कोरोना, हेस्से र सिद्धार्थ

कोरोना, हेस्से र सिद्धार्थ

म बसेको ठाउँमा कोरोनाको बन्दाबन्दी चौथो महिनामा प्रवेश गर्दैछ। मानिसहरू त्रस्त छन् तर त्यो भन्दा बढी आजित र व्यग्र छन्। निश्चिन्त र अविचलित हुन निक्कै गाह्रो छ। भयभीत मनस्थितिले गर्दा कहिलेकाहीँ मेरो पनि निद्रा खुल्छ त्यत्तिकै मध्यरातमा। अनि मनमा विभिन्न प्रश्न उब्जिन थाल्छन्- के जीवन अर्थपूर्ण छ ? मृत्यु अवश्यम्भावी छ तर पनि यो किन असहज छ ? ईश्वर छ ? आदि, आदि। फेरि आफूलाई सम्हाल्छु र भन्छु- मैले सही कुरा सोच्नुपर्छ, संयम हुनुपर्छ, पर्खनुपर्छ। सोच्ने र पर्खने विचार बारम्बार आइरहँदा मलाई हर्मन हेस्सेको उपन्यास सिद्धार्थको याद आउँछ। हर्मन हेस्से, १९४६ मा साहित्यमा नोबेल पुरस्कार प्राप्त जर्मनीका प्रसिद्ध उपन्यासकार। पहिलोपल्ट उनलाई मैले चिनेको १९९० मा पुरानो दिल्लीको फुटपाथमा हो। त्यो बेलाको विद्यार्थी जीवनमा हावडा-अमृतसर र लाहोर-कराची रुटमा चल्ने रेलको लामो र दिग्दारलाग्दो यात्रा गर्नुपर्थ्यो। गफ गरेर र तास खेलेर अघाएपछि हामी फिल्मफेयर जस्ता पत्रिका र उपन्यास पढ्न थाल्थ्यौँ, रेलमा समय व्यतीत गर्न।

एकपल्ट चाहिँ रेलको सट्टा बसबाट यात्रा गर्ने विचार गर्यौं, उत्तर भारत घुम्ने हिसाबले। यसै क्रममा पुरानो दिल्लीमा घुमिरहँदा मैले फुटपाथमा बिक्रीका लागि राखेका पुराना किताबको चाङ देखेँ। सबैभन्दा माथि राखेको सिद्धार्थ नामको उपन्यासमा आँखा टक्क अडियो। आवरण पृष्ठमा गौतम बुद्धको कंकाल जस्तो देखिने शरीरको आकर्षक चित्र। बौद्ध धर्मसम्बन्धी जानकारी बढ्ला कि भन्ने विचारले पन्ना पल्टाएर सर्सर्ती हेर्दै जाँदा यो उपन्यास रहेछ भन्ने थाहा भयो, जसले थप कौतूहलता बढायो। छेउमा हर्मन हेस्सेद्वारा लेखिएका ‘जर्नी टु द इस्ट’ र ‘स्टेपेंवुल्फ’ भन्ने अरु दुई किताब थिए। ती पनि किन्न मन लागेर दाम सोद्धा हरेक किताबको दुई रुपियाँ भनेर जवाफ दियो। नयाँमा झन्डै पचास रुपियाँ पर्ने किताब त्यति सस्तोमा पाउँदा नकिन्ने कुरै भएन। त्यसपछि फ्रिट्जोफ् काप्राको ‘टाओ अफ् फिजिक्स’ र गेरी जुकावको ‘डान्सिङ वुली मास्टर्स’ पनि पोको पार्न लगाएँ। यी किताब र लेखकका नाम मैले पहिले सुनेको थिइनँ। सस्तो भएकाले मात्रै किनेको थिएँ, यात्रामा समय बिताउन सजिलो होला कि भन्ने विचारले। पछि थाहा भयो, कति युगान्तकारी रहेछन् यी किताब।

सबैभन्दा पहिले सिद्धार्थ पढेँ, एकै सासमा। उपन्यासको कथावस्तु एकदम सरल भए पनि समष्टिमा यसले दिने सन्देश निक्कै रहस्यमयी र अर्थपूर्ण लाग्यो। हरेक वाक्यहरू कविता जस्तै सुमधुर, सुललित। अंग्रेजीमा यति रसिलो किताब मैले पहिले पढेकै थिइनँ। दोहोर्‍याएर, तेहर्‍याएर पढेँ कुनै कुनै प्याराग्राफहरू अनि आँखाचिम्म गरेर कल्पना गरेँ सिद्धार्थ, कमला, गोविन्द, कामस्वामी, वासुदेव र तथागत बुद्धलाई। बोलिहाल्लान् कि जस्तो गरेर सबै पात्रहरू जीवन्त हुँदै आए मानसपटलमा। घटनाक्रमहरू पनि भर्खरै घटे जसरी आँखा अगाडि आए र अन्त्यमा यौटा गहिरो सत्य, चैतन्य र आनन्दको अनुभूति छाडेर गए। गए नै भनेर सायद म भन्न सक्तिनँ किनभने ती पात्रहरू अझै पनि जिउँदै छन् म भित्र। कोरोनाले थुनिएको बेला मैले धेरैपल्ट सिद्धार्थलाई सम्झिएँ, ऊ के गथ्र्याे होला यस बखत ? कामस्वामीले सिद्धार्थलाई सोधेको थियो, मेरो व्यापारमा सहयोग गर्न सक्ने तिम्रो योग्यता र खुबी के छ ? अनि सिद्धार्थले निसंकोच भनेको थियो, ‘म सोच्न सक्छु, म पर्खन सक्छु, म भोकै बस्न सक्छु।’ यस्तै गथ्र्याे होला सायद सिद्धार्थ अहिले पनि। 

हामी फटाफट त्यता लम्कियौँ र केही क्षणमै उनको जन्मघरअघि उभिन पुग्यौँ। भावुकताले गला अवरुद्ध भयो, श्रद्धाले आँखाबाट आँसु झरे। 

जुनसुकै अवस्थामा पनि सोच्न नछोड्नु सजिलो छैन। सोचाइको निश्चय नै सीमा छ तर त्यो सीमासम्म पुग्नलाई सोच्नु नै पर्छ पहिले। जब सोचाइ सकिन्छ, तब मात्रै सोचाइभन्दा परको अर्को यात्रा सुरु हुन्छ। विदेशको यात्रा गर्नलाई स्वदेशको सिमाना काटेजस्तै। अध्यात्मतिर उन्मुख छन्, हेस्सेका जम्मै उपन्यास। तीमध्ये सिद्धार्थ सबैभन्दा सरल, सशक्त र सनातन छ। अध्यात्म भनेको तर्क र विज्ञानको विरोध पटक्कै हैन। विज्ञान श्यामश्वेत रङले सत्य र असत्यको सीमा कोर्छ अनि इमानदारीपूर्वक आफूले कोरेको सीमाभित्र बसिरहन्छ। सीमाबद्ध भएकाले विज्ञान हत्पती हराउँदैन। निश्चिन्त बस्नलाई जसरी सिमाना भएको देश सबैलाई चाहिन्छ, विज्ञान पनि त्यसरी नै सबैलाई चाहिन्छ। तर कसै कसैलाई विज्ञानले दिन नसक्ने कविता, चेतना र ईश्वरको आनन्द पनि चाहिन्छ। विज्ञानको परिधिबाट निस्केपछि अध्यात्मको क्षेत्र सुरु हुन्छ तर सबैलाई विदेश घुम्ने रहर नभए जस्तै अध्यात्मको रहर पनि सबैलाई हुँदैन। अध्यात्मतिर तानिनेहरू अस्तित्वको आकाशमा विचरण गर्ने चरा हुन्, उनीहरू हराउन सक्छन् तर धेरै टाढा कोही नपुगेको ठाउँमा पुग्न पनि सक्छन्। त्यसैले विज्ञान र अध्यात्मको अन्तर भनेको कहाँ र कति घुम्ने भन्ने मात्रै हो।

‘तिनीहरूले पनि सेवा गर्छन् जो फगत् खडा हुन्छन् र पर्खन्छन्।’ मिल्टनले भनेको यो वाक्य स्कुल पढ्दा सुनेको भए पनि अर्थ चाहिँ सिद्धार्थ पढेपछि मात्र बुझे जस्तो लाग्यो। पर्खनु, धैर्य गर्नु, द्वन्द्वरहित हुनु (कत्ति आवश्यक छ जीवनलाई सहज बनाउन। प्रतिक्रिया गर्न, उद्विग्न हुन करोडौँ अवसर छन् अचेल हामीसँग। कहिलेकाहीँ प्रतिक्रिया आवश्यक पनि होला, जीवन रक्षार्थ तर लामो दौडमा हामीले धेरै पल्ट पर्खनु नै पर्छ। जन्मिनलाई नौ महिना पर्खिनुपर्छ। रोप्नलाई असार र बाली काट्नलाई मङ्सिर पर्खनु पर्छ। सामान्य दिनचर्यामा पनि जब हामी पर्खन्छौं ( हामी फुर्सदमा यस्ता दृश्य देख्छौँ जुन हतारमा देख्तैनौँ। चराको चिर्बिर, हावाको सिर्सिर, बादलको टुक्रा, फूलको रङ्ग, माटोको गन्ध, शीतको थोपा– हतारमा अनुभूत हुँदैनन् यी केही पनि। सुन्न, हेर्न, भोग्न यिनीहरूलाई– अडिनुपर्छ निद्र्वन्द्व, एकाग्र, स्थिर भएर। त्यसैले देवकोटाले कतै लेखे, सुस्तरी सास फेर।

कोरोनाले कोठामा कैद छौँ अहिले हामी, अनि नाना थरीका परिकार बनाएर, खाएर आफूलाई व्यस्त र प्रफुल्लित राख्ने चेष्टा गरिरहेछौँ। स्वाभाविक जस्तो लागे पनि वास्तवमा यो इन्द्रियको अस्वाभाविक तुष्टिकरणद्वारा मनको व्यग्रतालाई साम्य गर्ने प्रयत्न मात्रै हो। इन्द्रियजनित आनन्दको सीमा छ, त्यसैले त्यो अडिन सक्तैन धेरै बेर। चेतनाको भाषा सूक्ष्म हुन्छ, इन्द्रियको भाषा स्थूल। भोको बस्दा आफ्नो इन्द्रियले गरेको विद्रोहलाई साक्षी बसे जसरी निर्विकार हेर्न सकियो भने अनुभूतिको अर्को संसारमा पुग्न सकिन्छ। भोको बस्न सक्नु सोचाइ, पर्खाइ र संयमको सर्वोच्च अभिव्यक्ति हो। अघाएकाहरूका निम्ति उपबास एउटा उपलब्धी, यौटा क्षमता हो। जो सधैं भोकै छन्, उनीहरूलाई भोको हुन नदिनु नभोकाएकाहरूको दायित्व हो। कहिलेकाहीँ भोकै बस्दा म सिद्धार्थ सम्झिन्छु, कहिलेकाहीँ सिद्धार्थ सम्झिन्छु र भोकै बस्छु। 

‘अनि एकाग्र भएर सिद्धार्थले जब नदीलाई सुन्यो, हजारौं आवाजहरू मिसिएको यो गीत, तर बेदना र हर्षका ध्वनिलाई छुट्टाछुट्टै नसुनेर, यौटा विशेष आवाजमा मात्र नडुबेर, सबै आवाजलाई तिनीहरूको सम्पूर्णतामा, एकत्वमा जब उसले सुन्यो, हजारौं आवाजहरू मिसिएर बनेको त्यो महान् गीत एउटा शब्द बन्यो– ओम्।’ समष्टिमा मात्रै जीवनलाई बुझ्न र अनुभूत गर्न सकिन्छ, त्यही समष्टिको नाम नै अध्यात्म हो। सिद्धार्थपछि हर्मन हेस्सेका अरु धेरै किताब मैले खोजी खोजी पढेँ र बिस्तारै उनी मेरो सबैभन्दा प्रिय लेखकका रूपमा स्थापित हुँदै गए। उनी कहाँ जन्मिए, कसरी हुर्किए, जिन्दगीमा के के भोगे भन्ने कौतूहल पछिसम्म धेरथोर छँदै थियो। म आफू स्वयं पनि जीवन नामको समुद्रमा कहाँबाट कहाँ हेलिँदै, बग्दै, तैरिँदै गरिरहेको थिएँ।

यस्तैमा २०१५ जुलाइमा एउटा सम्मेलनका निम्ति जर्मनी जाने अवसर मिल्यो। न्युरेम्बर्गमा बसेको मेरो सानिमाको छोरो सञ्जयलाई हेस्सेबारे सोधेँ, उसलाई थाहा रहेनछ। गुगल गरेर हेर्दा ऊ बसेको ठाउँभन्दा करिब तीन घण्टा पर पर्दो रहेछ। कोल्फ भन्ने हेस्से जन्मिएको ठाउँ, जुन मेरो मामाको छोरो सञ्जीव बस्ने स्टुट्गार्ट सहरबाट करिब ४५ मिनेट मात्रै पर रहेछ। सञ्जयले हाँकेको गाडीमा बसेर न्युरेम्बर्गबाट करिब दुई घण्टामा हामी स्टुट्गार्ट पुग्यौँ र त्यहाँ सञ्जीवको परिवारसँग बसेर दिउँसोको खाना खायौँ।

त्यसपछि जीपीएसमा हेस्सेको जन्मस्थानको ठेगाना हालेर हामी तीन दाजुभाइ पहाडै पहाडको बाटो हुँदै कोल्फतर्फ लाग्यौं। हरियो डाँडामा निष्फिक्री चरिरहेका गाईहरू, चिटिक्क परेका रङ्गीचंगी घरहरू, साना साना बजारहरू, अनि अलिक पर डाँडामा एक्लै उभिएका उदास, उदास चर्चहरू। यी सबै दृश्यहरू हेर्दै, यौटा गहिरो आनन्दको अनुभव गर्दै हामी कोल्फको मध्यबजार पुग्यौं। त्यहाँ पुगेर हेस्सेको घर सोध्दा अलिक माथि नै पुग्नुपर्छ भनेर एक बूढी महिलाले भनिन्। नभन्दै करिब १५ मिनेट जति हिँडेपछि हेस्सेको घर यता पर्छ भनेर लेखिएको संकेत चिह्न देखा पर्‍यो। मुटु ढक्क फुल्यो उत्तेजनाले।

एउटा ठूलो अपेक्षा राखेर हामी फटाफट त्यता लम्कियौँ र केही क्षणमै उनको जन्मघरअघि उभिन पुग्यौँ। भावुकताले गला अवरुद्ध भयो, श्रद्धाले आँखाबाट आँसु झरे। 
उनी जन्मिएको घरलाई म्युजियम बनाइएको रहेछ जहाँ उनका जीवनका फोटाहरू, उनले प्रयोग गरेका सामानहरू र पाण्डुलिपिहरू प्रदर्शनका निम्ति राखिएका रहेछन्। उनको लेखनकक्षमा जतनका साथ राखिएको, कालो मसीमा लेखिएको सिद्धार्थको पाण्डुलिपिलाई मैले नमस्कार गरेको देख्ता म्युजियमको सुरक्षार्थ खटिएकी केटी मुसुक्क हाँसी। प्रत्युत्तरमा मुस्काउँदै कृतज्ञ भएर करिब एक घण्टापछि हामी पनि त्यहाँबाट निस्कियौैँ। बाटोमा निकोलस पुल पर्दो रहेछ, जहाँ हेस्सेको कथन खोपिएको थियो, ‘फेरि कोल्फ आएँ भने यही पुलमाथि म धेरै बेर बस्नेछु, यो सहरको सबैभन्दा प्रिय ठाउँ हो मेरा लागि।’ पुलमा राखिएको हेस्सेको पूर्ण कदको सालिकसँग फोटो खिचेपछि एकपल्ट ग्वाम्लाङ्ग अँगालो मारेर बूढासँग बिदा भइयो, फेरि पनि आउन र भेट्न पाऊँ भन्दै। 

अहिलेको कठिन परिस्थितिमा प्रेम, भावुकता र सौहार्दताले ओतप्रोत हेस्सेका कालजयी उपन्यासहरूले हामी सबैलाई मार्गदर्शन गर्न सक्छन्। आत्मचेतनाको मार्गमा एक्लै हिँड्न उद्यत गर्दै पूर्वतिरको यात्रामा उनी हामीलाई सम्झाउँछन् : 

जो टाढासम्म यात्रा गर्छ, उसले अक्सर देख्ने गर्छ
आफूले विश्वास गरेको सत्य भन्दा परका कुराहरू।
जब घर फर्केर ऊ अरुलाई भन्छ, उसलाई ढाँटेको अभियोग लगाइन्छ।
किनकि आफैँले नदेखीकन र महसुस नगरीकन ढिपी गर्नेहरू विश्वास गर्दैनन्।
अनुभवहीनताले गर्दा, मलाई लाग्छ, मेरो गीतमा थोरै मात्र विश्वसनीयता छ। 

(भण्डारी अध्यात्म र साहित्यमा रुचि राख्छन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.