‘मेयरकै नेतृत्वमा संस्थागत भ्रष्टाचार’

‘मेयरकै नेतृत्वमा संस्थागत भ्रष्टाचार’

भक्तपुर : भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठकै नेतृत्वमा नपामा संस्थागत भ्रष्टाचार बढिरहेको भन्दै नपाकी उपप्रमुख अञ्जनादेवी मधिकर्मीसहित आठजना नगर कार्यपालिकाका सदस्यहरु विरोधमा उत्रिएका छन्।

उनीहरुले कार्यपालिकाको बैठकबाट निर्णय नै नगराई आफ्नो ठाडो आदेशमा २० जना नगर प्रहरीलाई नियुक्ति दिएर नगर प्रमुख श्रेष्ठले आर्थिक लाभ लिएको आरोपसमेत लगाएका छन्।

उप्रमुख मधिकर्मीले शुक्रबार नपाको प्रवेशद्वारमै पत्रकार सम्मेलन गरेर नपाअन्तर्गत सञ्चालन हुँदै आएको नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई सीधै ६ करोड रुपैयाँ निकाशा दिएर प्र्रमुख श्रेष्ठले भ्रष्टाचार, अनियमितता र आर्थिक चलखेललाई संस्थागत गरेको आरोप लगाइन्।

उनका अनुसार नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल गठन आदेश अहिलेसम्म स्वीकृत भएको छैन। उक्त आदेश स्वीकृत नहुँदै प्रमुख श्रेष्ठले अवैधानिक रुपमा ज्ञानकृष्ण कायस्थलाई कार्यकारी निर्देशक नियुक्त गरिएको नपाका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष राम थापामगरले बताए।

अवैधानिक कार्यकारी निर्देशक कायस्थमार्फत नै प्रमुख श्रेष्ठले अस्पतालमा संस्थागत भ्रष्टाचार गर्दै आएको उनको आरोप थियो।

‘नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल ऐनबाट व्यवस्थापन हुनुपर्छ’, वडा अध्यक्ष थापामगरले भने, ‘त्यस्तै अस्पताल सञ्चालनसम्बन्धी कार्यविधि बनाउनुपर्नेमा प्रमुख श्रेष्ठले भ्रष्टाचार गर्न नपाउने तथा आर्थिक चलखेल गर्न नपाउने देखेर कार्यविधि बनाउनेतर्फ ध्यान दिएका छैनन्।’

उनले नपाले भुक्तानी दिने गरी प्रमुख श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत, अवैधानिक कार्यकारी निर्देशक कायस्थ, मेडिकल डाइरेक्टर डीके रौशन र रोटरी क्लवबीचमा सामान खरिद गर्ने गरी अवैधानिक सम्झौता गरिएको समेत जानकारी दिए।

नगर प्रमुख श्रेष्ठविरुद्ध उभिएका आठजना नगर कार्यपालिका सदस्यहरुले नपाभित्र मौलाएको संस्थागत भ्रष्टाचारविरुद्ध कानुनी उपचारमा जानेसमेत चेतावनी दिएका छन्। उनीहरुले कानुनी उपचारसँगै नपाभित्रको आर्थिक भ्रष्टाचारजन्य कार्य र आर्थिक हिनामिनाको सबै विवरण सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

उपप्रमुख मधिकर्मीको साथमा वडा अध्यक्ष थापामगरसँगै ३ नम्बर वडाका अध्यक्ष प्रेमबहादुर कुटू, नगर कार्यपालिका सदस्यहरु सुजाता बाडे, विनु केसी, अरुणा कारञ्जित, चन्द्रावती मिजार र विष्णु परियार रहेका छन्। उनीहरु सबै नेपाली कांग्रेसको तर्फबाट निर्वाचित कार्यपालिका सदस्यहरु हुन्।

त्यस्तै नगर प्रमुख भने तत्कालीन एमालेको तर्फबाट निर्वाचित भएका हुन्। मध्यपुर थिमि नपाका नगर प्रमुख श्रेष्ठसँगै वडा नं. ५ का एमालेबाट अमृतमान श्रेष्ठ निर्वाचित भएका थिए। वडा नं. ७ मा स्वतन्त्र उम्मेदवार कृष्णकुमार प्रजापति र वडा नं. ८ मा नेपाल मजदुर किसान पार्टीको तर्फबाट देवकृष्ण मोय श्रेष्ठ निर्वाचित भएका थिए।

बाँकी वडा नं. १,  ४, ६ र ९ मा कांग्रेसका तर्फबाट क्रमशः सुरज खड्का, कुमार श्रेष्ठ, इन्द्रबहादुर प्रजापति र रामकाजी चक्रधर अध्यक्ष निर्वाचित भएका थिए। बाँकी आठ जना नगर कार्यपालिका सदस्य सबैमा कांग्रेसबाट निर्वाचित भएका थिए। जसअनुसार मध्यपुर थिमि नपाको कार्यपालिकामा कांग्रेसको दुईतिहाइभन्दा बढी मत रहेको छ अर्थात १९ सदस्यीय कार्यपालिकाको बोर्डमा कांग्रेसका १५ जना सदस्य रहेका छन्। तर कांग्रेस विभाजित हुँदा मेयर श्रेष्ठले आफूअनुकूल काम गर्दै आएका छन्।

उपप्रमुख मधिकर्मीको नेतृत्वमा कांग्रेसका आठजना नगर कार्यपालिका सदस्य प्रमुुख श्रेष्ठविरुद्ध लाग्दा बाँकी सात जना कांग्रेस कार्यपालिका सदस्यहरु प्रमुख श्रेष्ठको पक्षमा रहेका छन्। उपप्रमुख मधिकर्मी नेतृत्वका कांग्रेसी बोर्ड सदस्यहरुले प्रमुख श्रेष्ठसँगको मिलिभगतमा कांग्रेसकै अर्को समूहले भागबन्डा लगाउँदै कमिसन हात पार्दै आएको आरोप लगाएका छन्।

उपप्रमुख मधिकर्मीसहित आठजना कार्यपालिका सदस्यहरुले प्रमुखविरुद्ध पत्रकार सम्मेलन गरेपछि शुक्रबार नै नपाको नगर कार्यपालिकाको बोर्ड बैठक बोलाइएको नपाका प्रवक्ता थापामगरले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.