अझै झस्किन्छन् रुकुम घटनाका घाइते

अझै झस्किन्छन् रुकुम घटनाका घाइते

जाजरकोट : जिल्लाको भेरी नगरपालिका–४ का सुदीप खड्काको शरीरको चोट बिस्तारै ठिक हुँदैछ। तर, घटनाको पीडा र त्रास भने बढ्दो छ। बेलाबेला आफैं त्यही घटना सम्झेर झस्किन्छन्, अनि तर्सिन्छन् पनि।

भेरी नगरपालिकाका नवराज विकसहित ६ जनाको ज्यान जाने गरी गत जेठ १० गते रुकुमको चौरजहारमा भएको घटनाका घाइते हुन् सुदीप। सुदीपसहित १२ जनाले बल्लतल्ल ज्यान जोगाए। तर उनीहरूलाई मरणासन्न हुनेगरी कुटिएको थियो। गाउँलेले चिर्पट, हँसिया, ढुंगाले हान्दाहान्दै सुदीपलाई प्रहरीले समातेर मिसन अस्पताल लगेको थियो। त्यहाँ उनले सकसपूर्ण दुई रात बिताए। पूरा निको नभए पनि उनी त्रासकै कारण घर फर्किए।

बेलाबेला उनलाई त्यही नवराज लगायतका साथीले ‘बचाउ बचाउ’ भनेको आवाज कानमा गुञ्जिरहन्छ। ‘मेरै आँखाअगाडि मारेर भेरीमा फालेको दृश्य फनफनी घुमिरहन्छ, मलाई पनि समातेर निकै कुटे। अहिले पनि शरीर दुखिरहेको छ, धेरै दिन त्यही घटनाको सपना देखें। कहिलेकाँही सपनामै बर्बराउँदोरहेछु’, उनले पीडा सुनाए।

उनलाई टाउकोमा ढुंगा र चिर्पटले हानेकाले भित्र रगत जमेको छ भन्ने डर छ। तर हालसम्म पनि उनको टाउकोको सिटी स्क्यान हुन सकेको छैन। शरीरका अन्य भागमा लागेको चोटको पनि भित्री जाँच भएको छैन। भेरी नगरपालिका ४ कै मदन शाही पनि घटनापछि निकै तनावमा छन्। शारीरिक चोट एकातिर छ भने मानसिक समस्या पनि उत्तिकै छ। उनी एक्लै टोलाउँछन्। ‘सुतेको बेलासमेत मलाई नमार्नोस् भन्छ’ मदनकी आमा लक्ष्मी शाहीले भनिन्।

सुविधा सम्पन्न अस्पताल लिएर शारीरिक र मानसिक समस्याको उपचार गर्ने सोच भए पनि आर्थिक अभावले कतै लिन नसकेको उनले बताइन्। ‘घरी पुलिसले बोलाउँछ, घरी को आउँछन् बोलाउँछन्। के भएको हो भनेर सोध्छन्। ऊ आफैं समस्यामा छ। दसथरी मान्छेलाई कति बयान दिनु ? ’, लक्ष्मीले भनिन्, ‘अहिले पनि छोरो डराइरहेको छ। सत्य बोले आफूलाई पनि मारिदिने हुन् कि भन्ने त्रासमा छ।’ गाउँलेले लखेटी–लखेटी कुटेको घटना मानसपटलमा ताजै छ भेरी नगरपालिका ३ का महेश कार्कीसँग। त्यसमाथि ६ जना साथी गुमाएको पीडा।

‘जतिबेला पनि हामीलाई लखेटेर ढुंगा हानेको झल्को आउँछ, मुटु काँप्छ, निदाउनै सक्दिनँ। बल्लतल्ल निदाए पनि त्यही घटनाले झस्काइहाल्छ’, उनले भने। भेरी तरेर जाजरकोट आइसकेपछि पनि उनी कुटिएका थिए। सुदीप, मदन र महेश मात्र होइन, घटनामा परी बाँच्न सफल १२ जनाको अवस्था यतिबेला असामान्य छ। प्रायः सबै घाइतेलाई मानसिक तनावमा छन्। घाइते सबैले नवराजसहित ६ जनालाई नै हत्या गरी फालेको बयान दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.