मुस्ताङमा ३ महिना बिताएर स्वदेश फर्किए ५ विदेशी पर्यटक
जोमसोम : मुस्ताङमा ८५ औं दिन अर्थात् झन्डै ३ महिना बिताएर ५ विदेशी पर्यटक बिहीबार स्वदेश प्रस्थान गरेका छन् । जिल्ला प्रशासन कार्यालय तथा अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एक्याप जोमसोमको समन्वयमा सम्बन्धित दूतावासको सिफारिसमा गृह मन्त्रालयले उनीहरुलाई मुस्ताङबाट फर्किने प्रवेशआज्ञा अनुमतिपत्र उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ ) रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेसँगै मुस्ताङमा सयौं पर्यटक अलपत्र परेका थिए । लकडाउनले अलपत्र करिब २ सय पर्यटक सम्बन्धित दूतावासको पहलमा २ महिना अघिनै स्वदेश फर्किसकेका छन् भने अझै ११ जना विदेशी पर्यटक सुरक्षित महशुस गर्दै मुस्ताङमै छन् । मुस्ताङमा रहेका कुल ११ पर्यटकमध्ये ५ विदेश पर्यटक स्वदेश प्रस्थान गरेको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना एकयाप जोमसोमका कार्यालय प्रमुख तुलसीप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार मुस्ताङबाट स्वदेश प्रस्थान गर्नेमा स्वीडेन युएसए ,फ्रान्स,ईटाली र जर्मन गरी ५ देशका १/१ जना विदेशी पर्यटक छन् ।
एकयाप जोमसोमले मुस्ताङबाट ५ पर्यटक बाहिरिए पनि अझै ६ पर्यटक जिल्लामा रहेको बताएको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-२ छेङ्गुरमा ५ जना र वारागुङ मुक्तिक्षेत्र-१ झारकोटमा १ जना पर्यटक रहेको एकयाप प्रमुख दाहालले जानकारी दिए ।
मुस्ताङको छेङ्गुरमा रसियाका २ जना ,अष्ट्रेलियाका २ जना ,युक्रेन १ जना पर्यटक छन् भने वारागुङ—१ झारकोटमा युएसएका १ जना पर्यटक बसेको दाहालले बताए । केरोनाले सिर्जित लकडाउन अघि अन्नपूर्ण पदयात्रा गर्दै मुस्ताङ आएका उनीहरु लामो समय देखि वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउपालिकाका होटलमा बस्दै आईरहेका थिए ।
मुस्ताङबाट स्वदेश फर्किने क्रममा प्रतिक्रिया दिँदै ईटालीका पर्यटक गोस्टाभ कोकले आफुहरु मुस्ताङ बसाई सुखद रहेको बताए । उनले प्राकृतिक सौन्दर्यता, होटलको बसाइ र स्थानीयको सामन्जस्यता अविस्मणीय भएको तर सरकारसंग आफुहरुको केही असन्तुष्टि रहेको दुखेसो पोखे । मुस्ताङ बसाइमा स्थानीयको दैनिकीसंग सहकार्य गरिएको र जसले समुदायसँग सम्बन्ध बढाएको बताए ।
यस्तै मुस्ताङको छेङ्गुरमा रहेका पर्यटकले भने दैनिक ३ पटक योगभ्यास गर्छन्। उनीहरु यसका अलावा फुर्सदिलो समयमा स्थानीयको खेतीपातीमा सघाउने गरेको एकयापका पर्यटक सहायक प्रेम बस्नेतले जानकारी दिए ।