दैलेखमा कोरोना संक्रमितको संख्या ६३४ पुग्यो, १८५ जना डिस्चार्ज
दैलेख : दैलेखका कोरोना संक्रमितको संख्या ६ सय ३४ पुगेको छ। मंगलबार दुल्लु नगरपालिकामा पाँच जनामा संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतले गरेको पिसिआर परिक्षणमा यस्तो नतिजा देखिएको हो। दुल्लु नगरपालिका–३ का एक, ५ का एक, ७ का दुई र ११ का एक जनामा संक्रमण देखिएको हो।
कोरोना संक्रमित मध्ये नारायण नगरपालिकाका एक सय ९९ जना, नौमूले गाउँपालिकाका एक सय ४२ जना, महाबु गाउँपालिकाका एक सय ८ जना, दुल्लु नगरपालिकाका ७२ जना, डुङ्गेश्वर गाउँपालिकाका ६८ जना रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखले जनाएको छ। यस्तै आठबीस नगरपालिकाका २१ जना, भगवतीमाई गाउँपालिकाका ९ जना, भैरबी गाउँपालिकाका ९ जना, ठाटीकाँध गाउँपालिकाका ३ जना, गुराँस गाउँपालिकाका२ जना र चामुण्डाविन्द्रासैनी नगरपालिकाका १ जना छन्।
स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड–१९ फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार मंगलबारसम्म विभिन्न स्कुलका आइसोलेसनबाट ७ महिलासहित एक सय ८५ जना घर फर्किएका छन्। नारायण नगरपालिकाका एक सय ४५, दुल्लु नगरपालिकाका ३४, डुङ्गेश्वर गाउँपालिकाका ३, गुराँस गाउँपालिकाका २ जना घर फर्किएका छन्। कर्णाली प्रदेशकै पहिलो संक्रमित युवा गत साता प्रदेश अस्पताल सुर्खेतको कोरोना विशेष अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। उनी आठबीस नगरपालिका-१ सात्तलाका हुन्।