कोरोनाबाट मृत्यु भएका कैलालीका पुरुषको अन्त्येष्टि, लम्की अस्पताल अनिश्चितकालका लागि बन्द
धनगढी : सेती प्रादेशिक अस्पतालमा उपचारत कोरोना संक्रमितको मृत्यु भएको छ । कैलाली गोदावरी नगरपालिकाका ४६ वर्षीय कोरोना संक्रमितको बुधबार राती मृत्यु भएको हो । सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदीशप्रसाद जोशीका अनुसार उनलाई चार दिनअघि सेती अस्पतालमा भर्ना गरिएको थियो । जेठ २८ गते स्वास्थ्यमा समस्या आएको ती पुरुषमा ३१ गते कोरोना पुष्टि भएको थियो ।
चिकित्सकले कडा खालको निमोनियासँगै कोरोना संक्रमणका कारण उनको मृत्यु भएको बताएका छन् । उनी बस मालिक हुन् । मृतक पुरुष आफै बस चलाउने गर्थे। मृतकले भारतबाट फर्केकालाई सीमानाबाट गन्तव्यमा पुर्याउने काम गर्दै आएका थिए । त्यही क्रममा उनी संक्रमित भएको हुनसक्ने चिकित्सकको अनुमान छ ।
भेन्टिलेटरमा राखेर उपचारका क्रममा उनको मृत्यु भएको डा. जोशीले बताए । स्वास्थ्यमा समस्या देखिएपछि जेठ २८ गते धनगढीको मायामेट्रो अस्पतालमा भर्ना गरिएको थियो । उनलाई स्वास्थ्यमा सुधार आएपछि एक दिन घर समेत बसेका थिए । फेरि स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै अर्को अस्पताल नवजीवनमा लिएको थियो । उनको स्वास्थ्य जटिल बन्दै गएपछि सेती प्रादेशिक अस्पतालमा रिफर गरिएको थियो ।
असार २ गते बाट उनको स्वास्थ्य अवस्था बिग्रदै गएको थियो । मृतक पुरुषलाई बिहीबार बिहान हवाई उद्धारका लागि समेत पहल भएको थियो । मृतकको शव कैलालीको मोहना नदी किनारमा मापदण्ड अनुसार व्यवस्थापन गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।
उनका अनुसार नेपाली सेनाले नै खटाएका ब्रहामणले हिन्दु संस्कार अनुसार मृत्युपछिको कर्मकाण्ड पूरा गरी आफन्तसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रोहबरमा शव व्यवस्थापन गरिएको हो । बुधबार नै कैलालीकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि भएको छ ।
कोहलपुर मेडिकल कलेजमा उपचारत कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर २ की ४३ वर्षीया महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो । टाउकोमा चोट लागेकी उनलाई ३१ गते नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलबार राती मृत्यु भएको थियो । उनको मृत्युपछि बुधबार मात्र कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले बताए । यो संगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको सङख्या ४ पुगेको छ । यसअघि कैलालीमा दुई महिला र बाजुराकी एक बालिकामा मृत्युपछि कोरोना पुष्टि भएको थियो ।
अस्पताल अनिश्चितकालका लागि बन्द
लम्कीचुहा नगरपालिकामा रहेको लम्की अस्पताल अनिश्चिकालका लागि बन्द गरिएको छ । उपचार गरी रेफर गरिएका बिरामीमा मृत्युपछि कोरोना पुष्टि भएसँगै लम्की अस्पतालले अनिश्चितकालका लागि सम्पूर्ण सेवा बन्द गरेको हो ।
अस्पतालले बिहीबार सूचना जारी अर्को सूचना नआउँदासम्मका सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ । लम्की अस्पतालमा उपचार गरी कोहलपुर रेफर गरिएकी बिरामीको मृत्यु भएको र उनको मृत्युपछि कोरोना पुष्टि भएकाले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा पनि जोखिम बढेको अस्पतालले जनाएको छ । ती महिलाको सम्पर्कमा रहेका अस्पतालका सम्पूर्ण स्वास्थ्यकर्मी एवम् कर्मचारीको परीक्षण रिपोर्ट नआएसम्म अस्पतालका सम्पूर्ण सेवा बन्द रहने सूचनामा उल्लेख छ ।