थप १८ जनामा कोरोना संक्रमण, सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय ३५ पुग्यो
धनगढी : सुदूरपश्चिम प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । धनगढीस्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा प्रदेशमा शुक्रबार थप १२ जनामा कोरोना पुष्टि भएको हो भने काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा डडेल्धुराका ६ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेशका कैलाली, कञ्चनपुर, डडेल्धु्रा र डोटी जिल्ला गरी थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । डोटीका ४, कैलालीका ७, डडेल्धुराका ६ र कञ्चनपुरका १ जनामा कोरोना संक्रमण भएको हो ।
प्रदेशको डोटीको बडीकेदार गाउँपालिका १८, २०, २२ र २९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । यसैगरी कैलालीको गोदावरी नगरपालिका ४१ वर्षीया महिला र १६, २१, ५८ वर्षीय पुरुषमा कोरोना देखिएको सेती प्रादेशिक अस्पतालले जानकारी दिएको छ ।
यस्तै कैलालीको जानकी गाउँपालिका १९ वर्षीय पुरुष र बर्दगोरिया गाउँपालिकाका २० र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ । कञ्चनपुर पुर्नवास नगरपालिका ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
शुक्रबार नै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा डडेल्धुरामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । परशुराम नगरपालिकाका पाँच जना र गन्यापधुरा गाउँपालिकाका एकजना गरी ६ जनामा कोरोना संक्रमण देखिएको डडेल्धुराका कोभिड-१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार शुक्रबार थपिएका सबै पुरुष हुन् ।
यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय ३५ पुगेको छ । प्रदेशमा सबै भन्दा बढी कैलालीका एक सय ५६ जना, कञ्चनपुरमा ९९, डडेल्धुरामा एक सय २८, डोटीका ४३, बैतडीमा ५२, अछामका ६७, बाजुराका ६२, बझाङमा १६ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ ।