सीमापारी मृत्यु भएका नेपालीमा कोरोना पुष्टि
भैरहवा : स्वदेश फर्किने आशामा बुधबार भारतको सोनौली नाकमा मृत्यु भएका पश्चिम नवलपरासी सुस्ता गाउँपालिका (साविकको कुडिया ७) का ३५ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएको छ।
मुम्बईबाट नेपालीको एक समूह बसमा सोनौली नाका आइपुगेको थियो। त्यसमध्ये यी युवकको नाकामा मृत्यु भएको थियो। मृत्यु पश्चात गरिएको कोरोना संक्रमण परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको भारतका नौतनवाका एसडिएम जसधिर सिंहले पुष्टि गरे।
मृतक युवकको शव व्यस्थापन भारतमै हुनेछ। ‘मृत्यु भएको युवकको कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएपछि भारततिरै उनको शव व्यवस्थापन गर्ने कुरा छ’, रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक ईश्वरी अधिकारीले अन्नपूर्णसगँ भने।
युवकको मृत्यु भएपछि मुम्बईबाट उनी सँगै आएका उनका भिनाजु र सालो एम्बुलेन्समा शवसहित जिल्ला अस्पताल महाराजगंजसम्म गएका थिए। उनीहरुको नाम नेपाल आउने सूचीमा रहेको कारण उनीहरु महाराजगंजबाट सीमामा पुगेर नेपाल भित्रिएका छन्।
युवक आएको बसमा ४० जना नेपाली सवार थिए। सबै स्वदेश आइसकेका छन्।