प्रेस काउन्सिलको ५० वर्षे इतिहास समेटिएको पुस्तक प्रकाशन हुँदै
काठमाडौं : प्रेस काउन्सिलको ५० वर्षे इतिहास समेटिएको पुस्तक प्रकाशित हुने भएको छ। काउन्सिल बोर्ड सदस्य संगीता खड्काले शुक्रबार एक कार्यक्रमबीच पुस्तकको पाण्डुलिपी काउन्सिल कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठलाई हस्तान्तरण गरेकी छन्।
प्रेस काउन्सिलको ५० वर्षे इतिहास समेटिएको पुस्तकको ६०० पृष्ठको पाण्डुलिपी प्रकाशनको अन्तिम चरणमा पुगेको हो।
पुस्तकभित्र काउन्सिलको महत्वपूर्ण बोर्ड निर्णय, पत्रकारितासँग सम्बन्धित कानुन, पत्रकार आचारसंहिताको इतिहास, ऐन, नियम, विनियम, संरचनाको विकास तथा विस्तार, पूर्व अध्यक्षको अनुभवसहितको अन्तर्वार्तालगायत विषयवस्तु समावेश गरिएको छ।
काउन्सिलको स्वर्णजयन्तीको अवसरमा पुस्तक प्रकाशन हुन लागेको हो। काउन्सिल बोर्डको पर्याप्त अध्ययन, सुझावपछि पुस्तक प्रकाशन हुने बताइएको छ।
पुस्तक तयार पार्ने जिम्मेवारी सदस्य संगीता खड्का र चेतनाथ धमलालाई दिइएको छ।