बाङ्देलको जीवनीमा मनोमानीको पराकाष्ठा
विश्वप्रसिद्ध बेल्जियम कट हिरा व्यापारको राजधानी मानिने एन्ट्रिप सहरको झिलिमिली हेर्दै हिँड्दा अचानक मेरा आँखा सहरको बीचमा राखिएको एउटा बालक र कुकुरको सालिकमाथि पुगे। सालिक देख्नासाथ कताकता दिमाग झिलिक्क भयो र बाङ्देलको ‘लङ्गडाको साथी’ प्रवेश गर्यो। सम्पदा स्थलमै विवरणसहित वेबसाइटको लिङ्क राखिदिने चलन युरोपका विभिन्न क्षेत्रमा देखेकी थिएँ, यहाँ पनि रहेछ। त्यहाँ पढ्न सम्भव नभएकाले वेबसाइट लिङ्कको फोटो खिचेर त्यहाँबाट हिँडियो। बेलुका घर फर्केपछि लिङ्क खोलेर हेर्दा एउटा बालक र कुकुरको सम्बन्ध चित्रण गरिएको कृति रहेछ, बाङ्देलले मूलपात्रको स्थिति र कथावस्तुलाई केही फरक पारी दार्जिलिङको परिवेशमा ढालेर ‘लङ्गडाको साथी’ उपन्यास लेखेका रहेछन्। त्यसैबेला मलाई अर्काे उत्सुकताले छोप्यो।
अङ्ग्रेजकालीन भारतमा शिक्षा हासिल गरेका बाङ्देलले यो कथा थाहा नपाएका पक्कै होइनन्। त्यसैले यस कथाबाट प्रेरित र प्रभावित भनेर उनले कतै उल्लेख गरेका छन् कि छैनन् होला, मेरो दिमाग त्यता घुम्न थाल्यो। काठमाडौँ आइसकेपछि बाङ्देलसम्बन्धी सामग्री खोजेर पढ्न थालेँ। त्यता अत्यन्त लोकप्रिय रहेको उक्त कथाबाट प्रेरित भएर ‘कुकुरको समाधि’ नामक उपन्यास लेख्न चाहेको कुरा साहित्यकार इन्द्र सुन्दासलाई पत्र लेखेर बाङ्देलले त्यतिखेरै बताएको तथ्य सुषमा आचार्यले उल्लेख गरेकी रहिछन्, ‘मैले कुकुरको समाधि अब उपन्यासकै रूपमा लेख्ने विचार गरेको छु किनभने नुटहेमसनको धेरै वर्षअघि पढेको एउटा अद्भुत उपन्यासले मलाई त्यो लेख्न प्रवृत्त गराइरहेछ। ... कुकुरको समाधिमा कुनै रोमान्स केही रहनेछैन र यसप्रकारको कथा कत्तिको प्रभावशाली हुने हो त्यो विचार गर्ने मेरो विचार रहनेछ।’
अत्यन्त आदर गरेको बाङ्देलको लेखकीय इमानदारी देखेर उनीप्रतिको मेरो श्रद्धाको सगरमाथा अभैm चुलियो। यसबारे थप जान्न उत्सुक भएँ र अन्य सामग्री खोज्न थालेँ।
प्रस्तुत कृतिमा बाङ्देलको ‘माइतघर’ उपन्यासबारे यसरी चर्चा गरिएको छ, ‘माइतघर’ इलामको जनजीवन, वस्तुस्थिति र परिवेशले ढाकेको उपन्यास हो। बाङ्देलले इलाम नदेखे तापनि सुनेका आधारमा उनलाई इलाम प्यारो लाग्छ’।
‘माइतघर’ उपन्यास इलामको जनजीवन, वस्तुस्थिति र परिवेशले ढाकेको उपन्यास होइन। प्रमुख पात्र सानी र उसकी आमा रत्ना उनीहरूका छिमेकी सुबेदार्नीसँग बिदा माग्न गएका बेला भएको संवादमा ‘इलाम जान लागेको’ र पछि फर्केर आउँदा ‘इलामबाट आएको’ जानकारी दिने सन्दर्भमा जम्मा पाँचपटक यो शब्द प्रयोग भएको छ। प्रस्तुत उपन्यासमा इलामबारे यसबाहेक अन्य कुनै सन्दर्भको सङ्केतससम्म पनि पाइँदैन। इलामको जनजीवन, वस्तुस्थिति र परिवेशले ढाकेको सङ्केत यस उपन्यासको कुन अनुच्छेद, वाक्य तथा शब्दमा भेटिन्छ, त्यसलाई पुष्टि गर्न म चुनौती दिन्छु। स्मरण रहोस्, प्रस्तुत उपन्यासमा इलामको नभएर दार्जिलिङको राजबाडी गाउँको परिवेश चित्रित छ। सानो साइजको १०२ पृष्ठमा संरचित उपन्यासै नपढी लेखिदिएको यस्तो विवरण स्वयं बाङ्देलले देखेका भए कस्तो प्रतिक्रिया व्यक्त गर्थे होलान् कुन्नि ?
अझ ‘लङ्गडाको साथी’ उपन्यासको विश्लेषण गर्दै एउटा पुराणै तयार गरिएको रहेछ :
‘लङ्गडाको साथी’ एउटा रोचक र घोचक कथाले बेरेर तयार पारिएको औपन्यासिक प्रसाद हो। यस प्रसादले नेपाली साहित्यमा अति यथार्थवादी चित्रणको उत्कृष्ट परिणाम दिएको छ। यस उपन्यासले पशु र मान्छेको अन्तर्सम्बन्धलाई प्राणीशास्त्रको इतिहासमा नै सुरक्षित राखेको पाइन्छ।
‘लङ्गडाको साथी’ पूर्वी नेपालका बेरोजगार किशोर र युवाहरूको कथामा आधारित सामाजिक उपन्यास हो। दार्जिलिङमा उनीहरू काम खोज्न चियाबगान गएको बेलाका कथन ‘लङ्गडाको साथी’मा आबद्ध छ। वास्तवमा भौगोलिक रूपबाट दार्जिलिङ भारतमा परे तापनि भावनात्मक दृष्टिले त्यस ठाउँलाई नेपालीले आफ्नै ठान्ने र मान्ने गर्छन्। त्यही परिवेशलाई ढाडमा बोकेर बाङ्देलले उक्त उपन्यासको आविष्कार गरेको पाइन्छ।
सम्बन्धित लेखकका साना आकारका एउटै कृति पनि नपढी आधिकारिक जीवनी लेखनका नाममा मनोमानीको पराकाष्ठा देखाउने नरेन्द्रराज प्रसाईंहरूलाई के भन्ने ?
दार्जिलिङलाई सुदूर ठाउँ भनिन्छ तर त्यो नेपालीहरूकै एउटा ठाउँ मानिन्छ। नेपालबाट दुक्ख पाएर दार्जिलिङ पुगेका नेपालीहरू त्यहीँका चियाकमानमा बाँचेका छन्। त्यही परिवेशलाई दृष्टिगत गरेर बाङ्देलले ‘लङ्गडाको साथी’ लेखेका थिए। यस उपन्यासमा आधारित मुग्लान भन्ने शब्द मङ्गोल जातिबाट आएको बेहोरा बाङ्देलबाट ज्ञात हुन्छ। वास्तवमा त्यस ठाउँमा गएका अधिकतम गरिबहरू मङ्गोलियन जातका मान्छे नै हुन्थे। सेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बू (सेतामुगरालि) हरूको घना बस्ती पनि दार्जिलिङका चियाकमानहरू नै मानिन्छन्। जुन ठाउँमा प्रायः मेची, कोसी र सगरमाथा अञ्चलका नेपालीहरू बसोबास गर्ने गर्छन्। त्यहाँका नेपालीहरूले नेपाललाई छातीमै पोको पारेका हुन्छन्। ‘जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ’ भन्ने कुरा तिनीहरूलाई थाहा भए तापनि विवशतामा च्यापिएर हातमुख जोड्ने हिसाबले नेपालीहरू त्यहाँ कार्यरत हुन्थे। त्यहीँका नेपालीका पीरमर्का, दुक्ख, वेदनालाई ‘लङ्गडाको साथी’ले प्रकाश पारेको पाइन्छ।’
‘लङ्गडाको साथी’ उपन्यासबारे यस्तो लेखिएको देख्दा अल्लारे विद्यार्थी कालमा परीक्षा पास गर्ने धुनमा मात्र पढिएको भए त्यतिखेर गम्भीर भएर पढिएनछ कि भनेर आपैmँसँग शङ्का लाग्नसक्थ्यो। भारतको गौहाटी विश्वविद्यालयको पाठ्यक्रममा यो उपन्यास संलग्न गर्दा अत्यन्त गम्भीरताका साथ पढेको र पाठ्यपुस्तक लेखनका सिलसिलामा विश्लेषण पनि गरिएकै थियो, तैपनि यत्रो विशाल कायको पुस्तक तयार पार्नेले यति ठूलो मनोमानी त गर्नु नपर्ने। कुरो र कुलो जता पनि लान सकिने उखान सम्झेर माथिको विवरणलाई सङ्केत गर्ने कुनै शब्दको प्रयोग कतै भएको छ कि भनेर पुनः तीनपटक यो उपन्यास पढेँ, तर... !
प्रस्तुत उपन्यास त्यहाँको पाठ्यक्रममा समाविष्ट गर्दा मेरो प्रत्यक्ष संलग्नता रहेको जानकारी पाएर डिना बाङ्देलले मलाई पटकपटक फोन गरेर कृतज्ञता जाहेर गरेकी पनि थिइन्। फोनकै क्रममा उनले नेपाली लेखकप्रति पर्याप्त गुनासो गर्दै आक्रोशसमेत व्यक्त गरेकी थिइन्, त्यति बेला कुरो बुझेकी थिइन, अहिले स्पष्ट भयो।
‘लङ्गडाको साथी’ माथि उल्लेख गरिएजस्तो नभई अशक्त, निःसहाय एवं अपहेलित एउटा मान्छेको दयनीय अवस्था र कुकुरसँग भएको उसको सम्बन्धमा आधारित उपन्यास हो भन्ने कुरा नेपाली साहित्यबारे सामान्य रुचि राख्ने बच्चाबच्चालाई समेत जानकारी भएको कुरा हो। सानो साइजको ८० पृृष्ठमा संरचित यति सर्वसुलभ उपन्याससमेत पढ्ने कष्टै नगरी गरिएको यस्तो विश्लेषणमाथि प्रतिक्रिया व्यक्त गर्ने शब्द कुनै पाठकले खोजेर पनि भेट्टाउँदैन।
अत्यन्त साना साइजका १०२ र ८० पृष्ठमा संरचित उपन्याससमेत पढ्न नसक्नेले यीभन्दा अलि ठूलो आकारको १४४ पृष्ठको उपन्यास पढ्ने अपेक्षा गर्नु र पढेको अनुमान गर्नु पनि मुख्र्याइँ नै हुनेछ। त्यसैले बाङ्देलको चौथो उपन्यास ‘रेम्ब्रान्ट’का विषयमा उल्लेख गरिएका तथ्य पनि मनोमानीपूर्ण एवं हावादारी नै हुनु अस्वाभाविक भएन। ‘रेम्ब्रान्ट’बारे यसमा उल्लेख गरिएको छ, ‘रेम्ब्रान्ट डेनमार्कका सुप्रसिद्ध चित्रकार थिए। उनका विषयमा बाङ्देलले पेरिस र लन्डनमा प्रशस्तै अध्ययन गरेका थिए। रेम्ब्रान्ट चित्रकार हुन् भन्ने ज्ञात भएपछि बाङ्देल रेम्ब्रान्टको घर हेर्न डेनमार्क नै गए। त्यहाँ सरकारले ‘रेम्ब्रान्ट सङ्ग्रहालय’ खोलेको रहेछ।’
विश्वप्रसिद्ध चित्रकार रेम्ब्रान्ट हारमनजुन भ्यान रिन डेनमार्कका नभएर नेदरल्यान्डका हुन्। १६०६ जुलाई १५ मा नेदरल्यान्डको लेइडन सहरमा जन्मेका रेम्ब्रान्ट पछि राजधानी अम्सटरड्यामलाई कर्मथलो बनाएर कलाको साधनामा समर्पित भएका थिए। अन्यत्र उल्लिखित रेम्ब्रान्टको जीवनीलगायत बाङ्देलको प्रस्तुत उपन्यासमा समेत रेम्ब्रान्टले डेनमार्क टेकेकोसम्म पनि सङ्केत भेटिँदैन अर्थात् कुनै पनि विदेशी भूमि नै नटेकी उनको इहलीला समाप्त भएको थियो। यसैगरी डेनमार्कमा ‘रेम्ब्रान्ट सङ्ग्रहालय’ भएको जानकारी कतै पनि पाइँदैन। विश्वप्रसिद्ध यस्ता सत्यतथ्यलाई समेत यसरी तोडमोड गरेर गलत विवरण लेखिदिँदा सम्बन्धित लेखकलाई मिल्ने तुष्टिचाहिँ कस्तो हुन्छ कुन्नि ?
प्रस्तुत कृतिमा जीवनी लेखकको मात्र नभएर प्रुफ रिडर तथा भाषा सम्पादकको पौरख पनि उत्तिकै उल्लेखयोग्य रहेको कुरा पुस्तकको भूमिकाबाट ज्ञात हुन्छ। ‘तीक्ष्ण बौद्धिक सल्लाहसमेत दिने’ भनेर प्रशंसित यस कृतिका प्रुफ रिडर तथा भाषा सम्पादक भनिएका गुरु जिन्दगीभर विद्यार्थीलाई लैनसिंह बाङ्देलका औपन्यासिक प्रवृत्ति घोकाउँदै उनका औपन्यासिक पङ्क्तिको सप्रसङ्ग व्याख्या गराएर विद्वान्, प्राध्यापक, प्राज्ञ (?) मा दरिएका हुन्। जिन्दगीभर आफूले के पढाएँ भनेर पत्तो नपाउने विद्वान् प्राज्ञ यस धर्तीमा खोजेर पनि कहाँ पाइएला र खै ? जसले जसरी लापरबाही गरेको भए पनि सिङ्गो कृति तयार पार्दासमेत यसप्रकारका अक्षम्य मिथ्याङ्कको ओइरो लगाएपछि सक्किगो नि।
आर्थिक, भौतिक, प्राज्ञिक दृष्टिले जीवन सङ्घर्षको चरणमै रहेका बेला उपन्यास लेखेर बाङ्देलले नेपाली उपन्यासमा गरेको योगदान अतुलनीय छ। आदर्शवादी एवं स्वच्छन्दतावादी प्रवृत्तिबाट नेपाली उपन्यासलाई यथार्थवादतर्पm उन्मुख गराउने स्रष्टा हुन्, उनी। नेपाली उपन्यासमा अतियथार्थवादी धाराको प्रवेश गराउने श्रेय पनि उनैलाई प्राप्त छ। प्रेरक व्यक्तिको जीवनीलाई औपन्यासिक संरचनामा आबद्ध गर्ने कार्यको थालनी पनि नेपालीमा उनैबाटै भएको हो। एक्लो व्यक्तिले छोटो अवधिमै साहित्यको विकासमा यसप्रकारको उल्लेखनीय योगदान पुर्याएको स्थिति विश्वसाहित्यमै पनि बिरलै मात्र देखिन्छ।
नेपालीमा सबभन्दा धेरै पढिने, पढाइने तथा अन्तर्राष्ट्रिय स्तरमै सर्वोच्चता हासिल गरेका प्रतिभा हुन् बाङ्देल। उनका ‘मुलुकबाहिर’, ‘माइतघर’ र ‘लङ्गडाको साथी’ उपन्यासको सप्रसङ्ग व्याख्या गरेरै नेपाल र भारतका लाखौँ व्यक्ति उच्चशिक्षित भएका हुन्। अहिले पनि यी दुवै देशका विभिन्न विश्वविद्यालयमा वर्षेनि हजारौँ विद्यार्थीले औपचारिक शिक्षाको प्रयोजनार्थ उनका उपन्यास पढिरहेका छन्।
सिङ्गो उपन्यासको इतिहासमा अतुलनीय योगदान दिएका व्यक्ति अनि बहुदेशीय विद्यार्थीको ठूलो सङ्ख्याले अनिवार्य रूपमा वर्षेनि पढिरहेका पुस्तकहरूको त यस्तो दुर्दशा गरिन्छ भने प्रस्तुत कृतिमा उल्लिखित अन्य सन्दर्भमा कति मनोमानी होला, पाठक स्वयंले अनुमान गर्नसक्ने कुरा हो। अर्काेतर्पm यति धेरै पाठक साथमा भएका अनि सहज रूपमा प्राप्त हुने उनका लोकप्रिय कृतिबारे त यस्ता मनगढन्ते कुरा लेखिन्छ भने अन्य लेखकहरूका अमूर्त प्रेम र कोठाभित्रका गोप्य यौनसम्बन्धबारे लेखिएका सन्दर्भलाई विश्वास गर्ने आधार के हो भनेर कुनै पाठकले सोध्यो भने सम्बद्ध लेखकबाट दिइने उत्तर के हुन्छ होला ? यस दृष्टिबाट हेर्दा यसप्रकारका अमूर्त प्रेम र यौनसम्बन्धको चर्चा झुर फिल्मी मसलाभन्दा खासै फरक देखिँदैन।
महान् उपन्यासकार बाङ्देललाई श्रद्धा गर्ने पाठक नै तिल्मिलाउने यसप्रकारका प्रस्तुतिले पुस्तकै नदेखी नहेरी हावादारी विश्लेषण गर्न माहिर नेपाली साहित्यका केही विद्वान् समालोचक एवं अन्वेषकहरूलाई चाहिँ ‘हाम्रो कोरम बढ्दैछ’ भनेर निकै खुसी तुल्याएको हुनुपर्छ। कोरम बढोत्तरी भएकामा बधाइ छ अन्य हावादारी विद्वान्हरूलाई अनि भाषा सम्पादनका नाममा ‘तीक्ष्ण बौद्धिक सल्लाह’ समेत दिनसक्ने प्रतिभाशाली महान् गुरु एवं प्राज्ञलाई पनि।
चासो यहाँ एउटा व्यक्तिले के लेख्यो भन्ने होइन, यसखाले कृति मात्र भेटिने र अन्य सामग्री अप्राप्य हुने अवस्थामा आउने पुस्ताका लागि हामीले सुरक्षित गरिदिने सामग्री यस्तै हो त ? चिन्ता यहाँ यस प्रश्नबाट उब्जिएको हो। काम गर्दा असावधानीवश हुनजाने तथ्याङ्कगत एवं तिथिमितिसम्बन्धी त्रुटि तथा भाषिक कसरमसरलाई ‘आइस्लिप’, ‘पेनस्लिप’ मानेर स्वाभाविक रूपमा लिन सकिए पनि यसप्रकारको मनोमानीको पराकाष्ठालाई दिइने विशेषण के हुन्छ होला ? बाङ्देलका कृति पढेर उनीप्रति आदरभाव राख्ने पाठकहरूलाई दिउँसै तारा देखाउने यसप्रकारका विश्लेषणले भविष्यका लागि सुरक्षित राख्नुपर्ने नेपाली साहित्यको हालत के होला त ?
सम्बद्ध स्रष्टाप्रति अत्यन्त श्रद्धा नभई जीवनी कुनै हालतमा पनि लेख्न सकिँदैन। श्रद्धेय सेलिब्रेटीप्रति सम्मान गर्दै आउने पुस्तालाई उनीहरूबारे जानकारी दिनु नै जीवनी लेखनको अभीष्ट हो। बाङ्देलजस्ता लोकप्रिय स्रष्टाको सर्वसुलभ एवं लोकप्रिय एउटै पुस्तक पनि पढ्न नसक्ने व्यक्तिलाई यति ठूलो आकारको जीवनी लेख्न प्रेरित गर्ने तत्व के होला ? यस्ता कपोलकल्पित एवं हावादारी रूपमा लेखिएको जीवनीले नेपाली उपन्यासको विकासमा अतुलनीय योगदान गर्ने बाङ्देलको सम्मान हुन्छ कि अपमान ?
यस सन्दर्भमा यहाँ नरेन्द्रराज प्रसाईं स्वयंद्वारा लिखित ‘सहोदरी ठुङ’ शीर्षक कृतिमा समाविष्ट ‘डाडु’ शीर्षक लेखमा अभिव्यक्त अनुच्छेद उल्लेखयोग्य देखिन्छ, ‘नेपालमा कुनै लेखकका पुस्तकमा धेरैजसो समीक्षकले लेखेको भूमिका हावामा बहकिएर लेखिएका हुन्छन्। साथै विमोचन, लोकार्पण अर्थात् पुस्तक सार्वजनिक गरिने कार्यक्रममा धेरजसो वक्ताहरूले सम्बद्ध किताबभित्र प्रवेश गरेका नै हुँदैनन्। वास्तवमा नेपालमा डाडु समीक्षक र सम्पादक धेरै छन्। उनीहरूले डाडुले तरकारी चलाएका नै हुन्छन् तर चाखेका चाहिँ हुँदैनन्।’
नरेन्द्रराज प्रसाईंको उक्त भनाइ हेर्दा अर्कालाई आरोप लगाउनु जति सजिलो काम यस धर्तीमा अर्काे कुनै हुँदैन भन्ने पुष्टि हुन्छ। सम्बन्धित लेखकका साना आकारका एउटै कृति पनि नपढी आधिकारिक जीवनी लेखनका नाममा मनोमानीको पराकाष्ठा देखाउने यसखाले लेखनलाई दिइने विशेषणचाहिँ कस्तो होला कुन्नि ?