दैलेखमा थप ३० जनामा कोरोना संक्रमण : संक्रमितको संख्या ५ सय नाघ्यो
दैलेख : दैलेखमा कोरोना संक्रमितको संख्या ५ सय नाघेको छ । शनिबार थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय २ पुगेको हो । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखको आठबीस नगरपालिकामा २० जना, नौमूले गाउँपालिकामा ९ जना र डुङ्गेश्वर गाउँपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमितमध्ये दैलेखको नारायणका एक सय ९४, दुल्लुका ६७, चामुण्डाविन्द्रासैनीका एक र आठबीस नगरपालिकाका २२ जना छन् । यस्तै डुङ्गेश्वरका ६८, महाबुका एक सय ८, भैरबीका नौ, गुराँसका दुई, भगवतीमाईका नौ, नौमूलेका १९ र ठाटीकाँध गाउँपालिकाका तीन जना छन् ।
संक्रमितको संख्या ५०२ पुग्दा जिल्लामा कोरोना जित्नेको संख्या ३६ पुगेको छ । शनिबार मात्रै ९ जना कोरोना जितेर डिस्चार्ज भएका छन् ।
दुल्लु नगरपालिका वडा नम्बर ८ का एक जना, १२ का तीन जनाले कोरोना जितेर डिस्चार्ज भएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सल थीरप्रसाद रेग्मीले बताए । रेग्मीका अनुसार नारायण नगरपालिका–२ का ५ जनाले कोरोना जितेका हुन् । उनीहरु स्थानीय जनता मावि कोटथाप्लाको क्वारेन्टाइन आइसोलेसनमा बसेका थिए । दैलेखका संक्रमित सघन उपचार कक्ष (आइसीयू) मा नबसी आइसोलेसनबाटै डिस्चार्ज भइरहेका छन् ।