स्याङ्जामा थप ३ जनाले जिते कोरोना
स्याङजा : स्याङ्जामा आइतबार थप ३ जनाले कोरोना जितेको छन्। तेस्रो पटक गरिएको पीसीआर परीक्षणमा उनीहरुको रिपोर्ट नेगेटिभ आएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराको प्रयोगशालाले जनाएको छ । उनीहरु अस्पताल बसाइको १६ र १८ औं दिनमा घर फर्किएका हुन् । वालिङको क्वारेन्टाइनमा रहेका २० र २९ वर्षीय युवा जेठको १३ गते र अर्का २६ वर्षीय युवा १५ गतेदेखि जिल्ला अस्पतालको आइसोलेसनमा रहेका थिए ।
कोरोना संक्रमण जितेसँगै उनीहरुलाई जिल्ला अस्पताल स्याङजाबाट डिस्चार्ज गरिएको हो । वालिङ नगरपालिकाल पठाएको सवारी साधन चढेर उनीहरु आ-आफना घरतर्फ लागेको अस्पतालले जनाएको छ ।
कोरोना जित्नेमा वालिङ नगरपालिकाका २०, २६ र २९ वर्षीय पुरुष हुन्। उनीहरुलाई अस्पतालका प्रमुख डा. शुशिल मरासीनीलगायत चिकित्सकीय समूहले विदाइ गरेका हुन्।
अस्पतालले २ हप्ता होम क्वारेन्टाइनमा बस्ने गरी डिस्चार्ज गरेको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर अन्जु अर्यालले जानकारी दिइन् । यसैसाता, अस्पतालको आइसोलेसनमा रहेका ३ जनाले कोरोना जितेर घर गइसकेका छन् । अब जिल्ला अस्पतालको आइसोलेसनमा कोही छैनन् । जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका ६ जना सबै घर फर्केका छन्।
भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा एक महिलासहित ५१ जना उपचारत छन् । ६ जनाले कोरोना जितेका छन् भने २ जना पोखरामा उपचाररत छन् । कोरोनाबाट ६० वर्षीय एक पुरुषको मृत्यु भइसकेको छ। योसँगै जिल्लामा संक्रमितको संख्या ६० पुगेको छ ।