नेपालमा कोही भोको पर्दैन, कोही भोकले मर्दैन : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी ओलीले नेपालमा कोही भोको नपर्ने र कोही भोकले नमर्ने बताएका छन्। बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
‘यो जनताको सरकार हो। त्यसकारण कोही भोकै पर्दैन र कोही भोकले मर्देन’, प्रधानमन्त्री ओलीले भने, ‘खाना र आवासबिना नेपाली अलपत्र परेर त्यसरी बस्नु पर्दैन। यी दुई वर्षमा कम्तिमा हामीले यी प्रबन्ध गरेका छौँ।’
ओलीले २१ शताब्दीमा कसैका छोराछोरी कुकुरसँग सडकमा सुत्नुपर्ने अवस्थाको अन्त्य भएको प्रष्ट पारे। उनले यो सरकार सडक बालबालिकाको समेत भएको बताए। उनले आफूले प्रधानमन्त्री बने लगत्तै यो कुरा बताएको प्रष्ट पारे।
‘२१ औं सताब्दीका मान्छेका छोराछोरीहरु कुकुरसँगै सडकमा बेहालसँग व्यवहारिसे अभिभावकबिहीन भएर भोकै सुतेको लम्पसार परेको तपाईं हामीले देख्थ्यौँ। तर, आज ति बालबालिका देख्नु भएको छ ?’, प्रश्न गर्दै प्रधानमन्त्री ओलीले भने, ‘त्यस्ता बालबालिकाको पनि सरकार हो भनेर मैले प्रधानमन्त्री हुने बित्तिकै भनेको थिएँ। सँगै ओलीले नेपाल अब भिखारी मुक्त भएको बताए।
‘नेपाली समाजलाई भिखारीमुक्त बनाउने अभियान सफल भएको छ। नेपाल एउटा सडक बालबालिका नभएको देश हो। भिखारी मुक्त देश हो’, उनले भने, ‘नेपालमा बाच्नका लागि कसैले हात थापेर भिख माग्नु पर्दैन। कुनै महिलाले एउटा बच्चा बोकेर भिख माग्नु पर्दैन।’
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को उपचारविधि र प्रतिरोधी क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम रहेको ओलीको भनाइ छ।
ओलीले तथ्यांकमा २० जनाको मृत्यु भएको देखिए पनि अधिकांश कोरोनाका कारण नमरेको दाबी गरे। उनले डब्ल्यूएचओको मान्यताका कारण मृत्युपछि संक्रमण पुष्टि भएकालाई कोरोनाकै कारण मृत्यु भएको भन्नु परेको बताए। प्रधानमन्त्री ओलीले मृत्यु संख्या अन्य देशको भन्दा नेपालको कम भएको समेत दाबी गरे।