पत्रकारको कोरोना र दुर्घटना बिमा
सन्धिखर्क : नेपाल प्रेस युनियन अर्घाखाँचीले आफ्ना सदस्यहरुका लागि कोरोना बिमा र दुर्घटना बिमा गरेको छ । युनियनले कोरोना (कोभिड–१९) को बढ्दो जोखिमका बाबजुद नागरिकलाई सुचना प्रवाह गर्न समाचार संकलनको लागि फिल्डमा खटिनुपर्ने पत्रकारहरुको लागि प्रतिव्यक्ति रु १ लाख बराबरको कोरोना बिमा गरेको हो ।
त्यस्तै फिल्ड रिपोटिङ गर्दा दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै युनियनका सबै सदस्यहरुको लागि प्रतिव्यक्ति रु २ लाख रुपैयाँको दुर्घटना बिमा गरेको छ ।
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलकी सचेतक एवं कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल, प्रदेश–५ कांग्रेस संसदीय दलकी सचेतक निर्मला क्षेत्री र नेपाली कांग्रेस ढिकुरा गाउँ कार्यसमितिका सभापति उमेश घिमिरेको विशेष सहयोगमा फिल्डमा खटिनुपर्ने ३६ जना पत्रकारको लागि कोरोना विमा र ६२ जना युनियनकर्मीका लागि दुर्घटना बिमा गरिएको नेपाल प्रेस युनियन अर्घाखाँचीका सभापति वीरेन्द्र केसीले बताए ।
कांग्रेस नेतृ पुष्पा भुसालले कोरोना संक्रमणको जोखिममा रहेर जनतालाई सुचना प्रवाहको काममा खटिनुपर्ने पत्रकारको स्वास्थ्य सुरक्षामा सबै निकाय गम्भीर हुनुपर्ने बताए । उनले जनतालाई सही सुचना दिने काममा सर्तक रहेर समाचार संकलन गर्न आग्रह गरिन् । सांसद भुसालले यस अघि कोरोना महामारीमा बेला अर्घाखाँचीका ६ स्थानीय तहलाई २१ हजार रुपैयाँका दरले नगद सहयोग प्रदान गरेकी थिइन् ।
सांसद निर्मला क्षेत्रीले दुर्घटनाको जोखिमका बाबजुद खटिने पत्रकारको लागि सबैले गम्भीर भएर सहयोग गर्नुपर्ने बताइन् ।पहिलो चरणमा कोरोनाको जोखिमलाई छल्दै विभिन्न सञ्चारमाध्यममा काम गर्ने ३६ जना पत्रकारको कोरोना बिमा गरिएको र चरणबद्ध रुपमा कोरोना बिमा कार्यक्रमलाई जारी राखिने प्रेस युनियनले जनाएको छ ।