पन्चैबाजा बजाउँदै महिला

पन्चैबाजा बजाउँदै महिला

इटहरी : इटहरीकी शशिकला दाहालले केही महिनाअघि आयोजना गरेको एक धार्मिक कार्यक्रममा पन्चैबाजा बजाउन चाहिन्। शुभसाइतमा बजाउन भन्दै बोलाएको पन्चैबाजा टोली कार्यक्रम सकिसक्दा पनि पुगेन।

‘आउँछु भनेर पनि आएनन्, फोनै उठाएनन्,’ उनले भनिन्, ‘पन्चैबाजा बजाएर कार्यक्रम गर्न मन हुन्छ, तर यसरी धोका दिने समस्याले गर्दा आजित छौं।’

दाहाल मात्र होइन, पन्चैबाजा टोलीबाट यसरी अन्तिम समयमा धोका पाउने मानिस धेरै छन्। दिक्क भएपछि इटहरीमा महिलाको एउटा समूहले सोच्यो, ‘बरु आफैं बजाउनुपर्छ कि ? ’

महिला सीप विकास केन्द्र, तलेजु बचत तथा ऋण सहकारी संस्थामा आबद्ध महिलाले पन्चैबाजा सिक्ने निर्णय गरे। ‘१० दिन भयो सिक्न थालेको,’ कहिलेकाहीँ मादल बजाउने गरेकी दाहाल अहिले ट्याम्का बजाउन सिकिरहेकी छन्। भन्छिन्, ‘गाह्रो त रहेछ, तर महिलाले चाहेपछि जे पनि सिक्न सक्छन्।’

अहिले उनीसहित १२ जना महिला पन्चैबाजा बजाउन सिकिरहेका छन्। सिक्नेहरू प्रायः क्षेत्री बाहुन समुदायका छन्। बिहेलगायतका विभिन्न धार्मिक तथा सार्वजनिक कार्यक्रममा प्रयोग हुने पन्चैबाजा समूहमा बजाइने बाजा हो। नर्सिंहा, झ्याली, सहनाई, ट्याम्का र दमाहा गरी पाँचवटा बाजाको एउटा समूह हुन्छ। अचेल पन्चैबाजा बजाउने समूह निकै कम छ। भएकालाई भ्याइनभ्याइ हुन्छ। तर समयमा नपुग्ने र अनुशासनमा नबस्ने समस्याका कारण चाहनेले पनि आफ्नो कार्यक्रममा पन्चैबाजा प्रयोग गर्न सकेका छैनन्।

खासगरी दमाई जातिले बजाउने पन्चैबाजालाई सोही समुदायको नयाँ पुस्ताले निरन्तरता दिन नचाहँदा लोप हुने अवस्थामा पुगेको छ। त्यसैले संस्कृति जोगाउँदै आर्थिक उपार्जनको उद्देश्यले लागिपरेको इटहरी—४ की तारादेवी निरौलाले बताइन्।

निरौला नर्सिंहा बजाउँछिन्। ‘निकै ठूलो छ, बोक्न पनि जानेको छैन,’ नर्सिंहा बजाएको अनुभव सुनाउँछिन्, ‘फुक्न निकै गाह्रो पर्ने रहेछ, तर बजाएरै छाड्छु।’

महिलालाई सिकाउन सलकपुरका वीरबहादुर दर्जी सातामा एक दिन आउँछन्। आफ्नै खर्चमा पन्चैबाजा भाडामा ल्याएर सिकिरहेका छन्। लकडाउनको समयमा धेरै महिला घरमै बसिरहेको समयमा आफूहरूले भने नयाँ सीप सिक्न समय दिएको गीता बस्नेत बताउँछिन्।

समाजमा जातीय विभेदका घटना भइरहेको समयमा बाहुन क्षेत्रीलगायत अन्य समुदायले पन्चैबाजा बजाउँदा सकारात्मक सन्देश जानेसमेत कतिपय सहभागीको विचार छ। ‘एकातिर लोप भइरहेको संस्कृति, अनि अर्कोतिर पश्चिम नेपालमा भर्खरै जातीय विभेदको घटना पनि घटेको सन्दर्भमा यो कामले विभेद हटाउन पनि सहयोग गर्छ भन्ने हाम्रो सोचाइ हो’, अर्की सहभागी देवकुमारी राईले भनिन्।

पन्चैबाजा बजाउन सिक्ने मात्र होइन, सिकेर सःशुल्क काम नै गर्ने महिलाको सोँच छ। ‘काम नै गर्ने हो, हामी विभिन्न कार्यक्रममा गएर बजाउँछौं,’ शान्तिकला रिजालले भनिन्, ‘सःशुल्क काम गर्छौं, महिलाले यस्तो काम पनि गर्न सक्छन् भनेर पनि देखाउँछौं।’

अर्की सहभागी यमुना बुढाथोकी भने बाजामा गर्नुपर्ने लगानी बराबरको सहयोग खोजिरहेको बताउँछिन्। ‘बाजा किनेर दुई–तीनवटा समूह बन्यो भने हामी जहाँ गएर पनि बजाउन सक्छौं’, उनी भन्छिन्। महिलाले गर्न हुँदैन भन्ने काम गरेर देखाउन लागिपरेको महिला सीप विकास केन्द्रकी अध्यक्ष राधिका थापा बताउँछिन्। महिलालाई संयोजन गरिरहेकी थापा भन्छिन्, ‘महिलाले अब पन्चैबाजा बजाएर आम्दानी गर्ने वातावरण मिलाउँदैछौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.