स्याङजामा एकैदिन थपिए २२ संक्रमित
वालिङ् : स्याङ्जामा शुक्रबार एकैदिन २२ जना संक्रमित थपिएका छन्। योसँगै जिल्लामा संक्रमितको संख्या ६० पुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार दिएको जानकारी अनुसार गल्याङका १८, वालिङका २ र अर्जुनचौपारी गाउँपालिकाका एक जना र एक जना ठेगाना नखुलेको पुरुषमा कोरोना संक्रमण देखिएको हो।
अर्जुनचौपारीको ३ वर्षीय बालक र ठेगाना नखुलेका ४ वर्षीय बालकमा समेत कोरोना भेटिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए।
संक्रमितमध्ये वालिङका ३३ र ३५ वर्षीय पुरुष हुन्। गल्याङमा ६६, ४४, १६, २०, १८, २९, ३५, २३, १५, ४५, २५, २०, ३१, २५, २०, २०, २४, ३५ वर्ष उमेर समूहका छन्।
शर्माका अनुसार ‘ गल्याङबाट २१ गते ४८ जनाको, वालिङबाट २७ गते ५५ जनाको र अर्जुनचौपारीवाट २२ गते १२ जनाको नमुना स्वाब संकलन गरी पिसिआर परीक्षणका लागि प्रादेशिक प्रयोगशाला पोखरा पठाइएकोमा २२ जनाको पोजिटिभ आएको हो। तीमध्ये वालिङका केही व्यक्तिको रिपोर्ट आउन बाँकी छ। ’ कोरोना संक्रमण देखिएकामध्ये २ जनाबाहेक अन्य सबै भारतबाट आएर र सम्बन्धित पालिकाको क्वारेन्टाइनमा बसेका हुन्। २ जना भने सरसफाई कर्मचारी हुन्।
सरसफाईकर्मीमा देखियो कोरोना संक्रमण
सरसफाईकर्मी कर्मचारी पनि कोरोना संक्रमण देखिएको छ। गल्याङका २ जना संक्रमि मध्ये उनीहरु सरसफाईकर्मी रहेको स्वास्थ्य प्रमुख यामप्रसाद शर्माले जानकारी दिए। उनीहरुले क्वारेन्टाइनको सरसफाई गर्दै आएका थिए। उनीहरु सरसफाईका लागि घरबाटै आउने जाने गरेको पाइएको छ। तीमध्ये एक पुरुष र एक महिला क्रमश : ४४ र ६० वर्षका हुन्। उनीहरुको कन्ट्याक्क ट्रेसिङको तयारी भइरहेको स्वास्थ्य प्रमुख शर्माले जानकारी दिए।
अझैं २ सय १५ जनाको पिसिआर रिपोर्ट आउने बाँकी
अर्जुनचौपारी गाउँपालिकाका १ सय ७ जना, कालीगण्डकीका ३४, बिरुवाका ६, आधीखोलाका १५, फेदिखोलाका ५, गल्याङ नगरपालिकाका २० र चापाकोटका २८ जनागरी २ सय १५ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय स्याङजाले जनाएको छ।
योसँगै जिल्लामा संक्रमित संक्रमित भई उपचाररतको संख्या ५६ रहेको छ। तीमध्ये ३ जना भने कोरोना जितेर घर फर्किसकेका छन् भने एक जनाको मृत्यु भैसकेको छ। शुक्रबारसम्म जिल्ला अस्पतालको आइसोलेनमा ३, कालिका सामुदायिक अस्पतालमा एक महिलासहित २८ पुरुष उपचाररत छन्। थप उपचारका लागि भन्दै आइसोलेसनमा रहेका २ जना पोखरामा पठाइएको छ।