‘डान्स इज माई लाइफ’
मोडल फरिता खड्काले फेसबुकको इन्ट्रो नै लेखेकी छन्, ‘डान्स इज माई लाइफ।’ हुन पनि उनलाई नाचिरहन मनपर्छ। कसैले मन दुखायो भने पनि ठुस्किएर बस्दिनन्। कोठामा गएर चर्को म्युजिकमा धीत मरुन्जेल नाच्छिन्। सानैदेखि सक्रिय केटी हुन् उनी। कहिले भाइबहिनी भेला पारेर नाच्न सिकाउने, कहिले क्लबमा आबद्ध भएर सांस्कृतिक कार्यक्रम आयोजना गर्दैे हिँड्ने। मन लागेको गरिहाल्नुपर्ने। कलाकारिता खुब मनपथ्र्यो उनलाई। तर पनि कलाकार नै बन्छु भन्ने कुनै योजना चाहिँ थिएन।
उदयपुर रामपुरकी रैथाने फरिता कलाकारितामा संघर्ष गर्दै छिन्। ‘जिउको लुगा छोटो भो कि’ बोलको गीतमा आइटम नृत्य गरेर उनी नेपाली सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन्। पद्मकन्या कलेजमा नृत्य विधामै ब्याचलर्स गर्दै गरेकी फरिता लकडाउनभर परिवारसँगै घरमै छिन्। रामपुरकै राजन राईसँग औपचारिक नृत्य सिकेकी उनी सगरमाथा डान्स सेन्टर उदयपुरमा दुई वर्षसम्म नृत्य शिक्षक भएर काम गरिन्।
सांगीतिक क्षेत्रमै उज्ज्वल भविष्यको सपना देख्ने खड्कार्याम्प, क्वाटवाक, फेसन सोमा पनि सक्रिय छिन्। गाउँमै एसएलसी सकेपछि प्लस टु पढ्न उनी उदयपुरबाट विराटनगर झरिन्। कोसी जनता माविमा प्लस टु पढ्दै विराटनगरमै उनले फेसन सोको यात्रा सुरु गरिन्। यसले उनलाई आत्मविश्वास जगायो। केही गर्न सक्ने रहेछु भन्ने चिनायो। क्वाटवाक आफ्ना लागि गर्दै थिइन् तर ठूलो मासमा उनले देखाउनुपर्ने थियो। कसरी आफूलाई समूहमा प्रस्तुत गर्ने, व्यक्तित्व विकास कसरी गर्ने भन्ने विषयमा पनि उनलाई आफ्नो मेहनतले सिकायो।
केटाहरूलाई बेस्ट साथी बनाउन मन पराउने फरिताले जीवनसाथीका बारेमा भने सोचिसकेकी छैनन्।
यसैक्रममा उनले सागर लामाले बनाएको आइटम गीतमा नाच्ने अवसर पाइन्। जिउको लुगा छोटो भो कि बोलको गीतमा उनको धमाकेदार नृत्यले निर्माता निर्देशक मात्रै होइन दर्शकलाई पनि छोयो। उनी पहिलो गीतबाटै नोटिसमा पर्न थालिन्। यसपछि उनले लगातार काम गरिरहेकी छन्।
विराटनगरमा पनि उनले नृत्य सिकाइरहेकी थिइन्। ब्याचलर्स पढ्न गत वर्ष काठमाडांै पसिन्। पढाइलाई पनि सँगैसँगै अगाडि लगिरहेकी उनी काम, पढाइ र करिअरलाई साथै लैजाने योजनामा छिन्। लकडाउन अगाडिसम्म विभिन्न स्कुलमा नृत्य शिक्षकका रूपमा सयौं विद्यार्थीलाई नाच्न सिकाइरहेकी फरिता अहिले भने घरपरिवारमै रमाइलो गरिरहेकी छन्।
उनको परिवार खेतीपातीमा संलग्न छन्। उनलाई पनि खेतबारीमा कृषिकर्म गर्न मन पर्छ। गाउँमा कहिले धानको बीउ रोप्दै गरेकी भेटिन्छिन् त कहिले मकै गोड्दै गरेकी। जीवनसँगै व्यावहारिक शिक्षा पनि सिक्दैछिन्। उनको परिवारले पनि उनको कामलाई खुब सहयोग गर्छन्।
परिवारकी कान्छी छोरी फरिता माया ममतामै हुर्किएकी हुन्। मन परेको काम गरिहाल्ने स्वभाव छ। केही न केही काममा व्यस्त भइरहने। टीभी हेरेरै नाच्न सिकेकी हुन्। धेरै कुरा सिक्न बाँकी रहेको बताउँछिन् उनी। टीभीमा जस्तो नाचेको देख्यो त्यस्तै नाच्न मन पथ्र्यो उनलाई। नृत्यका रियालिटी सो पनि खुब हेर्थिन्। साथीसर्कल धेरै बनाउन मनपर्छ उनलाई। दुःखसुख बाँड्न पनि साथीहरूको महत्व हुन्छ।
हरेक मान्छे हरेक दिन अभिनय सिकिरहेकै हुन्छ भन्ने फरिताले मानिसको जीवनलाई अभिनयको सँगालोका रूपमा बुझेकी छन्। विशेषत कल्चरल नृत्यमा रमाउने उनी बेली, हिपअप, कन्टेमपरी नाचमा पनि उत्तिकै निपुर्ण छिन्। नाच्दा होस् या अभिनय गर्दा निकै रमाइलो मान्ने उनलाई कतै केही कमी हुन्छ कि भन्ने डर पनि लाग्छ। भन्छिन्, ‘दर्शकले खोजेको पाउनु भएन कि ? कतै केही कमजोरी त छैन भनेर काममा खुब सिरियस हुन्छु।’ कामको जिम्मा लिएपछि निकै पटक मेहनत गरिरहने बानी छ उनको।
केटाहरूलाई बेस्ट साथी बनाउन मन पराउने फरिताले जीवन साथीका बारेमा भने सोचिसकेकी छैनन्। भन्छिन्, ‘साथीहरू जीवन जिउने आशा हुन्। सुखदुःखका भरोसा पनि। केटा होस् कि केटी धेरै साथी बनाउन चाहन्छु म।’