संक्रमित ३ वर्षे बालकलाई पुगेन पौष्टिक आहार
स्याङजा : स्याङजाका ३ बर्षे कोरोना संक्रमित बालकलाई अन्य वयस्यसरहको खाना र खाजा मात्रै दिने गरिएको छ । कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा रहेका ती बालकले अन्य पौष्टिक आहार पाउन सकेका छैनन्।
उनलाई शारिरीक एवं मानसिक विकासका लागि भिटामिन र मिनरल्सका धेरै खानेकुरा चाहिन्छन् । बच्चालाई थोरै–थोरै गर्दै दिनभरमा धेरै पटक खुवाउनुपर्छ । तर, अस्पतालमा ल्याइएको प्याकेटिङका खानामै सीमित छन् उनी। नाबालक बालकले दुध समेत पाएका छैंनन् ।
आइसोलेसनमा रहेका ५१ जनाले दिनमा दुई पटक खाना र दुई पटक खाजा खाने गर्छन् । बिहान अण्डा र चना, बिहान र साँझको खाना दाल, भात, तरकारी र दिउँसोको खाजामा अम्लेट, रोटी, भुजा, तरकारी दिने गरेको प्रशासकीय अधिकृत छायाँदत्त रेग्मीले जानकारी दिए ।
बालकले पनि सोही खाना खान्छन् । ‘आइसोलेसनमा उपचाररत एक बालकले दुध पनि खान नपाउनु अत्यन्तै दुखद पक्ष हो ।’ प्रमुख रेग्मी भन्छन् । स्वास्थ्यकर्मीका अनुसार १ देखि ३ वर्ष उमेरका एक शाकाहारी बालकले दैनिक १५० ग्राम अन्न खानुपर्ने हुन्छ । त्यस्तै, दाल ५० ग्राम, हरियो तरकारी ५० ग्राम, फलफूल ५० ग्राम, दूध ३०० ग्राम, घिऊ वा तेल २० ग्राम र चिनी तथा शख्खर कम्तिमा ३० ग्राम खानु पर्ने हुन्छ ।
यसैगरी, सोही उमेर समूहका मांसाहारी बालकले अन्न १५० ग्राम, दाल ४० ग्राम, हरियो तरकारी ५० ग्राम, फलफूल ५० ग्राम, दूध २०० ग्राम, घिऊ तथा तेल २० ग्राम, मासु तथा अण्डा ३० ग्राम र चिनी ३० ग्राम खानु पर्दछ ।
ती बालक परिवारका साथ जेठ ११ गते भारतबाट सुनौली नाका हुँदै नेपाल आएका थिए । १३ गतेदेखि पालिकाको क्वारेन्टाइनमा बसेका हुन् । पीसीआर परीक्षणका क्रममा जेठ ३० गते उनमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । रिपोर्टमा ती बालकमा मात्र कोरोना संक्रमण देखिएपछि विगत ४ दिनदेखि उनकी १९ वर्षीया आमासंगै आइसोलेसनमा छिन् । पीसीआर रिपोर्ट नेगेटिभ देखिएकी आमा पनि छोरासँगै बसेकी हुन । छोराको उचित रेखदेख र स्याहार सुसारका लागि भन्दै उनी आइसोलेसनमा बसेकी हुन् ।
कोरोना संक्रमण नदेखिएकी उनी अहिले संक्रमितहरुसँगै बसेकी छन् । २२ जना संक्रमित राखिएको सो वार्डमा छोरालाई स्याहार्दै बसेकी छिन् । उनीसँगै आउने अरु कसैमा पनि संक्रमण देखिएन् । तर, छोरामा मात्र कसरी भयो रहस्यमय छ । ती बालकमा पनि कुनै समस्या र लक्षण देखिएको छैन । उसको स्वास्थ्य अवस्था सामान्य रहेको आमाले भनिन् ।
कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा ५० जना उपचाररत छन् । ७ जना कोरोना जितेर घर फर्केका छन् । थप उपचारका लागि २ जना पोखरा पठाइएको छ । एक जनाको निधन भइसकेको छ । जिल्लामा संक्रमितको संख्या ६० पुगेको छ ।