गण्डकीमा कोरोना संक्रमितको संख्या १९२ पुग्यो, मणिपालका संक्रमित क्षेत्रीय अस्पताल सारिए
पोखरा : पूर्वी नवलपरासीमा ४ जना नयाँ संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या शुक्रबार मध्याह्नसम्म १९२ पुगेको छ । शुक्रबार मध्याह्न प्रेस विज्ञप्ति जारी गरी गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोद विन्दु शर्माले ४ जना संक्रमित थपिएको जानकारी दिए ।
उनका अनुसार नयाँ संक्रमित गण्डकी प्रदेश, नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), हुप्सेकोट गाउँपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टाइनमा रहेका वर्ष १८, ३२, ५८ र ५९ का ४ जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो ।
नवलपरासीको रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा राखरेर ती संक्रमितको उपचार गरिएको छ । शुक्रबारमात्रै गण्डकीमा संक्रमित ४१ जना थपिएका हुन् । बिहानै ३७ जनामा नयाँ संक्रमित थपिएका थिए । बिहान थपिएका संक्रमित स्याङ्जा, पर्वत, तनुहँ र नवलपुरका थिए ।
उता, कोरोना भाइरस पुष्टि भएका मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत बिरामी पर्वतको कुश्मा ३ का ३५ वर्षे पुरुष पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सारिएका छन् । मोटरसाइकल दुर्घटनाका ती बिरामीमा कोरोना संक्रमण पुष्टि भएको भन्ने शुक्रबार सार्वजनिक भएको थियो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले शुक्रबार पर्वतका तीसहित कोरोना संक्रमित प्रदेशको संख्या शुक्रबार सार्वजनिक गरेका थिए ।
ती बिरामीको टाउकोमा समेत चोट छ । उनको अप्रेसन गर्नुअघि लिइएको स्वाबको परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका आपतकालीन कार्य सञ्चालक केन्द्रका संयोजक नवराज शर्माले जनाए ।'अहिले हरेक बिरामीको अप्रेसन गर्नुअघि स्वाब लिएर कोरोना परीक्षण गर्ने गरिएको छ,' उनले भने ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सरकारले कोरोनाको डेडिकेटेड अस्पताल तोकेको छ । त्यसैले नै मणिपालमा कोरोना पुष्टि भएका बिरामीलाई क्षेत्रीयमा सारिएको शर्माले जानकारी दिए । संक्रमित ती बिरामीलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । कुश्मा नगरपालिका ३ का बासिन्दा ३५ वर्षे ती पुरुषलाई कोरोना भाइरसको संक्रमण कसरी भयो भन्नेचाहिँ खुलेको छैन ।
पछिल्लो तथ्यांक अनुसार शुक्रबारमात्रै प्रदेशमा कोरोना पुष्टि भएकाको संख्या थप ३७ भएको छ। यीसहित गण्डकीमा कोरोना संक्रमित १ सय ८८ जना पुगेका छन् । मनाङ र मुस्ताङबाहेक बाँकी सबै ९ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।
शुक्रबार संक्रमण पुष्टि भएकामध्ये स्याङ्जाका २२, पर्वतका १३, तनहुँ र नवलपुरका १÷१ जना हुन् । अहिलेसम्म गण्डकीमा ११ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये स्याङ्जाका १ जनाको मृत्यु भएको छ।