अलैंची कृषक निराश

अलैंची कृषक निराश

ताप्लेजुङ : फक्ताङलुङ गाउँपालिका–३ का वीरबहादुर विकको २० रोपनीभन्दा बढी जमिनमा अलैंची बगान छ। धान र कोदो फलिरहेको ठाउँमा उनले आठ वर्षअघि अलैंची लगाएका हुन्। यस वर्षको उत्पादन बजारमा लैजाने बेला हुन लाग्दा उनले विगतकै अलैंची बेच्न सकेका छैनन्। वर्षभरि खाने अन्न फल्ने खेतबारी मासेर लगाएको अलैंचीले अहिले उनलाई निराश बनाएको छ।

पछिल्लो आधा दशकमा ६ गुणासम्म मूल्य घटेपछि विकजस्ता ४३ जिल्लामा कृषकको लगानी जोखिममा परेको हो। ‘दुई वर्षदेखिको अलैंची बिक्री भएको छैन’, विकले भने, ‘जीविका चलाउनै कठिन हुने भयो।’ व्यापारीले अलैंची किन्न छोडेको अर्का कृषक उदय लिम्बुको गुनासो छ। यस वर्षको अलैंची निस्कन २ महिना मात्रै बाँकी हुँदा गतसालकै बिक्री नभएको उनले सुनाए।

नेपालको अलैंची झापाको बिर्तामोडमा जम्मा भएर काँकडभिट्टा र रानी भन्सारबाट भारत हुँदै तेस्रो मुलुक निर्यात हुने गरेको छ। लकडाउनयता भारतले नेपाली नगदेबालीमा रोक लगाएपछि अहिले निकासी पनि ठप्प छ। त्यसअघिसम्म अलैंची प्रतिकिलो ६ सय रुपैयाँ थियो।

उक्त मूल्यलाई आधार मान्दा अहिले दुई अर्ब रुपैयाँ बराबरको अलैंची गोदाममा थन्किएको अलैंची व्यवसायी महासंघका अध्यक्ष राजकुमार कार्कीले बताए। ‘२ हजार मेट्रिक टनभन्दा धेरै अलैंची व्यवसायीले खरिद गरेर गोदाममा राखेका छन् जुन कुल उत्पादनको ४० प्रतिशत हो’, कार्कीले भने, ‘बाँकी कृषकसँग छ।’ व्यवसायी थप अलैंची किन्न सक्ने अवस्थामा नरहेको उनको भनाइ छ।

बगान धमाधम मासिँदै

राज्यले अलैंची उत्पादनमा लागेका कृषकका लागि विभिन्न प्रकारका प्रवद्र्घनात्मक कार्यक्रम पनि गरिरहेको छ। यसले उत्पादन वृद्घिमा सहयोग पुगे पनि बजार प्रवद्र्घनमा भने राज्यले ध्यान नदिएको तेह्रथुम आठराईका कृषक विवेक गिरी बताउँछन्। ‘अलैंचीले खेतबारी बिग्रियो, त्यहाँ अरु अन्न लगाउन मिल्दैन’, गिरीले भने, ‘समस्या माथि समस्या थपियो।’

गाउँमा धेरै मानिसले अलैंची बगान मास्न थालेको ताप्लेजुङ फुङलिङका कृषक दिलकुमार मेन्याङ्वोले सुनाए। मेन्याङ्वो स्वयंले केही महिनाअघि अलैंची मासेर तरकारी लगाएका छन्। ‘एकातिर लगानी नउठ्ने मूल्य, अर्कोतिर बजार नै अनिश्चित भएपछि बगान मासेको हुँ, अहिले तरकारी फलाएर बेच्न थालेको छु’, उनले भने। मेन्याङ्वाले पाँच रोपनी खेतमा लगाएको अलैंचीमा डोजर लगाएर सम्याएका थिए।

बजार प्रवद्र्घनका लागि उच्च स्तरीय पैरवीको आवश्यकता रहेको अलैंची जोन ताप्लेजुङका संयोजक दिनेश अधिकारीको भनाइ छ। उनले भने, ‘केन्द्र सरकारले अलैंचीलगायत कृषि बालीको बजार समस्या हल गर्न शीघ्र पहल गर्नुपर्छ, नत्र सयौं कृषक र व्यवसायी यो पेशाबाट पलायन हुने अवस्थामा छन्।’

मूल्य निरन्तर ओरालो

अलैंची व्यवसायी संघ ताप्लेजुङको तथ्याङ्क अनुसार २०७१ सालमा प्रतिमन (४० किलो) एक लाख २० हजारले कारोबार भएको थियो। यो नै हालसम्मको सर्वाधिक मूल्य भएको संघका अध्यक्ष बालमणि बरालले बताए। त्यसयता हरेक वर्ष मूल्य ओरालो लागेको हो। २०७२ सालमा ९० हजारदेखि एक लाख, २०७३ मा ७०–८० र २०७४ सालमा ५० देखि ६० हजार प्रतिमनमा कारोबार भएको संघको तथ्यांकमा उल्लेख छ। तीन वर्षदेखि अलैंचीको मूल्य प्रतिमन २८ हजार रुपैयाँभन्दा बढेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.