रसिकको आकाशगंगा

रसिकको आकाशगंगा

छेप्पन। यो शब्द मेरा लागि नयाँ चाहिँ होइन। बिर्सिएको पनि होइन। मैले भन्न छाडेको मात्रै हो। थुप्रै भयो। म सानु छँदा, मलाई कसको छोरा भनेर सोध्नेहरूलाई थाहा छ। म यसै भन्थे। छेप्पन अथवा तिरासी छेप्पन।

पञ्जाबको केन्द्र अमृतसर। अमृतसरको कुन कुनामा हो ? अहिले अनुमान पनि गर्न सक्दिनँ। त्यहाँ भारतीय स्थल सेनाको बेसक्याम्प थियो। त्यो क्याम्पमा गोर्खा रेजिमेन्टको ५÷११ पल्टन बसेको बेलातिर हो। मेरो दुई ढाई वर्ष त्यहीँ बित्यो। हामी बसेको फ्यामिली क्वार्टरमा इन्दिरा गान्धीको तिलचाम्ले कपालमा खिचिएको फोटो थियो। फोटो मुन्तिर सायद सन् १९८० या १९८१ को क्यालेन्डर झुण्डिएको हुन्थ्यो। 
हो, त्यही बेला म मेरो बुवाको नाम हैन, नम्बर भन्थेँ। तिरासी छेप्पन।

‘छेप्पन’ले मेरो बालापन सम्झायो। अनि एकपल्ट निर्बोध समयलाई सम्झायो। मन पुरानो दिनतिर पुगे पनि अहिले भने म गणेश रसिकको उपन्यास आकाशगंगाको ओतमुनिबारे चर्चा गर्दैछु।
यो उपन्यास त्यो बेलाको कथा हो, जतिबेला नेपालमा ‘बन्द’ राजनीतिक व्यवस्था थियो। उपन्यास तेत्तीस सालतिर लेखिएको हो। उपन्यास पूर्वी मधेसको चारकोसे झाडी फडान गरी बस्ती बसाउन सुरु हुँदाको कथा हो। झाडी फडान गरी बसेको नयाँ बस्तीलाई झोरा भनिन्थ्यो। झोरा सरकारका लागि टाउको दुखाइ बनेको थियो। केही झोरे नेताको कमाउधन्दा थियो। नागरिक पीडित थिए। राज्य र सरकारभन्दा बढी झोरे नेताको पीर थियो। झोरे नेता र झोराबासीबीच ठूलै द्वन्द्व थियो। यो उपन्यास त्यही झोराबारे लेखिएको हो। 

उपन्यास लेखिएको समयभन्दा केही पहिले अठ्ठाइस सालतिरै ‘झोरा क्षेत्रको जग्गासम्बन्धी ऐन २०२८’ सरकारले जारी गरेको थियो। झोरा समस्याको समाधान निम्ति जारी भएको थियो। उपन्यासको मूल कथा पनि झोरा ऐन आएकै बेलातिरको हो। २०२८ वरिपरिकै हो। झोराको दैनिकी हो। झोराको नियति हो। 

झोरा– अलिअलि भोकको कथा हो। अलिअलि शोकको कथा हो। अलिअलि झोँकको कथा हो। झोरा – सपनामा बेरिएको सबथोकको कथा हो।पूर्वी पहाडमा जन्मेर, संसार भोगेर बाँकी जीवन र आफ्ना सन्तानबारे एकजना किराती छोरा (बुवा) ले देखेको सपना अनि त्यो सपनालाई सार्थक बनाउन गरेका जम्मै प्रयत्नलाई उनेर बनेको कथा हो– आकाशगंगाको ओतमुनि।  

उपन्यासभित्र तीनओटा समाजको कथा छ। पहिलो, पूर्वी पहाडको किराती राई समाज। दोस्रो, लाहुरेले भोगेको पल्टने समाज। तेस्रो, पूर्वी मधेसको झोरा समाज। पूर्वी पहाडको कथा मूल पात्रको झझल्को जस्तो भएर आउँछ। पल्टनको कथा मूल पात्रलाई बैंस झक्झकाउन आउँछ। झोराको कथा त्यो बेलाको नेपाली समाज र राजनीतिबारे बोल्ने दोहोरो झमेला भएर आउँछ। झोराको कथा अलि सघन भएर आउँछ। सपनालाई अलपत्रै पारेर अलप हुने कथा भएर आउँछ। त्यसैले यो झोराको कथा हो। 

सर्वजीत राई अर्थात् पचपन्न। पल्टने नम्बरको अन्तिम दुईओटा पाँचलाई मिलाएर भनिएको– पचपन्न। पचपन्न उपन्यासका मूल पात्र हुन्। उनी पूर्वी पहाडको किराती राई संस्कृतिका प्रतिनिधि हुन्। उनैको वरिपरि उपन्यास घुमेको छ। छेप्पन उनैको दौँतरी र पल्टनका नम्बरी हुन्। पल्टनले सबकुछ दिन्छ भन्ने भ्रमबाहिरका पात्र हुन्– छेप्पन। पल्टनले दिएका दिग्दारी, दाग र पीडाका नमुना हुन्। छेप्पनलाई परिवार पाल्नै मुस्किल छ। सुख टाढा भो, सन्तोषसम्म छैन। आफैँ पनि बाँच्नलाई मात्र बाँचेका छन्। उनी माझ किरातमै छोडिन्छन्। अनि उपन्यासको कथा मधेस झर्छ। पूर्वी मधेस।

पूर्वी पहाडका मानिसहरू झोरा खुलेपछि मधेसतिर झरेका हुन्। मधेसमा जग्गा पाइन्छ। धान फल्ने खेत। चामलको भात खान पाइने र भोकै बस्नु नपर्ने। दुःख सकिने र सुख पाइने। यस्तै सपनामा रम्नेहरू पूर्वी पहाडभर कति थिए कति ? सर्वजीतले पनि पूर्वी मधेसमा झोरा खुलेको खबर सुनेका थिए। आपूm जन्मेको गाउँ, दाजुभाइ र आफन्त सबैलाई छाडेर यही लर्कोमा मिसिएर मधेस झरे। सुरुमा नम्बरी जग्गा लिन चाहन्थे। तर, चिनारु पल्टनियाँ र सानबहादुर फुपाजुको लहैलहैमा उनी झोरातिर हानिए। अनि उपन्यासको खास कथा यही विन्दुबाट सुरु हुन्छ। 

उपन्यासको मूल पात्र सर्वजीत राई हुन्। उनीमार्पmत पूर्वी पहाडको किराती संस्कृति प्रस्तुत गरिएको छ। उनी लाहुर जान्छन्। लाहुरेले पल्टनमा के के भोग्छन् ? के के गर्छन् ? र, लाहुरेहरू गाउँघर र संसारमा चिनिन्छन् ? भन्ने पटकथा पनि छ। तर, मूल कथा झोरा हो। सर्वजीत सेवानिवृत्त भई गाउँ फर्कन्छन्। आफू जन्मे–हुर्केको ठाउँ छाडेर झोरामा झर्ने निर्णय गर्छन्। उनले पल्टनभन्दा झोरामा धेरै मानेमा फरक जिन्दगी भोग्छन्। झोरामा भयबीच कल्पना गरिएको भाग्यको कथा नै यो उपन्यास हो। 

सानबहादुरमार्पmत एउटा प्रवृत्तिलाई प्रस्तुत गरिएको छ। उपन्यासमै भनिए जस्तो धर्मभकारी, कुलो, बाँध, पुल र सहकारी संस्था खल्तीमा बोक्नेहरू झोरामा जमिन दिलाउने ठेकेदार बनेका थिए। तिनै राष्ट्रिय पञ्चायतका माननीय हुन्थे। अनि मन्त्री पनि। तिनको वरिपरि लाठी मुङ्ग्री गर्ने भाडाका झुण्ड सधैँ हुने। राजसी खानपानमा रमाउँथे। तिनको साँच्चिकै चरित्र बुझाउन एउटा पात्रलाई ‘टप्परटुइँया’ नाम दिइएको छ। नामैले सब बुझाउँछ।

रसिकले उपन्यासको नाम ‘देशको खोजी’लाई दाँंैतरीहरूको सल्लाहबमोजिम परिवर्तन गरेर ‘आकाशगंगाको ओतमुनि’ बनाए।

झोराबासी स्याउलाको याक्सामा रात बिताउँछन्। जसोतसो पेट भरेका थिए। तर, सखुवाको ठुटा र जरासँग लरेर अन्न उमार्नुपर्ने। न खेतबारी, न त जंगलघारी। अधकल्चो थियो। त्यसैले त्यो झोरा। सानबहादुर जस्ता झोरे नेताको जताततै बिगबिगी। दिनदिनै ठगिनुपर्ने। पाइला पाइलामा ठोक्किनुपर्ने। नक्कली सुकुम्बासी बन्नुपर्ने। झोरे नेताका लागि नागरिकले नाङ्गिनुपर्ने। राज्यले राँको झोसिरहनुपर्ने। झोराको नियति नै बनेको थियो। सर्वजीत जस्तै थुप्रैले धेरैपल्ट छाप्रो हाले र प्रहरीले त्यही छाप्रोको आगो तापे। अनि त आकाशगंगाको ओतमुनि बास। यो गोलचक्कर झोरामा कति चले कति, गणना गर्नै नसकिने गरी। 

झोराको दुःख र झोरे नेताको करामतबारे मैले पनि एउटा कथा सुनेको छु। ताप्लेजुङको ढुङ्गेसाँघुतिरबाट मोरङको नयाँ झोरा झरेका भण्डारी थरका पाका व्यक्ति थिए। उनलाई जग्गा मिलाइदिने सर्तमा एकजना झोरे नेताले केही रकम लिएका थिए। २०३५ चैत ४ गते उनले लेखेको पत्रअनुसार त्यो बेला प्रतिबिघा  ६५ सय रुपैयाँका दरले जग्गाको कारोबार हुने रहेछ। चैतको ६ गतेदेखि गोश्वारा टोलीले जग्गाको दर्ता गर्ने सूचना पनि त्यो पत्रमा उल्लेख छ। पूर्वी मोरङको पानी लाग्ने झोरा जमिन मिलाइदिन ती नेताले ३० हजार १० रुपैयाँ बैना पनि लिएका थिए। तिनले जमिन मिलाएर दिलाउन नपाउँदै तिनको दुर्घटनामा मृत्यु भयो। र, सारा सपना त्यहीँ सकियो। उपन्यासका सानबहादुर जस्तै यिनले पनि थुप्रैको सपना हरेर लगे।

झोरा सपना देख्नेहरूको गन्तव्य थियो। पौरखीहरूको बस्ती थियो। झोरा कानुनी रूपबाट अधिकार पाई जंगल फडानी गरी बसोबासका लागि आवाद गरेको क्षेत्र थियो। तैपनि नागरिकले तनाव झेलिरहनुपर्ने। झोराबासीले व्यक्तिगत होस् वा संगठित, सामूहिक आवाज उठाउन थाले। त्यही बेला पूर्वी तराईमा कम्युनिस्ट पार्टीको संगठन पनि भित्रभित्रै बन्दै थियो। झापाका केही स्थानमा जमिनदारविरुद्ध किसान कारबाहीका घटना सार्वजनिक हुँदै थिए। झोराको समस्या जसोतसो सरकारले सुन्नैपर्ने भयो र झोरा क्षेत्रको जग्गासम्बन्धी ऐन २०२८ ल्यायो। ऐनको प्रस्तावनामा ‘शान्ति र व्यवस्था कायम राख्न’ उल्लेख गरिएबाटै थाहा हुन्छ कि झोरा क्षेत्र सरकारका लागि चुनौती बन्दै थियो। आन्दोलन साँच्चै सघन बन्दै थियो। 

उपन्यासमा उल्लिखित झोरा आन्दोलन र झापाको किसान आन्दोलन एउटै समयका बिल्कुलै भिन्नाभिन्नै हुन्, रसिकले भनेका छन्। तर, मोरङमा तत्कालीन मालेका कार्यकर्ताले गरेको ‘साझा ब्रेक’ मोरङका नयाँ झोरा बस्तीका बासिन्दाहरूको सामूहिक प्रतिक्रिया थियो। ‘साझा ब्रेक’पछि पूर्वी मोरङका थुप्रै झोरा बस्तीमा पञ्चायती प्रहरीले दमन गरेका थिए। झोरा बस्तीहरू दमनको मारमा परेका थिए। उपन्यासका एक पात्र मास्टर पनि कम्युनिस्ट कार्यकर्ता नै थिए। रसिकले भिन्नाभिन्नै भने पनि आन्दोलनको समय र चरित्रमा समानता थियो। झोराको आन्दोलन होस् या किसानको आन्दोलन अथवा कम्युनिस्ट संगठनको बिस्तार, यी तीनैबीच प्रकारान्तरले सम्बन्ध गाँसिएको थियो। ती भिन्न थिए कि अभिन्न ?

रसिकले उपन्यासको नाम ‘देशको खोजी’लाई दौँतरीहरूको सल्लाहबमोजिम परिवर्तन गरेर ‘आकाशगंगाको ओतमुनि’ बनाए। झोराबासी वा पूर्वी मधेसका गरिब किसान, खासमा यी दुवैले खोजेको त ‘देश’ वा ‘राज्य’ वा ‘सरकार’ नै थियो। सानबहादुर त बाध्यताले भेटेका पात्र थिए। तर, सानबहादुरसँगै झोराबासीका सबै सपना समाधि भए।  
भूगोलविद् राई स्वतन्त्र अनुसन्धाता हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.