कर्णालीमा कोरोना संक्रमितको संख्या ९१६ पुग्यो
सुर्खेत : कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ९ सय १६ पुगेको छ। त्यस्तै ९१ जनाले कोरोना जितेर घर फर्किएका छन्। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार थप ७० जनामा कोरोना संक्रमण पृष्टी भएको हो।
जसमा सुर्खेत जिल्लाका ४० र दैलेख जिल्लाका ३० जना गरी ७० जना नयाँ संक्रमित थपिएका हुन्। शनिबार दैलेख अस्पतालमा रहेका ५ र दुल्लु अस्पतालमा रहेका ४ जना गरी ९ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। योसँगै डिस्चार्ज हुनेको जम्मा संख्या ९१ पुगेको छ। भने मृत्यु हुनेको संख्या ३ रहेको छ।
शनिबार नयाँ संक्रमण पुष्टी हुने सुर्खेतका ४० जना मध्ये गुर्भाकोट नगरपालिका १२ जना, भेरीगंगा नगरपालिका १०, बराहताल गाउँपालिका ९, चौकुने गाउँपालिका ८ र वीरेन्द्रनगर नगरपालिकाका १ जना रहेका छन्। यस्तै दैलेखका ३० जना मध्ये आठबीसका २०, नौमुलेका ९ जना र डुङ्गेश्वर गाउँपालिकाका १ जना रहेका छन्। सबै ७० जनाको पुष्टी प्रदेश अस्पताल तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा भएको हो।
कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मिनारायण तिवारीका अनुसार कर्णालीमा सबैभन्दा बढि दैलेखमा ५ सय २ तथा सबैभन्दा कम हुम्ला र डोल्पामा १/१ र मुगुका २ जनालाई कोरोना संक्रमण पृष्टी भएको छ।
कर्णालीका १० मध्य अन्य सबै जिल्लामा कोरोना संक्रमण देखिए पनि रुकुमपश्चिम भने अँझै सुरक्षित छ। कर्णालीमा पृष्टी भएको कोरोना संक्रमितहरुमा सल्यानका १ सय ३७, सुर्खेतका १ सय ९७, जाजरकोट ८, कालिकोट २८, जुम्लामा २४ र अन्य प्रदेशका १६ जना रहेका छन्। कर्णालीमा झण्डै १२ हजार बढिको पीसीआर परीक्षण गरिएको छ।