किसानलाई धान रोप्ने चटारो

किसानलाई धान रोप्ने चटारो

बुटवल : लुम्बिनी सांस्कृतिक नगरपालिका भगलपुरका किसान सुब्बा यादवलाई व्याडमा राखेको बिउ काढ्न भ्याइनभ्याइ  छ । छेवैको खेत ट्याक्टरले जोतेर हिल्याइसक्यो । रोपारा तयार भएर बसेका छन् । उनीहरुलाई बीउ पुर्‍याउन यादवसहितका चार पुरुषले बिउ काढिरहेका छन् ।

देशभर कोरोना महामारीले दैनिकीमा प्रभाव पारे पनि रुपन्देहीको दक्षिणीतर्फका किसान यतिबेला धान राप्ने चटारोमा छन् । आकाशे पानीको भर पर्नु नपर्ने खेतमा धमाधम रोपाइँ भइरहेको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका भगलपुरका हरेक किसान खेतमा व्यस्त छन् । कोही आली मिलाउँदै त कोही ब्याड गोड्दै छन् ।

गाउँको छेवैमा रहेको रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयको छात्रावासमा क्वारेन्टाइन छ । दैनिक जसो क्वारेन्टाइनमा बसेका कोरोना पुष्टि भइरहे पनि उनीहरुलाई चासो छैन । ‘कहाँ के भयो भन्ने सुन्ने फुर्सद नै छैन', सुब्बा यादवले भने,‘समयमा धान रोप्न नपाए फल्दैन, ब्याड नछिप्पिंदै रोपाइँ भ्याउनु छ ।’ कोरोनाबारे थोरबहुत जानकारी भए पनि उनले खेती किसानीमै जोड दिएका छन् ।

यो वर्ष ब्याड राख्ने समयमा आकाशे वर्षा भएका कारण किसानलाई सजिलो भयो । तर रोपाइँका लागि भने अझै पर्याप्त पानी परेको छैन । रुपन्देहीका अन्न भन्डार मानिने दक्षिणी क्षेत्रमा जमिनमुनिको पानी तानेरै रोपाइँ गरिन्छ । समुदायस्तरमा त्यस्ता पम्प खरिद गरिएको हुन्छ । त्यही पम्पबाट आउने पानीलाई पाइपले खेतसम्म पुर्‍याएर रोपाइँ गरिन्छ । त्यसैले एउटा गाउँमा एक दिनमा एकाध जग्गाधनीको खेतमा मात्रै रोपाइँ हुन्छ ।

‘पम्पबाट पानी तान्नुपर्ने भएकाले सबैले एकैपटक रोपाइँ गर्न सक्दैनन्', गाउँका मेलमिलापकर्तासमेत रहेका ओमप्रकाश यादव भन्छन,‘पालैपालो गरेर भ्याउनु छ ।’ बुद्ध जम्नस्थल लुम्बिनी आसपासमा रहेको फाटमा नहर सिचाइँ हुँदैन । धान मात्रै होइन, अन्य खेती पनि पम्पकै भरमा हुन्छ । रुपन्देहीमा रहेको ८२ हजार ६ सय २२ हेक्टर जमिनमध्ये ३७ हजार ६ सय हेक्टरमा मात्रै सिचाइँ सुविधा छ । सिचाइँ गर्न मिल्ने जमिन ५८ हजारभन्दा बढी हेक्टर रहे पनि उपलब्ध छैन । खेती हुने उर्वर क्षेत्रमै सिचाइँको अभाव छ ।

भगलपुरमा चैते धान पनि रोपिन्छ । चैतमा रोपिएको धानले बाला हाल्दै छ । असारे धान रोप्ने चटारो छ । धान रोप्ने बेला मल नपाएर किसान हैरान छन् । डिएपी र युरिया मल मिसाएर खेतमा छर्नुपर्ने उनीहरु बताउँछन् । ‘मल बेच्नेले दुईचार दिनमा आउँछ भन्दै फर्काउँछन, अझै चाहिए जति मल पाइएको छैन', किसान सुब्बा यादवले भने, 'भारतबाट कक्रहवा हुँदै साइकलमा भित्रिने मलसमेत रोकिएको छ । पारि(भारत)बाट मल आएको भए किसानलाई समस्या हुने थिएन । अहिले सबै किसान सरकारले नै किनेको मलबाट खेती गर्दैछन् ।'

मलको बिक्री वितरण गर्ने कृषि सामग्री कम्पनी भैरहवाका अनुसार डिएपी मल आइसकेको छैन । जसकारण गोदममै अभाव छ । युरिया मलको टेण्डरसमेत नखुलेकाले बजार पाउने सम्भावना नै रहेन । कम्पनीको भैरहवा केन्द्र प्रमुख अजयकुमार श्रीवास्तवका अनुसार भारतको कलकत्तामा मल रोकिएका कारण किसानले पाउन सकेका छैनन् ।

साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनीले आयातका लागि खरिद गरेको ३६ हजार मेक्ट्रिकटन मल भारतकै बन्दरगाहा क्षेत्रमा छ । यो युरिया र डिएपी हो । जुन बेला मल चाहिने हो त्यही बेला नपाएर पनि किसान हैरान छ । धेरै किसानले गोबर मल हालेर रोपाइँ गर्ने र युरिया उपलब्ध भएपछि मात्रै राख्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.