लो क्षेत्रमा धान र कोदो रोपाई सुरु भएको हो।
नियमित वर्षा र पानीको सुविधा भएपछि रोपाई गर्न थालेको मंगला गाउँपालिका–५ छिसवाङका कृषक छेमबहादुर पुनले बताए। ‘कोरोनाको डर भएपनि भौतिक दुरी र स्वास्थ्य सतर्कता अपनाएर रोपाईं गर्न थालेका छौ,’ उनले भने ‘छिमेकमा अर्मपर्म गरेर रोपाईं गरेका छौं। पानी परिरहेकाले सजिलो भएको छ।’
छिसवाङ, पिपलबोट, खोप्टी, पिपलबोट, सेराफाँट म्याग्दीमा धेरै धान खेती हुने ठाउँ हो। गहुँ छरेको र हिउदे बाली नलगाएको खेतमा जेठको अन्तिम साताबाट रोपाई गर्छन्। जेठमा ढिला पाक्ने जातको धान रोप्छन्।
मकै लगाएको खेतमा भने असारको अन्तिमतिर रोपाईं हुन्छ। कृषि ज्ञान केन्द्र म्याग्दीको अभिलेख अनुसार जिल्लाभर तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुन्छ।
गौरीया, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गर्छ। वार्षिक चार हजार मेट्रिक्टन धान उत्पादन हुने तथ्याङ्क छ। उच्च पहाडी क्षेत्रमा भिरालो जमिन र सिचाई आवश्यक नपर्ने घैया जातको धान खेति हुन्छ।
विगतका वर्षमा मजदुरको अभावका कारण खेतीबाली लगाउन र भित्र्याउन समस्या हुने गरेको थियो। अध्ययन, रोजगारी र व्यापार ब्यवसायका लागि सहरी क्षेत्रमा गएकाहरु लकडाउनपछि गाउँ फर्किएका छन्।
परिवारका सबै सदस्य घरमै भएकाले खेतीबाली लगाउन सजिलो भएको मंगला–५ पिपलबोटका डिलबहादुर विकले बताए। ‘कोरोनाले गर्दा यसपाली खेतीबाली लगाउन खेताला खोज्न परेको छैन,’ उनले भने ‘काम गर्ने मान्छे घरमै छन्।’
पछिल्लो समय कृषि औजार र उपकरणको प्रयोगप्रति कृषकको आकर्षण बढेको छ। हल गोरुको विकल्पमा मिनिटिलर हलो, ट्याक्टरको प्रयोग गर्न थालेका छन्। ठूला गह्रा भएका र फाँटका खेतमा बाँझो जोत्नेदेखि रोपाई गर्न ट्याक्टर र मिनिटिलर प्रयोग गरेका छन्।
गोरुले एक दिनमा जोत्ने खेत ट्याक्टर र मिनिटिलरले एकै घण्टामा सक्ने हुँदा काम छिटो हुने छिसवाङका कृषक हेमबहादुर पुनले बताए।
लकडाउनको फुर्सदलाई सदुपयोग गरेर कतिपय कृषकहरुले वर्षौदेखि बाँझिएको खेतबारीमा झाडी फाडेर खाद्यान्न, दलहन र फलफुल खेती सुरु गरेका छन्। सिचाई सुविधाको विस्तार, गुणस्तरीय मल, विउको उपलब्धता, कृषकमा ब्यवसायिक भावनाको विकासका साथै यान्त्रिकरणको आवश्यकता रहेको कृषकहरु बताउँछन्।