डायनाको भूमिकामा क्रिस्टेन
हलिउड : फिल्म ‘ट्वाइलाइट’ की अभिनेत्री क्रिस्टेन स्टेवार्ट राजकुमारी डायनाको भूमिकामा देखिने भएकी छन् । राजकुमारी डायना र राजकुमार चाल्र्सको सम्बन्धविच्छेदबारे फिल्म ‘स्पेन्सर’ बन्न लागेको छ।
सन् १९९० दशकको घटनाक्रममाथि बन्ने फिल्मका लागि स्टेभेन नाइटले कथा लेख्दैछन् । कथाअनुसार सान्डिन्घ्रमको सेटिङ रहने फिल्ममा डायनाले आफ्नो वैवाहिक जीवन सुखद नरहेको महसुस गर्छिन् । यसका निर्देशक पाब्लो लार्रेन भन्छन्, ‘हामीले एक महिलाको पहिचान र उसले आफ्ना लागि गर्ने निर्णयको कथा फिल्ममा देखाउन चाहेका हौं । त्यो निर्णय जसले उनलाई रानी हुनबाट बञ्चित गर्यो ।’
निर्देशक पाब्लोले नायिका स्टेवार्ट राजकुमारी डायनाको भूमिकाको लागि उत्कृष्ट रहने बताएका छन् । डायना राजकुमार चाल्र्ससँग सन् १९८१ मा वैवाहिक बन्धनमा बाँधिएकी थिइन् । तर सम्बन्धमा दरार पैदा भएपछि ती दम्पती सन् १९९२ देखि अलग्गिए । त्यसको चार वर्षपछि सन् १९९६ मा उनीहरूको कानुनी रूपमा सम्बन्धविच्छेद भएको थियो ।