महानगरको नीति तथा कार्यक्रम सार्वजनिक
काठमाडौं : काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, व्यवसायीलाई सहुलियत प्रदान, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन, आवागमन व्यवस्थापनलगायतमा विशेष केन्द्रित रहेको छ ।
काठमाडौं महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा कोभिड–१९ प्रतिकार्य योजना तयार गरी काठमाडौं महानगरपालिकामा लागु हुने उल्लेख गरिएको छ । उक्त कार्यक्रम उपत्यकाका अन्य नगरपालिकासँगको सहकार्यमा उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गरिने उल्लेख गरेको छ ।
कार्यक्रममा कोभिड–१९ का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी महानगरभित्र संचालित होटेल, रेष्टूराँ, सपिङमलहरु, डे-नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायलाई विशेष सहुलियत प्रदान गर्ने नीति कार्यक्रम सार्वजनिक गर्ने क्रममा मेयर शाक्यले बताए । ‘स्थानीय समुदाय, निजी क्षेत्र, सुरक्षा निकाय, यातायात व्यवसायीसँग सहकार्य गरी आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान दिने निश्चित क्षेत्र रातको समयमा सञ्चालन गर्नका लागि आवश्यक नीतिगत तथा पूर्वाधारको व्यवस्था मिलाइनेछ’, नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रमुख शाक्यले भने, ‘उद्योगी, व्यवसायी तथा स्थानीय समुदायसँगको सहकार्यमा विभिन्न अवसरमा स्वदेशी उत्पादनको व्यापार प्रवर्द्धन मेला आयोजना गरिनेछ ।’
कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई उचित छुट सहुलियत दिने जस्ता नीति पनि महानगरपालिकाले लिएको मेयर शाक्यले बताए । यसबाहेक सुविधा सम्पन्न कम्तिमा ५० सैयाको अस्पताल निर्माण गर्ने, महानगरभित्रका सडकका फुटपाथ व्यवस्थित गर्ने उपत्यका एकीकृत विकास कार्यक्रममा जोड दिने, खुला क्षेत्रको संरक्षण गर्ने, महानगरपालिकाको आफ्नै भवन निर्माण गर्ने लगायतका योजना नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।