अधिकारीका ‘सल्लाह’ र ‘भ्रम’
सल्लाह
व्यर्थैको यो भाँडभैलो मच्चाउन छोडेर
चुपचाप तिमी आफ्नो सिमानामा फर्क
होइन भने हामी भन्न सक्छौँ—
तिम्रो राजधानीको गौरव बनेर ठडिएको
त्यो भव्य स्मारकबाट
हाम्रा पुर्खाका नाम लेखिएका
इँटाहरू झिक !
सजिलो छैन त्यसो गर्न तिमीलाई
र, कथं उखेल्न थाल्यौ भने ती इँटाहरू
इतिहासमा टाउको अड्याउने
ठाउँ पनि बाँकी रहन्न तिम्रो
र, आउँदा दिनहरूमा
तिमी आफ्नै सन्तानबाट
अनुहार लुकाएर हिँड्नुपर्ने
विकट परिस्थितिका बीचमा घेरिने छौ
के तिमीले कहिल्यै त्यतातिर विचार गरेका छौ ?
भ्रम
तिमी दाजु हुँदै होइनौ मेरो
चाँडै मुक्त होऊ यो भ्रमबाट
सानो कदको मेरो शरीर देखेर
बेअर्थ तिमी दाजुको दर्जा लिन खोज्दैछौ
वास्तविकता त यो हो—
जतिबेला तिमी जन्मियौ
त्यसबेला
म काखमा नाति खेलाइरहेको थिएँ
पत्यार लागेन भने
जाऊ !
आफ्नो जन्मबारे
तिमी आफ्नै बाबुसँग सोध्न सक्छौ !