भारतबाट आइपुगे डल्फिन
टीकापुर : एक ठाउँबाट अर्को ठाउँमा बसाइ सर्न मन पराउने ग्यांगेटिक जातका डल्फिन भारतबाट कैलालीका नदीसम्म आइपुगेका छन् । भारतको घाँघरा नदी हुँदै आएका डल्फिन कैलालीको मोहना, पथरैया र काँडा नदीमा शनिबार देखिएका छन् ।
विश्वमै दुर्लभ स्तनधारी ग्यांगेटिक प्रजातिका डल्फिन ती नदीमा वर्षायाममा मात्रै आउने गरेका छन् । अन्य वर्षमा असार दोश्रो, तेश्रो सातादेखि आउने गरेको भए पनि यस वर्ष समयमै पानी परेपछि जेठ अन्तिममै डल्फिन देखिएका हुन् ।
असारदेखि असोजको महिनासम्म यी नदीमा डल्फिन सजिलै देख्न सकिन्छ । शनिबार दिउँसो मोहना र पथरैया नदीको दोभान क्षेत्रमा दुई वटा डल्फिन देखा परेको डल्फिन संरक्षण उपकेन्द्र ढुंगाना टोलका अध्यक्ष भोजराज ढुंगानाले बताए । ‘आज दिउँसो दोभानमा दुई वटा डल्फिन देखा परेका छन्’, ढुंगानाले भने, ‘स्वच्छ र कम गहिरो हुने हुनाले बच्चा हुर्काउन वर्षेनी डल्फिन भारतबाट यहाँ आइपुग्छन् ।’
नदीमा पानीको सतह बढेसँगै मोहना, पथरैया र काँडा नदीमा वर्षायाममा डल्फिन देखा पर्ने गर्दछन् । भारतको घाँघरा नदी हुँदै मोहना, पथरैया र काँडा नदीमा वर्षेनी वर्षाद्को समयमा आउने डल्फिन यस वर्ष जेठमै आइपुगेको स्थानीय नरेन्द्रराज रेग्मीले बताए ।
विश्वबाटै दुर्लभ मानिएको डल्फिन संरक्षणका लागि २०५७ सालदेखि टीकापुर नगरपालिका वडा नं. ७ र भजनीका स्थानीय जुट्दै आएका छन् । खाली आँखालेसमेत नजिकै डल्फिन हेर्न सकिने हुनाले मोहना, पथरैया र काँडा नदीको दोभानमा डल्फिन हेर्न वर्षायाम विदेशी तथा नेपाली पर्यट आउने गरेका छन् ।
‘खाली आँखाले नजिकैबाट डल्फिन हेर्न सकिने हुनाले यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन्’, ढुंगानाले भने, ‘तर कारोना संन्त्रासका बीच बाह्य पर्यटक नआए पनि आन्तरिक पर्यटक आउने छन् ।'
यी नदीमा डल्फिन हेर्न नेपाली पर्यटक लगायत अमेरिका, इंगल्याण्ड, थाइल्याण्ड, अस्ट्रेलिया, फ्रान्स, भारतबाट वर्षायाममा पर्यटक आउने गरेका थिए । स्थानीयले माछा भन्दै मारेर खाने गरेको डल्फिनबारे २०५७ सालमा संरक्षणकर्मी भोजराज श्रेष्ठको पहलमा संरक्षण अभियान थालिएको थियो ।