मैले थामेको छु
कहिलेकाहीँ त,
यो सारा संसार
बिहान सूर्य,
मेरै इसारामा उदाउँछ
म दिनभरि
उज्यालो दिन
अह्राउँछु उसलाई
दिनभरिको कामले थाकेपछि
मलिन अनुहार पार्छ सूर्यले
सोध्छ, के गरुँ?
आराम गर्न भन्छु
र बिलाउँछ अँध्यारोमा।
हैन, यो अँध्यारोमा,
बस्न सम्भव होला र ?
चन्द्रमाले सोध्छ
ताराहरू सोध्छन्
सकेजति प्रकाश दिन
अह्राउँछु सबैलाई
सबैले सम्हाल्छन्
आफ्नो आफ्नो जिम्मेवारी।
अर्थात्,
मलाई ढुक्क छ
सबैले आदेश पालना गरेपछि
के होला, कसो होला
सोच्नै पर्दैन
र निदाउँछु मजाले म पनि।
सूर्य र चन्द्रमाले
आदेश मानेकै छन्
नदी, पवन,वृक्षले
आदेश मानेकै छन्
अझ ढुंगालाई त
नहल्लिएर
स्थिर बस्न भन्छु
बस्छ टसमस नभएर
त्यसैले मलाई लाग्छ
यो सारा संसार मैले नै धानेको छु।
तर,
अचेल म आफैँले
आफैँलाई प्रश्न सोध्छु
साँच्चै सबैले मेरो आदेश
मानेका हुन् त ?
सूर्य, चन्द्र, आकाश, धर्ती
सबै मेरै आदेशले चल्छन् त ?
निरुत्तरित छु म।
एउटा मान्छेलाई,
मात्र एउटा फिस्टे मान्छेलाई
घरमै बस भन्छु
फुत्त बाहिर निस्किन्छ
एक्लै बस भन्छु
जुलुस निकाल्छ
दायाँ नजानू खतरा छ भन्छु
त्यतै पुग्छ
बायाँ नजानू भिर छ भन्छु
त्यतै दगुर्छ
त्यति जाबोलाई पनि
तह लगाउन नसक्ने
मैले कसरी संसार धाने हँ ?
सोच्छु,
एकजनासँग त मैले
सकिनँ
एकै पटक सयौँ आए
के गरूँला ?
हजारौँ आए
के गरूँला ?
लाखौँ आए भने त
मै डाइनोसर हुन बेर छैन।
अनि,
म नभए संसार चल्दैन
भन्ने भ्रम पालेर
कति दिन पो सकिएला र
यी मान्छेहरूलाई
तह लगाउन
आफैँ मान्छेहरू
निर्जीव र विवेकशून्य भएसम्म।