बालबालिकालाई अभिभावकको माया र संसर्ग
केही दिनअघि धनकुटामा ५० वर्ष नाघेका प्रतिष्ठित चारजना व्यक्तिले १३ वर्षीया दलित बालिकालाई लामो समयदेखि यौन शोषण गर्दै आएको रहस्य गर्भवती भएपछि खुल्यो। धादिङमा पनि आफ्नै बुवाबाट बलात्कृत १७ वर्षीया छोरीले बच्चा जन्माइन्। त्यसैगरी वैशाखमा बुटवल तिलोत्तमा नगरपालिका-१० शान्तिनगर गाउँकी आठ वर्षीया बालिकालाई १४ वर्षीय छिमेकीले फकाएर घरमै लगी खुट्टा बाँधेर बलात्कार गरेछन्। कोदालोको बिँडले यौनांगमा घोचेर थप पीडासमेत दिएछन्। रूपन्देही देवदहकी १३ वर्षीया दलित बालिका अंगिरा पासी पनि बलात्कार भइन्। बलात्कारीसँगै बिहे गराइएपछि उनलाई केही समयपछि रूखमा झुन्ड्याइएको अवस्थामा भेटियो। यी त केही प्रतिनिधि घटना मात्र हुन्। लकडाउनका बीच पनि कयौं बालिका हिंसाको सिकार हुँदै आएका छन्।
चैतमा सम्पन्न कक्षा ८ को आधारभूत परीक्षा दिन आएकी एकजना छात्राले भनिन्-रातभरि आमाबुवाको झगडा परिरह्यो। एकजना नातेदार अंकल आएर सम्झाएपछि साम्य भयो। म त रातभरि रोएरै बसें। केही पनि पढ्न पाइनँ। पढेको पनि बिर्सें।’ त्यस्तै अर्को घटना छ। दुईजना कलिला सन्तान र पति छाडेर आमा अन्यत्रै गइछन्। सानो हुँदा आमा मेलापात, पधेंरा, खेतबारी, बिहेभोज जानुहुन्थ्यो। म पनि आमासँगै जाने गर्थें। कामविशेषले कहिलेकाहीं आमा केही दिनका लागि मामाघर जानुहुन्थ्यो। आमाको याद आउँथ्यो। हामी रुन्थ्यौं पनि। त्यस्तै घटना दोहोरियो जब मैले छोरी पाएँ। नौ वर्ष हुँदासम्म छोरीले मलाई पछ्याइरही। यी घटनाले के देखाउँछन् भने बालबालिकालाई आफ्ना आमाबुवाको साथ र मायाको पूर्णतः खाँचो हुन्छ।
कतिपय आमाबुवा सन्तानका निमित्त समय दिन सक्दैनन्। कतिपय घरमा काम गर्नेले हेरविचार गर्छन् भने कतिपयले रुवाउँदै छात्रावास वा चाइल्ड केयरमा राखिदिन्छन्। घरमा पति, पत्नीबीच सामान्य झगडा हुँदा पनि उनीहरू डराउँछन्। आमाबुवाबीच कहिल्यै झगडा नहोस्, उनीहरू सधैं मिलेर बसून् भन्ने उनीहरू चाहन्छन्। पति विदेश हुँदा पत्नीले आफ्ना सन्तान छाडेर अर्कैसँग हिँडेका पनि छन्। पति सँगै हुँदा पनि पत्नीहरू दुईतीनवटा सन्तान छाडेरै अर्कोसँग भाग्ने गरेका छन्। आमाले छाडेर गएपछि तिनका सन्तान आमाको यादमा तड्पिरहन्छन्। तर आमाहरू यी कुरा बुझेर पनि बेवास्ता गर्छन्। आमाले छाडेकी १३ वर्षीया बालिकालाई सोधेकी थिएँ। उनले आँसु खसाल्दै भनिन्, ‘आउँछ नि। धेरै आउँछ।’
यतिखेर लकडाउनमा सपरिवारले एकै ठाउँमा बस्न पाएका छन्। सन्तानले अभिभावकको माया पाएका छन्। सन्तानलाई माया गर्नुपर्ने रहेछ भन्ने कुरा अभिभावकले पनि महसुस गरेका छन्।
केही समय, घन्टा वा दिन आमाबाट छुट्टिँदा त केटाकेटी रुन्छन्, नरमाइलो मान्छन् भने सानै उमेरमा सधैंका लागि आमा वा बुवाबाट छुट्टिनुपर्दा उनीहरूका मनमा कस्तो असर पर्ला ? प्रत्येक बालबालिकाले सानो हुँदा आमाबुवाबाट के खोजेका हुन्छन्, त्यो दिन अभिभावक कहिल्यै चुक्नु हुँदैन। आफ्ना सन्तानलाई पीडामा छोडेर अलप भइदिनु कुनै पनि आमाबुवाको कर्तव्य होइन। अर्कासँग बिहे गरेर बस्दा नयाँ ठाउँमा, नयाँ समाजमा आफ्नो नाम जन्म, कर्म सबै गोप्य राख्नुपर्ने हुन्छ। जसले रातदिन पीडा दिइरहन्छ। खिल बनेर बसिरहन्छ।
जुन मान्छेसँग भागेर गएको हो, उसले राम्रो गर्ला, उससँग सधैं राम्रो होला भनेर कसरी भन्न सकिन्छ ? भागेर आउनेलाई घरका अरू सदस्यले पनि राम्रो भन्दैनन्। फेरि सन्तान जन्माउनुपर्छ वा आमा बन्न पाउने हकबाट वञ्चित हुनुपर्छ। भगाउने पुरुषभन्दा पनि भागेर जाने महिलाले बढी कष्ट झेल्नुपर्छ। यस्ता महिलाले अलपत्र जीवन भोग्नुपरेको छ। महिला वा पुरुष जोसुकैले घरपरिवार, छोराछोरी छाडेर अर्को बिहे गर्दा दुइटै परिवारका लागि बेफाइदा गर्छ। परिवारमा झैंझगडा पर्छ, अशान्ति छाउँछ, केटाकेटीमा डिप्रेसन आउन सक्छ। कुलतमा फस्न सक्छन्। आफन्तबाटै बेचिन सक्छन्। हराउँछन्। बुवाले सन्तानप्रति ध्यान दिन नसक्दा सन्तान बरालिन पुग्छन्। यसले बालबालिकाको भविष्य बिग्रन्छ।
आफ्नी पत्नी नराम्री र अर्काकी पत्नी राम्री पनि हुँदैनन्। अर्काका पति राम्रा, बुझ्ने र आफ्ना अबुझ, नराम्रा पनि कदापि हुँदैनन्। सबै हाड, छाला, मासुले बनेका हुन्। शारीरिक बनोट र सौन्दर्य मात्रै फरक हुन्छ। त्यसको प्रभावमा पर्नु ठीक होइन। अर्को कुरा, कानुनले बहुबिहे गर्न बन्देज लगाएको छ। तर भागेर दोस्रो विवाह गर्नेहरू भने तमाम भेटिन्छन्। नहुर्केका सन्तान छाडेर न त एउटी महिलाले आफूजस्तै अर्की महिलामाथि संकट खडा गर्नुपर्छ न त पुरुषले नै अर्काकी विवाहित वा अविवाहित छोरी ल्याएर आफ्नै पत्नीमाथि सौता हाल्नुपर्छ। सँगै भएका भाँडा ठोक्किँदा त आवाज आउँछ भने पतिपत्नीबीच झगडा हुनु सामान्य हो। अर्काको गल्ती खोजेर बस्नुभन्दा पनि गल्ती जसको हो नहिच्किचाई माफी माग्दा कुनै पहाड खस्दैन। बरु मनमा शान्ति छाउँछ। सानातिना कुरामा बहस नगरीकन सकेसम्म मिलेर बसेमा सबैको भलो हुन्छ। ठूलै निर्णय लिनुभन्दा पहिला यसबाट हुनसक्ने हानिको पनि ख्याल गरौं।
पछिल्लो समय बहुविवाह गर्नेको संख्या घटेको छ तर पनि १५ देखि ४९ वर्षका विवाहित महिलामध्ये करिब चार प्रतिशतले आफ्ना पतिले दोस्री पत्नी राखेको स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणमा उल्लेख छ। बहुविवाह गर्नेमध्ये अधिकांश पुरुष रहेको बताइन्छ। नयाँ कानुनअनुसार पत्नी हुँदाहुँदै दोस्रो विवाह गरेमा स्वतः बदर हुने प्रावधान छ। यस्तै महिला वा पुरुष जुनसुकैले पनि बहुविवाह गरेको ठहर भएमा एकदेखि तीन वर्षसम्मको जेल सजाय र पाँचदेखि पचास हजारसम्मको जरिमाना हुन सक्ने उल्लेख छ। साथै सरकारी जागिरका लागि अयोग्य हुने स्पष्ट उल्लेख छ।
सम्बन्ध–विच्छेदपछि वा भागेर बिहे गरे पनि एक्लै बस्नुपरेको वा वैवाहिक जीवन सुखद नभएका घटना पनि छन्। सम्बन्ध–विच्छेदपछि पनि गल्ती भएछ भन्दै सँगै बस्ने गरेको पाइएको छ। यतिखेर लकडाउनमा सपरिवारले एकै ठाउँमा बस्न पाएका छन्। सन्तानले अभिभावकको माया पाएका छन्। सन्तानलाई माया गर्नुपर्ने रहेछ भन्ने कुरा अभिभावकले पनि महसुस गरेका छन्। लकडाउनले व्यावहारिक अवस्था खल्बलिए पनि सन्तानप्रतिको भावनात्मक सम्बन्ध भने जोडेको छ। यसलाई भोलिका दिनमा पनि अभिभावकले अझ गाढा बनाएर राख्न सक्नुपर्छ। सन्तानसँग जति नजिक आमा हुन्छिन् त्यति नजिक अरु हुँदैनन् भन्ने कुरा अभिभावकले मनन गरौं।