लकडाउनमा बढ्यो महिला हिंसा
काठमाडौं :
घटना १
शनिबार राती कैलालीस्थित लम्कीचुहा नगरपालिकामा शहीद स्मृति आधारभूत विद्यालयको क्वारेन्टाईनमा बसेकी ३१ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। क्वारेन्टाईनमा कार्यरत स्वास्थ्यकर्मी किशोर परियार र स्वयंसेवकहरु लक्ष्मण विक र सर्जन बिकलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ। ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पीडित महिलासँगको बयानपछि आरोपीलाई नियन्त्रणमा लिएको हो।
घटना २
पर्साको ठोरी गाउँपालिकास्थित स्याउली बस्तीमा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ परे। ४५ वर्षीय बाबुले ११ वर्षीया छोरीलाई आइतबार मदिराको नसामा बलात्कार गरेको आरोप पीडित परिवारको छ। बालिका चिच्याउन थालेपछि छरछिमेकी र आफन्तले नै बालिकाको उद्धार गरे। प्रहरी चौकी विजय बस्तीको टोलीले सोही दिन राती छोरी बलात्कारको आरोपमा बाबुलाई पक्राउ गरेको थियो। मदिराको नशामा बाबुले आफूलाई यसअघि पनि पटकपटक बलात्कार गरेको पीडित बालिकाको आरोप छ।
यी दुई घटना कोरोना भाइरस (कोभिड १९) ले मुलुक चपेटामा परिरहेका बेला भएका गम्भीर प्रकृृतिका अपराध हुन्। लकडाउनमा परिवारसँगै भएका बेला होस् वा अन्य अवस्थामा आपराधिक मनोवृत्ति भएका व्यक्तिले अपराध गरेको देखिन्छ। राष्ट्रिय मानव अधिकार आयोगलेसमेत लकडाउनमा हुनसक्ने महिला बालबालिकाविरुद्धका अपराध नियन्त्रणकालागि सरकारको ध्यानाकर्षण गराईरहेको छ। सुरक्षाकर्मी परिचालनको संख्या बढेपनि यस्ता प्रकृतिका अपराध नियन्त्रणमा भने खासै सुधार देखिदैन।
प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउनको अवधि (चैत ११ देखि जेठ ३२) भित्र देशभर महिला बालबालिका विरुद्ध एक हजार नौ सय ४६ वटा आपराधिक घटना भएका छन्। सबै भन्दा बढी आत्महत्या र त्यसपछि घरेलु हिंसाका घटना भएका छन्। प्रहरी मुख्यालयका अनुसार आत्महत्याका सात सय १९ र घरेलु हिंसा (प्रहरीमा दर्ता भएका मात्रै) ६ सय ३८ वटा घटना प्रहरी अभिलेखमा छ। घरेलु हिंसापछि बलात्कारका घटना धेरै भएका छन्। लकडाउनको तीन महिनाको अवधिमा बलात्कारका मात्रै तीन सय ७३ वटा घटना प्रहरीमा दर्ता भएका छन्। यो संख्या सामान्य अवस्थाको भन्दा धेरै हो।
लकडाउनको अवधि (चैत ११ देखि जेठ ३२) भित्र देशभर महिला बालबालिका विरुद्ध एक हजार नौ सय ४६ वटा आपराधिक घटना भएका छन्।
प्रहरी मुख्यालयका अनुसार बहुविवाह, जातिय विभेद, छुवाछुत, अवैध गर्भपतन, बालयौन दुव्र्यवहार र अप्राकृतिक मैथुन गरि एक हजार नौ सय ४६ वटा घटना भएको प्रहरी मुख्यालयले जनाएको छ। तीन सय ७३ वटा बलात्कारका घटना मध्ये दुई वटा सामुहिक बलात्कार र एउटा बैवाहिक बलात्कारको घटना छ। त्यसैगरी, एउटा श्रीमान्बाट, २४ वटा छिमेकीबाट, दुई वटा बुबाबाट, एउटा दाजुबाट, एउटा वटा परिवारका सदस्यवाट र अन्य चिनजानकै व्यक्तिबाट भएको प्रहरी मुख्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआइजी) निरजबहादुर शाहीले जानकारी दिए। उनका अनुसार घरेलु हिंसाका घटनामा लोग्नेले कुटपीट गरेको, खान लगाउन नदिएको, श्रीमान्ले रक्सी सेवन गरेर लछारपछार पारेको, सासु ससुराले बुहारीलाई माईतबाट सम्पत्ति नल्याएको भन्दै कुटपीट गरेको, बुहारीले सासुलाई घरबाट निस्कन भनेको जस्ता विषय समेटिएका छन्।
घरेलु हिंसाका ६ सय ३८ वटा घटनामा सबै भन्दा बढी १६ देखि ३० वर्ष उमेर समूहका हिंसाबाट प्रभावित भएको पाइएको छ। यो उमेर समूहका तीन सय ३८ जना महिला हिंसाको सिकार भएका बनेका छन्। ३१ देखि ४० वर्ष उमेर समूहका एक सय पाँच जना, ४१ देखि ४५ बर्ष उमेर समूहका ४० जना, ४६ बर्ष भन्दा माथिका ८७ जना महिला हिंसाको सिकार बनेका छन्। १६ बर्षभन्दा कम उमेरका ६८ जना बालिका हिंसाबाट प्रभावित भएका प्रवक्ता शाहीले जानकारी दिए।
समाज अझै चेतनशिल भएको छैन
- प्रहरी प्रवक्ता, निरजबहादुर शाही
लकडाउनको अवधिमा परिवारसँगै रहँदा पनि महिला बालबालिका विरुद्धका अपराधका घटना नियन्त्रणमा नआउनुमा चेतनाको अभाव प्रष्ट देखिन्छ। खासगरी गरिबीसँग जोडिएको आर्थिक अभाव, बेरोजगारीले हुने मानसिक तनाव जस्ता कुराले अपराध जन्मिएको देखिन्छ। समाज अझै चेतनशिल नभएको यो ज्वलन्त उदाहरण पनि हो। हाम्रो समाज अझै परिस्कृत भएको देखिदैन। तपाईले उपत्यकामै हेर्नु भयो भने थाहा हुन्छ।
उपत्यकामै महिला हिंसाका ७८ वटा घटना प्रहरीमा दर्ता भएका छन्। केन्द्रको अवस्था यो छ। अरु विकट ठाउँको अवस्था झन् दयनीय छ। बलात्कारका अधिकांश घटनामा आफन्त नै पीडक देखिन्छन्। हामीले महिला हिंसाका घटना न्युनिकरण गर्न प्रहरी समुदाय साझेदारी कार्यक्रममार्फत सचेतना गर्दै आएका छौं। यसले पनि केही हदसम्म न्युनिकरणमा प्रभावकारी भूमिका खेलेको छ। प्रहरीले अपराधमा संलग्नलाई खोजीखोजी कानुनी दायरामा ल्याईरहेको छ।
पीडित र पीडकसँगै हुँदा हिंसाका घटना धेरै
-मनोविद्, गोपाल ढकाल
लकडाउनमा महिला बालबालिका विरुद्ध हुने घटना धेरै भएका छन्। खासगरी यो समयमा पीडित र पीडकसँगै एउटै घरमा बस्ने भएकाले पनि यस्ता घटना धेरै भएका हुन्। समान्य अवस्थामा दुव्र्यवहारका घटना हुँदा पीडितले भागेर कसैको सहयोग माग्न सक्थ्यो। तर, अहिले परिवारका सदस्य एउटै घरमा रहदा त्यो संभावना रहँदैन। यौन हिंसा, जवर्जस्ती करणी, कुटपीट जस्ता महिला हिंसाका घटना मानसिक तनावले बढी सिर्जित हुन्छन्। मान्छेमा मेनिया भन्ने मानसिक रोग देखापरेपछि उसमा चिटचिटाहट बढी हुने, कसरी आनन्द लिने वा आफ्नो मनलाई कसरी खुसी राख्ने भन्नेमै उसको ध्यान जान्छ। उ विस्तारै डिप्रेसनमा जान्छ। फलस्वरुप उसले यौन हिंसाको बाटो रोज्छ।
अर्को तनाव धेरै भएका बेला मानिसले मदिरा सेवन गर्छ। म्दिरा पिएपछि उसले आवेगमा अपराध गर्छ। जुन योजनावद्ध हुँदैनन्। तनावमा मानिसले अरु मनोरञ्जनको साधन भेट्दैन। उसले यौनमा रमाउँन खोज्छ र जवर्जस्ती करणीका घटना गराउँछ। यस्तो अवस्थामा घर परिवारमा तनाव व्यस्थापनका लागि विभिन्न उपाय अपनाउनुपर्ने देखिन्छ। एकले अर्कोको भावना बुझ्ने कोसिस गर्नुपर्छ। मनसिक बिरामीको लक्ष्मण देख्ने बित्तिकै उपचारमा लाग्नुपर्छ।