अमेरिकामा रोकिएका नेपाली जुन २३ र २५ तारिखमा आउँदै
अमेरिका : कोरोना महामारीका कारण महिनौंदेखी अमेरिकामा रोकिएका नेपाली नागरिक अन्तत देश फर्किन पाउने भएका छन् । नेपाल सरकारको अनुमति अनुसार यही जुन महिनाको २३ र २५ तारिखका दिन अमेरिकाबाट नेपालका लागि चारवटा बिमान उड्नेछन् ।
अमेरिकामा रहेको नेपाली दूतावासले दिएको जानकारी अनुसार न्यूयोर्क, शिकागो, वासिंटनडिसी र टेक्सासको डालसबाट उडान हुनेछ । जुन २३ तारिखका दिन न्यूयोर्कबाट टर्किस एयरलाइन्स र सोही दिन वासिंटनडिसीबाट कतर एयरवेजले नेपालका लागि उडान भर्नेछन् । यसैगरी जुन २५ तारिखका दिन शिकागोबाट टर्किस एयरलाइन्स र सोही मितिमा डालसबाट कतार एयरवेजले नेपालका लागि प्रस्थान गर्नेछन् ।
सोमबार प्रेसबिज्ञप्ती जारी गर्दै वासिंटनडिसीमा रहेको नेपाली दूतावासले नेपाल फर्किने चाहना भएकाहरुले अनलाइन मार्फत फर्म भरेकाहरुको प्राथमिकताका आधारमा क्रम संख्या सूची सम्बन्धित बिमान कम्पनीलाई उपलब्ध गराइने जनाएको छ ।
तोकिएका बिमानमार्फत नेपाल फर्किनका लागि दूतावासले सम्बन्धित हवाई संस्थाले तोकेका आधिकारिक एजेन्सीको नम्बरमा सम्पर्क गर्न सुझाव दिँदै सम्पर्क नम्बर समेत राखि दिएको छ ।हवाई यात्राका लागि नेपाली पासपोर्ट वा नेपाल सरकारबाट जारी भएको यात्रा अनुमति पत्र अर्थात ट्राभल डकुमेन्ट अनिवार्य साथमा हुनुपर्नेछ । यस्तै यात्रुहरुले पीसीआर वा आरडिटी टेस्ट अनिवार्य गरेको हुनुपर्ने भनिएको छ । यस्तै नेपाल फर्किएपछि सरकारले तोकेको स्थानमा अनिवार्य क्वारेन्टाइन बस्नुपर्नेछ ।
सरकारले तोकेको भाडा अनुसार अमेरिकाबाट नेपाल फर्किने यात्रुले टर्किस बिमान कम्पनीबाट फर्किँदा करसहित १५३७ अमेरिकी डलर तिर्नुपर्नेछ भने कतार एयरवेज कम्पनीबाट फर्किँदा करसहित १६ सय अमेरिकी डलर तिर्नुपर्नेछ ।
उडान सम्बन्धी विस्तृत बुझनका लागि दूवासमा सम्पर्क गर्न सकिने जनाइएको छ । यस्तै बिमान कम्पनीका बारेमा बुझनका लागि टर्किस एयरलाइन्सको काठमाडौंको कार्यलय नम्बर ४४३८३६३ मा र कतार एयरवेजको काठमाडौंको कार्यलय नम्बर ४४४०४६७ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
महिनौंदेखि अमेरिकामा रोकिएका नेपाली नागरिकले नेपाल सरकारका विभिन्न निकाय र अमेरिकामा रहेको राजदूतावासमा पटक पटक हारगुहार गरिहरेका थिए । उनीहरुले खर्च सकिन थालेको, भिषामा समेत समस्या आएको र नेपालमा परिवारको रेखदेख गर्नुपर्ने भन्दै सरकारसँग आग्रह गर्दै आएका थिए ।
नेपाल फर्किने निधो भएपछि उनीहरुमा खुसी छाएको छ । महिनौंदेखिअमेरिकामा रोकिएका नेपाली नागरिक शान्तराज बतासले अन्नपूर्णसँग भने, ढिलै भएपनि नेपाल फर्किने पक्का भयो खुसी छौं । अमेरिकामा रहेका केही नेपालीहरुले भने एकतर्फी भाडादर महंगो भएको गुनासो समेत गरेका छन् ।