सुदूरपश्चिमका थप तीन ठाउँमा पीसीआर मेसिन राखिने
धनगढी : उद्योग, वाणिज्य तथा आपू्र्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको थप तीन ठाउँमा पीसीआर मेसिन राख्ने तयारी सरकारको रहेको बताएका छन् । प्रदेशका कञ्चनपुर, डडेल्धुरा र अछाम जिल्लामा पीसीआर मेसिन जडान गरिने बताएका हुन । प्रदेशको कोरोनाको अवस्था र लघु, मध्यम र मझोला उद्योगको प्रवर्द्धनका लागि राष्ट्रिय योजना आयोगको टीम र युएनडीपीको टीमसँगै धनगढी पुगेका मन्त्री भट्टले धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानीका क्रममा यस्तो बताएका हुन् ।
प्रदेशमा दैनिक २५० जनाको मात्रै स्वाबको नमुना परीक्षण गर्ने एक मात्रै प्रयोगशाला छ । मन्त्री भट्टले कञ्चनपुरको दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाहको काम अगाडि बढिसकेको बताए । सुख्खा बन्दरगाहका लागि भारतसँग पनि कुरा अगाडि बढेको उनले दावी गरे ।
देशको अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले लकडाउन खुकुलो बनाउँदै गएको उनले बताए । हाल धनगढीमा एउटा मात्र पीसीआर परीक्षण गर्ने मेसिन हुँदा कोरोना परीक्षण सुस्त छ ।