दार्चुलाका स्थानीय तह पीसीआर मेसिन खरिद गर्दै
दार्चुला : जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको र परीक्षण सुस्त भएको भन्दै दार्चुलाका स्थानीय तहले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका छन् । बिहीबार जिल्ला समन्वय समिति ९ वटै स्थानीय तहका प्रमुखसहित सरोकारवालाको जिल्ला संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले पीसीआर मेसिन खरिद गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको जिल्ला समन्वय समिति प्रमुख करबीर बहादुर कार्कीले जानकारीले बताए।
उनले भने, 'प्रदेश प्रयोगशालाको भर पर्दा संक्रमण झन् फैलिने देखियो । जिल्लामै प्रयोगशाला स्थापना गर्ने निर्णयमा पुगेका हौं, जति सक्दो छिटो कोरोना परीक्षण प्रयोशाला स्थापना गर्ने गरी काम अगाडि बढाउँछौं।'
मेसिन खरिदका लागि ९ वटै स्थानीय तहले समान रकम व्यहोर्ने सहमति छ । पीसीआर मेसिन खरिदको लागि प्रयोगशाला स्थापनाको अध्ययनको लागि जिल्ला समन्वय समिति प्रमुख कार्कीको संयोजकत्वमा समिति गठन गरिएको छ ।
समितिले जिल्लामा पीसीआर टेस्ट गर्ने मेसिन खरिद गर्न आवश्यक बजेट, जनशक्ति तथा भौतिक संरचनालगायतका व्यवस्थापकीय पक्षका समन्बन्धमा विज्ञसँग छलफल गरी प्रतिवेदन तयार गर्ने जनाएको छ।
समितिमा ६ सदस्य रहेका छन्।यहि समितिले दिएको प्रतिवेदनको आधारमा मेसिन खरिद प्रक्रिया तथा व्यवस्थापन कार्य अघि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए।