सप्तरीमा दुई परिवारका चारसहित १० कोरोना संक्रमित थपिए
राजविराज : सप्तरीमा आइतबार दुई परिवारका चार जना सहित १० जना संक्रमित थपिएका छन् ।
१० जनामध्ये चार जना दुई परिवारका आमा–छोरा र बुवा–छोरा हुन् । भारतको दिल्लीबाट आएका आमा–छोरा र अर्को परिवारका भारतको चण्डीगढबाट आएका बुवा–छोरामा कोरोना संक्रमण देखिएको बोदे बर्साइन नगरपालिका स्वास्थ्य संयोजक बैद्यनाथ साहले बताए ।
बोदे बर्साइन नगरपालिका–५ की ४० वर्षीया महिला र उनका ५ वर्षीय छोरा तथा वडा नम्बर १० का ३८ वर्षीय पुरुष र उनका ५ वर्षीय छोरामा संक्रमण पुष्टि भएको स्वास्थ्य संयोजक साहले बताए ।
यस्तै बोदे बर्साइन नगरपालिका वडा नम्बर १ र ६ का ३६ र ३८ वर्षीय तथा वडा नम्बर ५ र ६ का क्रमशः ४२ र २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको साहले बताए ।
खडक नगरपालिका–५ का १८ र ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय सप्तरीका वरिष्ठ मलेरिया अधिकृत नारायणप्रसाद राउत बरैले जानकारी दिए । संक्रमितहरु सबै जना भारतको दिल्ली, चण्डीगढ, महाराष्ट्र, हरियाणाबाट आएर क्वारेन्टाइनमा बसेका हुन् । यस समेत सप्तरीमा संक्रमित हुनेको सङ्ख्या १ सय ४८ पुगेको छ । जसमा ९ जना महिला छन् ।
सप्तरीको बोदे बर्साइन नगरपालिकामा ३२, हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिकामा २७÷२७, छिन्नमस्ता गाउँपालिकामा १५, राजगढ गाउँपालिकामा १३, राजविराज र डाकनेश्वरी नगरपालिकामा १२÷१२, खडक नगरपालिकामा ३, कञ्चनरुप नगरपालिकामा २, सुरुङ्गा र शम्भुनाथ नगरपालिका तथा बिष्णुपुर, तिरहुत र महादेवा गाउँपालिकामा १÷१ जना संक्रमित पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।