रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनबाट भागेका ३५ जना पक्राउ
सन्धिखर्क : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको क्वारेन्टाइनबाट भागेका ३५ जना पक्राउ परेका छन् । भुमिकास्थान नगरपालिका १ र २ ढाकावाङको क्वारेन्टाइनबाट भागेका ३५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
क्वारेन्टाइनमा बसेको २५ दिनभन्दा पनि बढी भएको र जेठ २२ गते पीसीआर परीक्षणका लागि पठाएको रिपोर्ट १४ दिन पुग्दासम्म नआएको भन्दै उनीहरु एकाएक क्वारेन्टाइनबाट भागेका थिए । भागेर घरतर्फ जान हिँडेका उनीहरुलाई प्रहरीले पक्राउ गरी फेरी क्वारेन्टाइनमै पठाएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक माधब बुढाथोकीले बताए ।
उनीहरु भारतको दिल्ली, हरियाना, पंजाब, केरलालगायतको ठाउँबाट आएर स्थानीय सरकारले बनाएको क्वारेन्टाइनमा बसेका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको बताएको छ ।
पीसीआर परीक्षण जिल्लामा नहुँदा स्वाब संकलन गरेर प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहवा, दांग , चितवन र काठामाडौंमा पठाइँदै आएको छ । स्वाब पठाएको १४ दिन हुँदासम्म रिपोर्ट नआएपछि क्वारेन्टाइनमा बसेकाहरु आन्दोलित बनेका छन्।