बच्चाको रूपमा श्रीमानको प्रतीक्षा
मुम्बई : हालै दिवंगत कन्नड चर्चित नायक चिरञ्जीवी सरजाकी धर्मपत्नी नायिका मेघना राजले आफ्ना पतिका लागि निकै भावुक पोस्ट लेखेकी छन्। मेघनाले पतिलाई चिरु सम्बोधन गर्दै पोस्ट गरेकी छन्, ‘...तपाईं मेरो लागि को र के हो भनेर अथ्र्याउन संसारभरिका शब्द असमर्थ छन्। मेरो साथी, मेरो प्रेमी, मेरो बच्चा, मेरो विश्वासपात्र, मेरो श्रीमान्। र यी सबैभन्दा माथि तपाईं मेरो आत्माको एउटा हिस्सा हुनुहुन्छ, चिरु।’
उनले अगाडि लेखेकी छन्, ‘तपाईंलाई यो घरमा म अब कहिल्यै देख्न पाउँदिनँ र कहिल्यै छुन पाउँदिनँ भनेर जब सोच्छु तब अत्यन्त पीडा महसुस हुन्छ। यो सोच मेरा लागि हजारौं मृत्यु सरह हो। जब म कमजोर महसुस गर्छु नि, तपाईं मेरा लागि एक ‘प्रोटेक्टिभ एन्जल’ का रूपमा सधैं मलाई साथ दिन आइपुग्नु हुन्छ।’
उनले आफ्नो गर्भमा हुर्किरहेको बच्चाबारे पनि उल्लेख गरेकी छन्, ‘हाम्रो सानो प्रेम मेरो लागि एक अनमोल उपहार हो। हाम्रो प्रेमको प्रतीक र यो सुन्दर चमत्कारका लागि तपाईंप्रति सदा आभारी छु। म तपाईंलाई हाम्रो बच्चाको रूपमा धर्तीमा फिर्ता ल्याउने प्रतीक्षा गरिरहेकी छु। तपाईंको मुस्कानलाई पुन: हेर्न आतुर छु। तपाईंको त्यो हाँसो सुन्न प्रतीक्षारत छु जसले पूरा कोठा उज्यालिन्थ्यो। जबसम्म म सास फेर्छु, तपाईं जीवित रहनु हुनेछ। तपाईं मभित्र अमर हुनुहुन्छ। आई लभ यु।’
चिरञ्जीवी र नायिका मेघना सन् २०१८ मा विवाहबन्धनमा बाँधिएका थिए। ३९ वर्षको अल्पायुमै चिरञ्जीवीको ७ जुनमा निधन भएको थियो। एजेन्सी