भक्तपुरमा ‘फेमिली स्टे’ : पर्यटनलाई मल्हम
भक्तपुर : गएको चैत ११ गतेअघिसम्म भक्तपुर नगरपालिका ५ भगवतीस्थानका कृष्णसुन्दर खाइतूको एउटा कोठामा दुईजना विदेशी पाहुना थिए। सन् २००६ देखि फेमिली स्टे सञ्चालन गर्दै आएका कृष्णसुन्दरका उक्त कोठा एकाध दिनबाहेक सधैं विदेशी पाहुनाले भरिएका हुन्थे। जसबाट उनले महिनामा सरदर २० हजार रुपैयाँ चोखै आम्दानी गरिरहेका थिए।
तर कोभिड १९ संक्रमणले कृष्ण सुन्दरको उक्त कोठा गएको चैत ११ गतेदेखि खाली भयो। बुकिङ पनि रद्ध भए। कोभिड १९ को कारण आफ्नो घरपरिवारको आम्दानीको स्रोत ठप्पै भएको उनी दुःखेसो पोख्छन्। उनका अनुसार घरका कोठामा पाहुना भएका बेला घरपरिवारमा छाउने खुसी र रौनकसमेत अहिले फिक्का भएको छ। घरपरिवारको व्यवस्ता तथा क्रियाशीलता अहिले सुस्ताएको छ।
कृष्णसुन्दरको घरपरिवारमा ८६ वर्षीया आमासहित पाँचजना सदस्य छन्। ‘हामी पाँचजनाको परिवारसँगै विदेशी पाहुनालाई खुवाईपियाई, दुई छोराको शिक्षादीक्षा र घरका अन्य आवश्यकता पूरा गरेर पनि फेमिली स्टेबाट महिनामा २० हजार रुपैयाँ चोखै आम्दानी भइरहेको थियो,’ उनले सुनाए, ‘तर अहिले आम्दानीमात्रै होइन, हाम्रो खुसी पनि छिनिएको छ।’
लकडाउनले अधिकांशको आर्थिक अवस्थालाई लथालिंग बनाइदिएको छ। कतिको आर्थिक अवस्था खस्किँदै गएको छ। लकडाउन केही खुकुलो भए पनि तत्कालै नयाँ ठाउँ घुम्न जाने, होटल रेस्टुरेन्ट धाउने सर्वसाधारणको प्राथमिकतामा पर्दैन। फेरि होटल तथा रेस्टुरेन्टले तत्काल निश्चित अवधिसम्म साामाजिक एवं भौतिक दूरी तथा संक्रमण हुन र फैलन नदिने अन्य सुरक्षाका उपाय अपनाउन सक्ने अवस्था बन्दैन। त्यसैले लकडाउन खुले पनि पर्यटन क्षेत्रलाई पहिलेको अवस्थामा फर्कन कम्तीमा तीन वर्ष लाग्ने पर्यटन व्यवसायीहरु बताउँछन्।
भक्तपुर नपा-५ निवासी कृष्णसुन्दर खाइतूको घरपरिवारसँगै तिहारको म्हपूजामा सहभागी हुँदै फेमिली स्टेमा बसेका विदेशी पाहुना। तस्बिर: ईश्वरकाजी खाइजू
स्वदेशी वा विदेशी पर्यटकलाई घरमै राखेर घरपरिवारले जे खान्छ, जे गर्छ, जस्तो संस्कार वा जात्रापर्व मनाउँछ, त्यसैमा सहभागी गराएर पाहुनाको रुपमा राख्नु फेमिली स्टे हो। गाउँघरमा समूह मिलेर होमस्टे सञ्चालनमा आएका छन्। नेपालका ग्रामीण पर्यटकीय क्षेत्रमा होम स्टे सफल पनि हुँदै आएको छ। तर सहरी क्षेत्रमा होमस्टे सफल हुन सकेको छैन। यसैको विकल्पको रुपमा सहरी क्षेत्रमा फेमिली स्टे अवधारणा विकास भएको बताउँछन् व्यवसायीहरु।घरमा कम्तीमा एकजना र बढीमा दुईजना –जो जोडी पनि हुनसक्छ– लाई घरको एउटा कोठा दिएर उनीहरुको सेवा गर्नु नै फेमिली स्टे हो।
‘हामीले जे खाने हो, जे पिउने हो, पर्यटकहरुलाई त्यहीं दिने हो’, कृष्णसुन्दर थप्छन्, ‘जसले गर्दा घरमा नयाँ पाहुना छन् भन्ने कुरा परिवार र स्वयम् पाहुनाले अनुभवै गर्न नपाउने अनुभूति दिनु फेमिली स्टेको सफलता हो।’
गति लिँदै फेमिली स्टे
कम लगानीमा धेरै प्रतिफल लिन सकिने भएकाले भक्तपुरमा फेमिली स्टेले गति लिइरहेको थियो। साथै भक्तपुर पर्यटन विकास समितिले यसलाई प्रवर्द्धन तथा बजारीकरण गर्दै आएको थियो। समितिका अध्यक्ष रामसुन्दर भेलेले भक्तपुरको फेमिली स्टेमा पर्यटकहरु आकर्षित भइरहेको दावी गर्छन्। तर कोभिड १९ को कारण फेमिली स्टे नराम्रोसँग मारमा परेको उनी बताउँछन्।
‘फेमिली स्टेमा बस्ने पाहुनाले पनि घरका सदस्यले जस्तै यहाँका मौलिक उत्पादनहरु जुजु धौ, टाइचिन चिउरासँगै घरका सदस्यले आफ्नै खेतबारीमा उत्पादन गरेको कृषि उत्पादनको स्वाद लिन पाउँछन्। त्यसमाथि घरमा बनेका खाना तथा खाजा स्वस्थकर हुने हुँदा पर्यटकहरुको स्वास्थ्यमा कुनै असर पर्दैन’, अध्यक्ष भेले भन्छन्।
कृष्णसुन्दर खाइतू र उनी श्रीमतीसँग एउटै टेबलमा खाना खाएपछि फेमिली स्टेमा बसेका विदेशी पाहुना।
तत्कालको विकल्प फेमिली स्टे
उनका अनुसार लकडाउन खुलिहाले पनि तत्कालै सयौंको संख्यामा पर्यटकहरु आउने छैनन्। फाट्टफुट्ट रुपमा आउने केही दर्जन पर्यटकहरुलाई फेमिली स्टेमार्फत नै सेवा दिँदा उचित र समय सान्दर्भिक हुने अध्यक्ष भेले दावी गर्छन्।
‘तत्काल होटल तथा रेस्टुरेन्ट खुल्ने अवस्था छैन। पर्यटकको संख्या नै न्यून हुन्छ। त्यसको लागि दर्जनौं कर्मचारी तथा मजदुरलाई काममा लगाएर होटल तथा रेस्टुरेन्टले सेवा दिन सक्दैनन्’, उनी थप्छन्, ‘यस्तो अवस्थामा घरपरिवारकै सदस्यबाट सेवा दिन सकिने फेमिली स्टे नै एकमात्र विकल्प हुनसक्छ।’ सन् २००६ सुरु भएको फेमिली स्टे सफल भएपछि समितिले भक्तपुर नगरपालिका, नेपाल पर्यटन बोर्ड र पर्यटन मन्त्रालयमा यसको प्रवर्द्धन गर्न माग गर्दै आएको समितिका महासचिव दीपेशराज शर्मा बताउँछन्। मन्त्रालय, पर्यटन बोर्ड र नगरपालिकाले यसको विस्तृत प्याकेज बनाएर ल्याउन समितिसँग माग गरिएको उनको भनाइ थियो।
यसकारण पनि फेमिली स्टे
‘२०७२ सालको भूकम्पपछि भक्तपुर नगर क्षेत्रमा निर्माण भएका अधिकांश नयाँ घर सुविधाका दृष्टिले पर्यटनमैत्री छन्। हिजो घरको उचाइ होचो हुँदा पर्यटकहरुको लागि सुविधाजनक थिएन। तर अहिले बनेका घरहरु बाहिरबाट हेर्दा मौलिक शैलीका पनि छन् र भित्री सुविधा आधुनिक छन्’, महासचिव शर्मा भन्छन्, ‘साथै अधिकांश घरहरु सम्पदा क्षेत्रसँगै रहेकाले यी घरमा फेमिली स्टेमा बस्ने पर्यटकहरुले आफूलाई सम्पदाको सामीप्य महसुस गर्छन्।’
त्यसमाथि फेमिली स्टेको प्रवर्द्धन गर्न सके सहरी किसान तथा मध्यम वर्गलाई पर्यटनमार्फत् उनीहरुको आर्थिक, सांस्कृतिक तथा सामाजिक विकासमा टेवा पुर्याउन सकिने उनको तर्क थियो। उनका अनुसार फेमिली स्टे पर्यटनलाई सर्वसाधारणसँग एकाकार गरी तल्लो तहसम्म लानुपर्छ। जसले पर्यटन उद्योगको प्रतिफल उनीहरुले पनि पाऊन् र यसले दिगो पर्यटन प्रवर्द्धन हुनेमा विश्वस्त हुन सकिन्छ।
लकडाउनले थलिएको पर्यटन क्षेत्रलाई फेमिली स्टेको माध्यमबाट पुनर्जीवन दिन सकिने महासचिव शर्माको तर्क रहेको छ।
भक्तपुर नपा ५ निवासी कृष्णसुन्दर खाइतूको घरपरिवारसँगै होली खेल्दै फेमिली स्टेमा बसेका विदेशी पाहुना।
प्रवर्द्धन गर्न नेटवर्किङ दरिलो माध्यम
फेमिली स्टेको प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय नेटवर्क बनाउन सकिए भक्तपुर पुगेका अधिकांश पर्यटक फेमिली स्टेमै बस्न लालायित हुने व्यवसायी कृष्णसुन्दर जोड दिन्छन्। तर नेटवर्क निर्माणको लागि फेमिली स्टेलाई व्यवसायिक बनाउनुपर्ने बताउँछन् भक्तपुर पर्यटन विकास समितिका अध्यक्ष भेले। फेमिली स्टे सञ्चालन गर्ने घरपरिवारलाई केही तालिम दिनुपर्नेसमेत आवश्यकता देख्छन् उनी।
नगर प्रमुख सुनिल प्रजापति यहाँ पुग्ने पर्यटकहरुको भक्तपुर बसाइ लम्ब्याउन र पर्यटकहरुले गर्ने खर्च तल्लो तहसम्म पुर्याउनुपर्छ भन्ने सोचले नपाले काम गरिरहेको स्पष्ट पार्छन्।
आकर्षक आम्दानी
नेपाली संस्कारअनुसार अधिकांशको घरमा सधैं एउटा कोठा पाहुनाको लागि राखिने प्रचलन छ। छोरीचेली तथा ज्वाइँलगायतका नातेदार आउँदा उक्त कोठा प्रयोग गरिन्छ। त्यहीं कोठालाई फेमिली स्टेको लागि प्रयोग गरिने हुँदा घरपरिवारलाई थप आर्थिक भार नपर्ने व्यवसायीहरु बताउँछन्। एउटा कोठा भाडामा दिए महिनामा चारपाँच हजारमात्रै आम्दानी होला तर फेमिली स्टे सञ्चालन गर्दा त्यहीं कोठाबाट महिनामा २०–३० हजार चोखै आम्दानी हुने फेमिली स्टे सञ्चालक कृष्णसुन्दरले स्पष्ट गरे।
नेपाली परिवारका सबल पक्ष
अहिले प्रत्येकका घरमा एक न एक जना अंग्रेजी भाषा जान्ने व्यक्ति हुन्छन्। विद्यालय पढ्नेदेखि कलेज पढ्ने विद्यार्थी नभएका कुनै घर छैनन्। त्यसैले उनीहरुको माध्यमबाट घरमा अन्य सदस्यलाई सामान्य अंग्रेजी भाषा तालिम दिने हो भने पर्यटकहरुसँग कुराकानी गर्न समस्या हुँदैन। साथै बिहान कलेज जाने सदस्यको ठाउँमा दिउँसो विद्यालय जाने सदस्यले उनीहरुसँग संवाद गर्छ। जब विद्यालय जाने सदस्य हुँदैन तब कलेजबाट फर्केको सदस्यले उनीहरुसँग संवाद एवं व्यवहार गर्छ। यसले गर्दा परिवारमा खुसी, साथ सहयोग र सदैव रमाइलो वातावरणका रौनकता हुने फेमिली स्टे सञ्चालक कृष्णसुन्दर दावी गर्छन्।
भक्तपुर नपा ५ निवासी कृष्णसुन्दर खाइतूको घरपरिवारसँगै दसैंको टीकाजमरा लगाउँदै फेमिली स्टेमा बसेका विदेशी पाहुना। पहिलो लहरमा ८६ वर्षीया धनमाया खाइतू।
फेमिली स्टेले मलाई आधुनिक बनायो : धनमाया
भक्तपुर नगरपालिका ५ भगवतीस्थानकी ८६ वर्षीया धनमाया खाइतूले पढ्न भनेर कहिल्यै स्कुलको पाइला टेकिनन् तर अहिले उनी अंग्रेजी बोल्छिन्। विदेशी पर्यटकहरुसँगै सामान्य भाषामा खाना खानुभयो, खाजा खानुभयो, कहाँबाट आउनुभयो, कहाँ जाने, स्वास्थ्य कस्तो छ ? भोकाउनुभयो कि, प्यास लाग्यो कि, केही सहयोग गर्नुपर्छ ? जस्ता व्यवहारिक कुरा उनी अंग्रेजीमै भन्न सक्ने भएकी छन्।
सुन्दा अचम्म लाग्न सक्छ, स्कुल नै नगएर कसरी अंग्रेजी बोल्न जानिन्। न भाषा कक्षा पो लिए कि भन्ने लाग्ला तर उनले कुनै भाषा कक्षा पनि लिइनन्। अनि कसरी बोल्न जानिन् त अंग्रेजी ? तपाई अचम्म मान्दै प्रश्न गर्नुहुन्छ होला।
८६ वर्षीया धनमायाले अंग्रेजी बोल्न जान्नुको मुख्य कारण उनको घरमा विदेशी पाहुना राख्ने फेमिली स्टे सञ्चालन हुनु हो। उनी आफ्ना छोरा कृष्णसुन्दर, बुहारी र दुई नातिसँग बस्छिन्। उनको घरमा फेमिली स्टे सञ्चालन भएको करिब १६ वर्ष भयो। छोरा कृष्णसुन्दरले सन् २००६ मा फेमिली स्टे सुरु गरेका थिए।
त्यतिमात्रै होइन पुरानो परम्परावादी र रुढीवादी सोच रहेकी धनमाया अहिले धेरै कुरामा आधुनिकसमेत बनेकी छिन्। नेपालभाषी समुदायमा पूजा कोठा तथा भान्छा कोठामा जुत्ता लगाउनुहुन्न भन्ने संस्कार रहेको छ। त्यस्तै आफन्त वा घरपरिवारबाहेक विदेशी वा स्वदेशी पाहुनालाई भान्छा कोठामा लैजाने नेवारी परम्परामा छैन। त्यस्तै खाना वा खाजा खाँदा खानेकुरा थप्नुपर्यो भने नखाएको हातसमेत पानीले चोख्याउने संस्कार नेपालभाषी समुदायमा छ तर विदेशी पाहुनालाई चोखोनितोको मतलव हुँदैन।
‘फेमिली स्टेमा आएका पर्यटकहरुसँग कुराकानी गर्दै र घरपरिवारका अन्य सदस्यले सिकाएर मैले स्कुलमा पाइलै नटेकी अंग्रेजी बोल्न जानेकी हुँ’, खुसीसाथ धनमायाले भनिन्, ‘फेमिली स्टेले मलाई पुरातनवादीबाट आधुनिकसमेत बनायो।’