नेपालमा इन्टरनेट प्रयोगकर्ता २ करोड १९ लाख
काठमाडौं : नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या दुई करोड १९ लाख १४ हजार ६८ पुगेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले हालै सार्वजनिक गरेको २०७६ चैतसम्मको तथ्यांकअनुसार विभिन्न सेवामार्फत इन्टरनेट चलाउने नेपालीको संख्या दुई करोड १९ लाख १४ हजार पुगेको हो। २०७५ चैतमा इन्टरनेट प्रयोगकर्ता एक करोड ८२ लाख ४८ हजार ४ सय ६१ जना थिए।
एक वर्षको अविधिमा करिब ५ प्रतिशतले इन्टरनेट प्रयोगकर्ता बढेका हुन्। यस अवधिमा ३६ लाख ६५ हजार ६ सय ७ जनामा इन्टरनेटको पहुँच पुगेको छ।
प्राधिकरणका अनुसार धेरै नेपालीले मोबाइल डाटाको सहयोगले इन्टरनेट प्रयोग गर्छन्। कुल इन्टरनेट प्रयोगकर्तामध्ये एक करोड ६५ लाख १९ हजार ९८७ मोबाइल इन्टरनेट प्रयोगकर्ता र फिक्ड तथा वायरलेस इन्टरनेट प्रयोगकर्ता ५३ लाख ९४ हजार ८१ छन्। मोबाइल इन्टरनेटको हिस्सा ७५ प्रतिशत र फिक्ड र वायरलेस इन्टरनेटको हिस्सा २५ प्रतिशत छ।
प्रविधि र आधुनिकतासँगै इन्टरनेट प्रयोगकर्ता बढ्दो क्रममा रहेको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्याल बताउँछन्। ‘संसारभर नै भ्याइसभन्दा डाटा प्रयोगकर्ता बढ्दो क्रममा छन्। सूचना प्रविधि विस्तार गर्ने सरकारी नीति छ। यसका लागि सरकारले डिजिटल नेपाल अभियान सुरु गरिसकेको छ’, प्रवक्ता अर्यालले भने, ‘पछिल्लो समय पूर्वाधार विस्तार प्राथमिकतामा रहेकाले पनि इन्टरनेटको पहुँच बढेको छ।’
प्राधिकरणले ग्रामीण दूरञ्चार विकास कोष परिचालन गरी मुलुकभरका स्थानीयतह, स्वस्थ्य संस्था तथा सामुदायिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट पुर्याउने काम गरेको छ। यस परियोजनामार्फत ४१ जिल्लामा शतप्रतिशत ब्रोडब्यान्ड इन्टरनेट पुगिसकेको उनले जानकारी दिए। निजी टेलिकम र इन्टरनेट सेवा प्रदायक (आईएसपी)ले पूर्वाधार निर्माणमा उल्लेखनीय प्रगति हासल गरेका छन्। ग्राहकको आकर्षण र सेवा विस्तारले गर्दा इन्टरनेट प्रयोगकर्ता बढेको पाइन्छ।
नेपालमा २०५६ सालदेखि जीएसएम मोबाइल र २०५७ देखि मोबाइल इन्टरनेट सुरु भएको हो। सर्वसाधारण नेपालीको पहुँचमा मोबाइल सेवा पुगेसँगै २०६४ बाट थ्रीजी र २०७३ देखि फोरजीको सेवाको सुरुवात पनि भएको छ।
मोबाइल डाटाको बढ्दो प्रयोगकर्ताकै करण यसको सेवाग्राही ७५ प्रतिशत पुगेका छन्। इन्टरनेट सेवा प्रदायक (आईएसपी) ले फिक्स र वायरलेसमार्फत १९.३७ प्रतिशत बजार हिस्सा ओगटेको छ। आईएसपीको प्रयोगकर्ता ४२ लाख ४५ हजार ८ सय ५४ छन्। आईएसपी जडान गर्ने ग्राहक संख्या ११ लाख पाँच हजार ११७ पुगेको छ। प्राधिकरणका अनुसार आईएसपीबाट लिएको सेवा एउटै घरका चार÷पाँच जनाले प्रयोग गर्न सक्छन्। परिवारका बीचमा सेयर गरेर चलाउने सकिने भएकाले पनि थोरै संख्यामा इन्टरनेटको पहुँच विस्तार भएको देखिए पनि सेवाको पहुँचको दायरा भने फराकिलो भएको छ।
मोबाइल इन्टरनेटको सेवा प्रदान गर्नेमा अग्रपंतीमा नेपाल टेलिकम छ। नेपाल टेलिकमको सेवाग्राही एक करोड ६ लाख ७७ हजार ६ सय २० जना छन्। यो कम्पनीले मोबाइल डाटा, एडीएसएल, वाइम्याक्स, ईभीडीओ, केबल, इन्टरनेट लिज लाइन, रेडियो वाईफाईबाट सेवा प्रदान गरिरहेको छ। नेपाल टेलिकमको बजार हिस्सा ४८.७२ प्रतिशत छ। दोस्रो स्थानमा मोबाइल डाटालाई प्राथमिकता दिएर बजार विस्तार गरिरहेको एनसेलको बजार हिस्सा ३०.७६ प्रतिशत छ। यसका प्रयोगकर्ता ६७ लाख ४१ हजार १५० जना छन्। स्मार्ट टेलिकमको बजार हिस्सा १.१५ प्रतिशत छ। यसको ग्राहक दुई लाख ४९ हजार जना छन्।
इन्टरनेटको अवस्था
कम्पनी ग्राहक संख्या
नेपाल टेलिकम १०६७७६२०
एनसेल ६७४११५०
स्मार्ट २४९
आईएसपी ४२४५८५४